Tuesday, August 9, 2022

कोही त आउँला नि मेरो जिवनमा ?


YOU MAY LIKE
MGID

‘बेवारिसे बनेर नहिँड, घरबार गर।’ त्यो दिन अफिस पुगेर कम्प्युटरमा जिमेल खोल्दा आएको यस्तो इमेल देखेर म अचम्ममा परें। असार पहिलो साता जाँदाजाँदै तीनतिरको जमिन सकिने दक्षिण भारतको कन्याकुमारी पुगेको थिएँ। फर्केर काठमाडौं आएपछि सेतोपाटीमा घुमफिर अनुभव लेखें। कति जनाले मेरो अनुभव खुब मन पराउनुभयो, केही आफन्त र साथीभाइले ‘बेकारमा पागलजस्तै भौंतारिएर आइछ्स’ भन्नुभयो।

‘कस्तो रमाइलो गरेछौ’ भन्ने कमेन्ट सुन्दा म दंग पर्थें। ‘यस्तरी पनि कोही घुम्छ, म भएको भए पहिला नै सबै तयारी गरेर आनन्दले घुम्थें’ भन्नेहरूका कुरा सुनेर खिस्रिक्क पर्थें। कसैले अलिकति राम्रो भनिदिए फुरुङ्ङ हुने, कसैले छिसिक्क नराम्रो भनेको सुन्दा खङ्ग्रङ्ङ पर्ने मान्छेको मन पनि विचित्रकै छ!

त्यो इमेल देखेर भने मेरो मन यति खुसी भयो कि चंगा बनेर उड्लाझैं गर्‍यो। हो, त्यो आभा लिम्बूको इमेल थियो। जसको इमेलको प्रतीक्षा मैले एक-दुई दिन होइन, एक-दुई महिना पनि होइन, सात वर्षसम्म गरेको थिएँ।

इमेलको सब्जेक्टमा उसले लेखेकी थिई- बेवारिसे बनेर नहिँड, घरबार गर। यो उसको आदेश थियो कि आग्रह। मैले खुट्याउन सकिनँ। जे भए पनि मलाई स्वीकार्य थियो किनकी यतिका वर्षपछि उसले मलाई इमेल पठाएकी थिई। मेरा लागि त्यही काफी थियो।

अफिसमा उसको इमेल खोल्न लाग्दा मेरा औंला थर्थराए। साथीभाइको हुलमुलमा, समाचारको हतारोमा उसले यतिका वर्षपछि लेखेका शब्द अफिसमा पढ्न मनले मान्दै मानेन। साँझ ड्युटी आवर सकिनुभन्दा आधा घन्टाअघि नै म अफिसबाट निस्किएँ।

त्यो दिन झम्सिखेलदेखि कीर्तिपुरसम्म देखेका सबै चिज मलाई खुब राम्रा लागे। चन्द्रागिरिको डाँडोमा अस्ताउन लागेको सूर्य, त्यही सूर्यका किरणले रङ फेर्दै गरेको सेतो मनसुनी बादल। सुस्तरी चलेको चिसो-चिसो हावा। बल्खुमा कीर्तिपुरको माइक्रो चढ्न ठेलमठेल गरिरहेका मान्छे। कुमारी क्लब नपुग्दै सडक छेउमा ‘दसहरी, माल्दह आँप किलोको सय’ भन्दै कराइरहेका साइकलवाला। ती सबै मलाई आफूजस्तै खुसी लागे। मान्छे आफू जस्तो छ, दुनियाँ पनि उस्तै देख्दो रहेछ!

