Tuesday, September 27, 2022

यति सम्मको भ्रम : जब अस्पतालले जिउँदो मान्छेलाई मृत भन्यो !


YOU MAY LIKE
MGID

७ जेठ, काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षक रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा जेठ १ गते भर्ना भए । उनलाई अहिलेसम्म भेन्टिलेटरमा राखिएको छ । ज्वरो आएर अस्पताल भर्ना गरिएका उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।

कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि दुई दिनयता चिकित्सकहरु उनको छेऊ पर्न छाडेका थिए । उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेको थियो ।

अस्पतालबाट प्राप्त सोही सूचनाका आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई दिए । साथै उनले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अस्पताललाई सुझाए ।

कोरोना संक्रमितको मृत्यु भएको खबर बुधबार बिहानै गुल्मीस्थित आफन्तजनसम्म पुग्यो । गुल्मीका पत्रकार टोपराज शर्माले अस्पतालका सञ्चालक दूर्गा पाण्डेलाई सम्र्पक गरेर सोध्दा उनले संक्रमितको मृत्यु भएको ‘पुष्टि’ गरेका थिए ।

भेन्टिलेटरमा दुई दिनदेखि अलपत्र बिरामीको ‘शव व्यवस्थापन’ तिर लागिसकेको क्रिमसन अस्पताल प्रशासनले अन्ततः बुधबार दिउँसो एकाएक बिरामी जीवितै रहेको विज्ञप्ति जारी गर्‍यो ।

स्रोतका अनुसार जीवित व्यक्तिबारे झूठो विवरण दिएको भन्दै सामाजिक विकास मन्त्रीले अस्पतालमा फोन गरेर तुरुन्त विज्ञप्ति जारी गर्न भनेका थिए । प्रदेश सरकारलाई झूठो विवरण दिने अस्पताल प्रशासनमाथि मन्त्रालयले थप छानविन गर्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

सामाजिक विकास मन्त्रालयका एक अधिकारीले भने, ‘पोजेटिभ रिपोर्ट आएपछि सोमबारदेखि भेन्टिलेटरमा चिकित्सकले हेरेकै रहेछन् । हेर्दै नहेरी मृत्यु भयो भनेर परिवारलाई समेत खबर गरेछन् । आज हेर्न जाँदा पो बिरामी जीवितै रहेको पाइएछ ।’

कोरोना संक्रमण पुष्टि भएपछि उपचार र हेरचाह नपाएका ती बिरामीको स्थिति गम्भीर रहेको अस्पताल प्रशासनले स्वीकार गरेको छ ।

यो पनि पढनुहोस्