ल्याबरेटोरी स्कुलछेउ हुँदै आयुर्वेदिक अस्पतालतिर उकालोमा मोटरसाइकलको एक्सिलेटर बटार्दा सात वर्षअघि यही बाटोमा आभा लिम्बूलाई पछाडि राखेर उसको स्कुटर कुदाएको याद आयो। २०७२ को दसैंका बेला सुर्खेत जाने बसमा उसको र मेरो पहिलो भेट भएको थियो। उसले मलाई झ्यालतिरको सिटबाट नउठाएकी भए सायद हामी बोल्ने पनि थिएनौं।

थेप्चो नाक, चिम्सा आँखा भएकी, कानमा ठूला इअर रिङ, आँखामा कालो गगल्स लगाएकी, लामो लेन्स भएको क्यामेरा घाँटीमा झुण्डाएर चुइगम चपाउँदै बस चढेकी उसले मलाई भनेकी थिई- एक्सक्युज मी, झ्यालतिरको सिट मेरो हो।

त्यतिन्जेलसम्म मैले ऊजस्ता केटीमान्छे भेटेकै थिइनँ। सुरूमै मलाई यो केटी बेपरवाह र मनमौजी छजस्तो लागेको थियो। नभन्दै ऊ त्यस्तै निस्की। सुरूमै उसले मलाई तिमी भनेर सम्बोधन गरेकी थिई। कुनै पनि केटीमान्छेले पहिलो भेटमै तिमी नभनेको मलाई उसको तिमीले औडाहा भएको थियो।

उसलाई भने यस्ता कुराको कुनै परवाह थिएन। ‘मलाई बसमा साह्रै निद्रा लाग्छ। राति तिमीलाई डिस्ट्रब गरें भने अहिले नै सरी ल’ भनेर निदाएकी ऊ बस कोहलपुर पुगुन्जेलसम्म मेरै काखमा पल्टिएदिएकी थिई। दसैंमा सुर्खेत घुम्ने योजनाले हिँडेकी ऊ छिन्चुमा चिया खाने बेलासम्म आफ्ना सबै योजना छोडेर मेरो गाउँ जान तयार भइसकेकी थिई।

घरमा पुगेर उसले अर्को नाटक गरी। आमाले ‘नानी को हुन्’ भनेर सोध्दा मैले ‘साथी’ भनें। आमाले मैले भनेको पत्याउनु भएन, बुहारी भनिदिनु भयो। म सम्झाउन खोज्दै थिएँ। उसले चोर औंलो मुखमा लिएर चुप लाग्न संकेत गरी। त्यो रात गाउँभरिका महिलाले हाम्रो घरमा रत्यौली खेले। आफैंले निम्त्याएको दु:ख देखेर म हैरान भएको थिएँ।

दसैं मनाएर हामी सँगै काठमाडौं फर्कियौं। त्यसपछि पो मैले थाहा पाएँ, एसएलसीसम्म सुर्खेतको एसओएस स्कुलमा पढेकी ऊ बाल्यकालको सम्झना मेटाउन दसैंमा सुर्खेत जाने रैछ।

ऊ र म दुई ध्रुवका मान्छे थियौं। म कन्जरभेटिभ स्वभावको, ऊ मनमौजी। म पुस्तौंदेखि चलिएका संस्कार, संस्कृति, चालचलन मान्नुपर्ने पक्षमा थिएँ। उसलाई स्वतन्त्रता प्यारो थियो। तैपनि हामीलाई एउटा मसिनो डोरीले बाँधेको थियो। नियति भन्छन् नि मान्छेहरू सायद त्यही होला!

ऊ भन्थी- तिमी महिलाबारे धेरै नै कन्जरभेटिभ छौ। बिस्तारै दुनियाँ देख्यौ भने एकदिन पक्कै बदलिन्छौं। मैले त्यस्तो कुनै छाँटकाँट देखाएको थिइनँ। बिस्तारै-बिस्तारै मेरो मनमा माया भने टुसाउन थालेको थियो। मुख खोलेर भन्न पो भएको थिएन।

पछि उसले अमेरिका पढ्न छात्रवृत्ति पाई। त्यहीबेला मलाई पनि एउटा ट्रेनिङका लागि अमेरिका जाने मौका मिल्यो। हामी सँगै अमेरिका गयौं। सात वर्षसम्म ऊ अमेरिकाबाट आइन।

आभा लिम्बूबारे विस्तृतमा पढ्न सात वर्षअघि मैले लेखेका पहिलो श्रृंखलाका सबै कथाहरू एकै ठाउँमा यहाँ पढ्नुस्।
कोठामा पुगेर कपडा पनि नखोली मैले ल्यापटप खोलें। अझै बोल्ड अक्षरमा बसिरहेको आभा लिम्बूको इमेलमा क्लिक गरें।‘हेलो मिस्टर पत्रकार, के छ तिम्रो खबर भनेर सोध्नै परेन। बेवारिसे बनेर हिँडिरहेका रहेछौ। कन्याकुमारी पुगेको तिम्रो घुमफिर अनुभव पढें। राम्रै लेखेका छौ। तर के-के न उत्पात गरें भन्ने नठान्नू। भौंतारिएर जिन्दगीमा कहीँ पुगिन्न। जिन्दगीको अर्थ भौंतारिनुमा छैन, विधिमा बस्नुमा छ। अब बेवारिसे बनेर नहिँड, घरबार गर। बेला भइसक्यो।’

मैले सोचेको थिएँ, उसको इमेल निकै लामो होला। वर्षौंपछि पठाएको इमेलभित्र रिसाएजस्ता सुनिने शब्दमा उसले सक्ने जति माया खाँदेकी होली। उसको इमेल त निकै रूखो थियो। जम्मा ५० शब्दको त्यो रूखो इमेल पढेर दिनभरि चंगा भएको मेरो मन खङ्ग्रङ्ङ पर्‍यो!

सात वर्षअघि आफैं बेवारिसे यात्रामा निस्केकी उसले अहिले ‘जिन्दगीको अर्थ भौंतारिनुमा छैन, विधिमा बस्नुमा छ’ भनेर मलाई सम्झाएकी थिई। उसले भन्न खोजेकी के हो? मैले बुझिनँ। सोचें- अझै कति भाउ खोजेकी हो। अब बेबारिसे बनेर नहिँड, हामी घरबार गरौं। बेला भइसक्यो। भनेको भए उसको के जान्थ्यो र!

मैले रिप्लाई लेखें- मलाई तिमीसँग कुरा गर्नुछ। फेसबुकमा पठाएको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर, नभए मोबाइल नम्बर देऊ ह्वाटस्एपमा कुरा गरौंला। मलाई अब आफ्नो मनमा भरिएको सबै माया उसकासामू पोखिदिनु थियो। केहीबेर उसको रिप्लाई के आउँछ भनेर कुरिबसें। आधी घन्टासम्म पनि कुनै इमेल आएन। यति लेखेर पठाउनेले मेरो इमेल देखी भने पक्कै रिप्लाई गर्ली भनेर म ओछ्यानमा पल्टिएँ।

उसलाई म्यासेज नपठाए पनि, फोन नगरे पनि मलाई लाग्थ्यो- एकदिन ऊ त्रिभुवन विमानस्थलमा ओर्लिएपछि मलाई फोन गर्नेछ र भन्नेछ- हेलो मिस्टर पत्रकार। म अमेरिकादेखि आएकी छु। एयरपोर्टमा लिन आउनु पर्दैन। पढेलेखेका मान्छेको त यो देशमा कुनै रेस्पेक्ट नै छैन यार! त्यस्तो एकदिन सात वर्षसम्म आएन।

उसलाई अमेरिकामा छोडेर फर्केदेखि मेरो मुटुमा उसको माया भरिन थालेको थियो। उसको नाममा धड्किन थालेको आफ्नै मुटु छामेर म टोलाउँथें। दुनियाँको कोही एउटा मान्छे आफ्नै हो भन्ने अनुभूति पनि बेजोड हुँदो रैछ!

दुई वर्षमा आउँछु भनेकी ऊ तीन वर्ष बित्न लाग्दा पनि नेपाल फर्किइन। एकदिन आमाले फोन गरेर सोध्नुभयो- बुहारीको पढाइ सकिएन अझै? कहिले आउने हो घर? ‘खै आउली नि, मन लागेका बेला। उतै पो बस्छे कि,’ मैले आफूलाई केही वास्ता नभएजसरी आमालाई जवाफ दिएँ। ‘नभए तँ पनि जा उतै। डिपेनड्यान हो कि केमा जान मिल्छ रे त।’

बुहारी उतै भएपछि छोरो डिपेन्डेन्ट भिसामा जान पाउँछ भनेर कसैले भनिदिएछ आमालाई। आमालाई के थाहा हाम्रो त विवाह नै नक्कली हो। नक्कली विवाह गरेको मान्छेले एक्लै डिपेन्डेन्ट भिसा कहाँबाट पाउनु! उसको डिपेन्डेन्ट भिसामा मलाई अमेरिका जानु पनि थिएन। यसै त यस्ती छ, उसको डिपेन्डेटमा म गएँ भने झन् कति हेप्ली जस्तो लाग्थ्यो। स्कलरसिप पाए अमेरिकाबाट मास्टर्स गर्ने मेरो आफ्नै योजना थियो।

उसलाई भन्दै नभनी एकदिन ड्याङ्ङ उसको कलेजको गेटमा उभिएर सिठी मारें भने आभा लिम्बू कति चकित पर्ली भन्ने कल्पनाले म रोमाञ्चित हुन्थें। ‘हुन्छ आमा, म बुहारीसँग सल्लाह गरौंला। डिपेन्डेन्टमा जान लटरपटर लामै हुन्छ रे,’ मैले ढाँटे। अर्को दिन पुतलीसडकको एक इन्स्टिच्युटमा जिआरई (ग्र्याजुएट रेकर्ड एक्जामिनेसन्स) का लागि भर्ना भएँ।

सँगै काम गर्ने एकजना दाइले भनेका थिए- जिआरईमा राम्रो स्कोर ल्याए, टोफेल/आइइएलटिएस गरे अमेरिकी युनिभर्सिटीमा स्कलरसिप पाइन्छ। जानलाई पैसा पनि धेरै खर्च हुँदैन। उल्टै उता प्रोफेसरको टिए, जिए वा आरए भएर काम गर्दा पैसा कमाइन्छ। म त्यही सपना देखेर पुतलीसडक पुगेको थिएँ।

जिआरई पढाउने सरहरू गज्जबका थिए। उनीहरूको शैली देखेर सुरू-सुरूमा त मलाई हाँसो उठ्थ्यो। भर्बल पढाउने सरले दिनदिनै नयाँ-नयाँ शब्द लेखाउँथे, रट्टा मार्न भनेर। कहिल्यै सुन्दै नसुनेका ती शब्द सम्झिने उनको ट्याक्टिस पनि खतरा थियो।

‘भेनल भनेको पायो भने आफ्नै सालासँग पनि घुस खाइदिने भिनाजु अर्थात् घुस्याहा,’ उनी भन्थे, ‘पर्सिमोनियस भनेकोचाहिँ साथीभाइसँग खाजा खान गएका बेला मनि तिर् भन्दा पर्सि तिर्छु, पर्सि तिर्छु भन्ने तर कहिल्यै पैसा नतिर्ने साथी अर्थात् कन्जुस। त्यस्ता साथी त तपाईंहरूका पनि होलान्।’ क्लासभरि हाँसोको फोहोरा छुट्थ्यो।

म्याथ पढाउने सरको स्मार्टनेस पनि चकित पार्ने खालको थियो। फिजिक्स, बायोलोजी, बोटानी, जियोलोजीलगायतमा मास्टर्स सकेकाहरूलाई पनि उनी अनेक तर्क गरेर जिल ख्वाइदिन्थे। क्याल्कुलेटरमा जिरो पोइन्ट समथिङ हान्नुपर्दा नेपालीले जिन्दगीका थुप्रै घन्टा अगाडिको जिरो हान्नमै बिताउँछन् जसको केही कामै छैन भन्ने उनको लजिक हुन्थ्यो।

एसएलसीसम्म नेपालीमा गणित पढेकाले होला गणितको कुन कुरालाई अंग्रेजीमा के भन्छन् म मेसो पाउँदैनथें। पुरै लजिक त परको कुरा, सरले भनेका शब्द पनि म बुझ्दैनथें। सरले क्लासमै ल यो हिसाब गर्नुस् त भन्दा म हिसाब गरेजस्तो त गर्थें तर के सुत्र लगाएर हिसाब गरिरहेको छु आफैंलाई थाहा हुन्नथ्यो।

मेरो छेऊमा बस्ने एक जना केटी भने सधैँ हिसाब मिलाउँथी। सरले दिएको समयभन्दा पनि पहिला नै ऊ हिसाब सकिसक्थी। म के लेखौं, के लेखौं भइरहेको हुन्थें। ऊतिर हेर्थें। उसका र मेरा आँखा ठोक्किन्थे। उसको अनुहार हेर्दा लाग्थ्यो, मनमनै उसले भनिरहेकी छ- कस्तो बुद्धु रैछ यो केटो, यति सजिलो हिसाब पनि जान्दैन!

म फेरि आफ्नै कापीमा कर्‍याङमर्‍याङ गर्थें। दुई-चार दिन म्याथ सरका कुरा सुनेपछि मलाई लाग्यो- संसारका कुनै पनि हिसाब मलाई आउँदैनन् र जिआरई भन्ने चिज मबाट पार लाग्ने कुरा होइन रैछ। ‘तिमी सेतोपाटी अनलाइनमा काम गर्छौ?’ एकदिन म्याथ सर आउन ढिला भएका बेला छेउकी त्यही हिसाब जान्ने केटीले मलाई सोधी।

यसले कसरी थाहा पाई भनेर म अचम्ममा परें। ‘हो। तर तिमीले कसरी थाहा पायौ?’ उसले मेरो भिजिटिङ कार्ड देखाई। ‘यो तिम्रो सिटमूनि खसेको थियो, मैले हिजो भेटेको,’ उसले भनी। क्लास सकिनासाथ म कसैसँग नबोली हिँडिहाल्थें। पर्सबाट त्यो भिजिटिङ कार्ड कसरी खसेछ थाहै भएन।

‘मलाई पनि स्टोरी पढ्न खुब मन पर्छ’ उसले भनी, ‘एक-दुई जना पत्रकारलाई चिन्छु, कहिलेकाहीँ लेख्छु पनि। नाम हेर्दा मैले तिम्रा पनि एक-दुई वटा स्टोरी पढेकी छुजस्तो लाग्छ।’ ‘ए हो र, धेरै राम्रो। जिआरईको हिसाब पनि जान्ने, स्टोरी पनि लेख्न सक्ने मान्छे दुनियाँमा कमै हुन्छन्,’ मैले हाँस्दै भनें। ‘जियोलोजी पढे पनि मलाई घुमफिर र लिटरेचरमा रूची छ,’ उसले भनी।

मलाई ऊसँग कुराकानी लम्ब्याउने कुनै जाँगर थिएन। ऊसँग मात्र होइन कुनै पनि केटीमान्छेसँग भए/नभएका कुरा गर्न मलाई झिजो लाग्ने भइसकेको थियो। मेरो दिमागभरि एकदिन अमेरिका गएर ड्याङ्ङ आभा लिम्बूको कलेजको गेटमा पुगेर सिठी मारें भने ऊ कति चकित पर्ली भन्ने कुरामात्रै खेलिरहन्थ्यो। मनमा माया भरिन थालेपछि मान्छे यसरी एकहोरो हुँदा रैछन् भन्ने मैले त्यतिबेलै हो थाहा पाएको!

त्यो दिन म्याथ सर अलि ढिला आए। हिसाब गर्ने ट्रिक सिकाए। उनले गर्न दिएको हिसाब मैले जानिनँ। क्लास सकिनासाथ हतार-हतारमा निस्कन खोजें। ‘ओ पत्रकार महोदय,’ छेउकी त्यही हिसाब जान्ने केटीले भनी, ‘जहिल्यै कति हतार हुन्छ के तिमीलाई निस्कन।’

उसको पहिलो वाक्य सुन्दा मलाई आभा लिम्बूको याद आयो। ऊ पनि मलाई त्यसरी नै बोलाउँथी- हेलो मिस्टर पत्रकार! अझ कहिलेकाहीँ त पत्रकारका अगाडि कन्जरभेटिभ पनि थपिदिन्थी। उसले त्यसरी बोलाएको मलाई खुब मन पर्थ्यो किनकी त्यसमा बेस्सरी माया मिसिएको हुन्थ्यो। हिसाब जान्ने केटीले ओ पत्रकार भनेकोचाहिँ मलाई मन परेन।

‘आज हामी सँगै चिया खाने। म तिमीलाई म्याथका बेसिक कुरा सिकाइदिन्छु,’ किताब कापी झोलामा हालेर चेन लगाउँदै उसले भनी। मैले पहिलो पटक उसलाई तलदेखि माथिसम्म हेरें। जिन्सको पाइन्टमाथि कुर्ता लगाएकी उसका आँखामा ठूलो चस्मा थियो।

जुन केटीको मलाई नामै थाहा पाउन मन छैन। ऊ मलाई सँगै चिया खाऔं भनिरहेकी छ। ‘हुन्न’ भन्दिऊँ कि जस्तो लागेको थियो तर ‘म्याथ सिकाइदिन्छु’ भन्ने उसको प्रस्तावले म लोभिएँ। उसले आफ्नो स्कुटर चलाई। म बाइकमा पछिपछि लागें। हामी भृकुटीमण्डप गयौं। साँझ छिप्पिन लागेको थियो।

‘मेरो नाम शबनम अधिकारी हो। घर विराटनगर,’ उसले भनी, ‘तिम्रो नाम त थाहा भइहाल्यो। घर कता हो?’

‘सुर्खेत।’

‘ओहो, उता सुदूरपश्चिम।’

‘सुर्खेत सुदूरपश्चिम होइन, कर्णाली प्रदेशको राजधानी हो,’ मैले भनें, ‘तिमी हिसाब जान्ने भए पनि भूगोल नजान्ने रैछौ।’‘ए, सरी! म लुम्बिनीभन्दा उता गएकी छैन। उताका सबै ठाउँ मलाई उस्तै लाग्छन्,’ उसले भनी।

चिया खाँदाखाँदै उसले मलाई त्रिभुजका कोण, वृत्तको अर्धव्यास, वर्ग र चतुर्भुजका क्षेत्रफल निकाल्ने केही सुत्र र पाईको मानबारे भनी। सकेजति शब्द नेपालीमै बोलेर उसले मलाई बुझाउन खोजेकी हो तर मैले अलिअलि मात्र बुझें, सबै कुरा बुझिनँ।

चिया खाइसकेर उसले भनी- ल, अब अरू भोलि सिकाइदिन्छु। ढिला भइसक्यो।

‘हुन्छ’ भनेर म कीर्तिपुर फर्किएँ। ऊ स्कुटर लिएर कता गई मलाई थाहा भएन।

बाटोमा उसको नाम सम्झिएँ- शबनम अधिकारी। केटी त सहयोगी रैछ। यसले मेरो जिआरईको म्याथ पार लगाउँछ कि क्या हो!

राति सुत्नै लाग्दा सेभ नभएको नम्बरबाट मोबाइलमा म्यासेज आयो- तिम्रो त हिसाब मात्रै होइन जिन्दगी पनि गन्जागोल छजस्तो छ। म्यासेज पठाउने मान्छे त्यही हिसाब जान्ने केटी हो जस्तो लाग्यो। कन्फर्म गर्न नम्बर डायल गरें।

मैले हेलो भन्न नपाउँदै उताबाट आवाज आयो- सर्कलको एरियाको सुत्र हो, पाईआरस्क्वायर। चिया खानेबेला मात्रै सिक्नुपर्छ भन्ने केही छ र! जतिबेला पनि पढिरहनु पर्छ। नत्र कसरी जानिन्छ?

उसले मलाई चिया खानेबेला आफूले सिकाएका कुरा सोधी। मैले सबै बिर्सिसकेको थिएँ। फोनमै सबै दोहोर्‍याई। मलाई सोध्न मन थियो- तिमीलाई मेरो जिन्दगी कसरी गञ्जागोल छजस्तो लाग्यो? उसले त पढाइको मात्र कुरा गरेर फोन राखिदिई।

मैले मोबाइलमा उसको नम्बर सेभ गरें- हिसाब जान्ने केटी। अर्को दिन पनि उसले मलाई गणित सिकाई। क्लासमा सरले आज के पढाएका हुन् भन्ने दोहोर्‍याइदिई। यसरी हामी साथी भयौं। ऊसँग मेरो एउटै स्वार्थ थियो, गणित जान्नु। बिस्तारै-बिस्तारै हामी नजिक भयौं। एक-अर्काका कुरा सेयर हुन थाले।

टियूबाट मास्टर्स सकेर उसले खानी तथा भूगर्भ विभागको एउटा प्रोजेक्टमा काम गरेकी थिई रे। ‘यहाँ त्यति मजा आएन। अब अमेरिका गएर पिचएडी गर्ने हो,’ उसले आफ्नो योजना सुनाई। बुवा सरकारी जागिरे रैछन। दाइ प्लस टु सकेर अमेरिका गई उतै सेटल भएका रे।

मैले पनि उसलाई आफ्नो घर-परिवार, पढाइ र जागिरबारे सबै भनें तर अमेरिकामा मेरो को छचाहिँ भनिनँ। हिम्मत नै आएन। उसले सोधिन पनि। मेरो जिन्दगीमा कुनै कथा होला भन्ने सायद उसले सोच्दै सोचिन।

भृकुटीमण्डप हाम्रो जङ्क्सनजस्तै भइसकेको थियो। पढेर आउने, चिया खाने। उसले मलाई गणित पढाउने अनि अँध्यारो भएपछि छुट्टिने। एकदिन भृकुटीमण्डपमा आएपछि उसले मलाई गणित पढाइन। भनी- मलाई तिम्रो हिसाब मात्र होइन जिन्दगी पनि गञ्जागोल छजस्तो लाग्छ।

मैले कैयौं दिनदेखि मनमै राखेको विषय उसैले निकालेकी थिई। ‘म पनि तिमीलाई यही सोध्नेवाला थिएँ। किन तिमीलाई मेरो जिन्दगी गञ्जागोल छजस्तो लाग्छ?,’ मैले निकै गम्भीर भएर सोधें। उसले आफ्नो ब्यागबाट हरियो रङको एउटा सानो काँगियो निकाली। त्यो काँगियो मेरो हातमा राख्दै भनी- यसले तिम्रो जिन्दगीको गञ्जागोल हटाएर सबथोक चिटिक्क मिलाउँछ। मैले उसको कुरा बुझिनँ। त्यो बुझिने कुरा पनि थिएन।

उसले भनी- तिमीलाई देखेको दिनदेखि कहिल्यै पनि तिम्रो कपाल चिटिक्क मिलेको देखेकी छैन। कपाल लामो पनि छैन तर कोही उत्तर फर्केको छ, कोही दक्षिण, कोही घोसेमुन्टो लगाएर बसेको छ। जसको बाहिर कपाल गज्याङमज्याङ छ, उसको भित्र दिमाग पनि गज्याङमज्याङ चलिरहेको हुन्छ रे। दिमाग गज्याङमज्याङ चल्ने मान्छेको जिन्दगी गञ्जागोल हुन्न त?

उसको कुरा सुनेर मलाई बेस्सरी हाँसो उठ्यो। ‘कसको लजिक हो यस्तो? जिआरईमा त यस्तो लजिक पढाइ हुन्न।’‘जिन्दगीका सबै लजिक जिआरईमा पढाइ हुन्नन्,’ उसले भनी, ‘यो लजिक होइन, म्याजिक हो। ट्राई गरी हेर न।’

मेरो घुम्रिने कपाल छ। त्यही भएर छोटै राख्छु तर घरबाट जति मिलाएर गए पनि हेलमेटले बिगारिहाल्छ। बिग्रेपछिचाहिँ मलाई मिलाउनै मन लाग्दैन। उसले कपाल मिलाउन काँगियो नै दिएपछि अर्को दिन मैले त्यसलाई पाइन्टको खल्तीमै बोकें। क्लासमा छिर्नुअघि बाथरूम गएर मुख धोएँ। काँगियोले कपाल कोरेर निस्किएँ।

अगाडि नै गएर सिटमा बसिसकेकी उसले मलाई देखेर ‘दामी छ’ को संकेतमा दाँया हातका बुढी औंला र चोर औंला जोडी। उसले दिएको काँगियोले कोर्दा मेरो कपाल त चिटिक्क मिल्थ्यो, दिमाग भने झन् गञ्जागोल हुन्थ्यो। ऊसँग नजिकिँदा-नजिकिँदै धेरै नै नजिकिँएँ भने आभालाई धोका त हुन्न भन्ने डरले मेरो दिमाग तिरमिराउँथ्यो।

हिसाब जान्ने केटी मलाई यति मन लगाएर गणित पढाइरहेकी थिई कि म उसको गणित कम, मन ज्यादा बुझिरहेको थिएँ। मप्रतिको उसको व्यवहार देखेर लाग्न थालेको थियो- दुनियाँमा अरू मान्छे यति सहयोगी छन्, म कति स्वार्थी छु!

केही महिनापछि कोर्स सकिन लाग्यो। जिआरईको डेट लिनुपर्ने भयो। परीक्षाका लागि इटिएस (एडुकेसनल टेस्टिङ सर्भिस) को साइटमा फर्म भरेर पैसा बैंकको कार्डबाट तिर्नुपर्दो रैछ। त्यतिबेला मसँग डलर कार्ड थिएन। कि विदेशबाट कसैले तिरिदिनु पर्‍यो नभए दरबारमार्गको एउटा बैंकमा गएर लाइन बसेर पैसा तिर्नुको विकल्प थिएन। मेरो परीक्षाको फी तिमी त्यतैबाट तिरिदेऊ न भनेर आभालाई इमेल पठाउन पनि मलाई आफ्नै इगोले दिएको थिएन।

‘पैसा तिर्नको तिमी टेन्सन नलेऊ, मेरो दादाको कार्डबाट तिरौंला,’ हिसाब जान्ने केटीले समाधान निकालिदिई, ‘त्यति डलर बराबरको नेपाली रुपैयाँ तिमी मलाई यहीँ दिनू।’

‘मैले दिने पैसाको पनि तिमी टेन्सन नलेऊ,’ मैले उसकै शैलीमा भनें, ‘यहाँ रुपैयाँ दिन सकिनँ न भने उतै गएर डलरमा तिरौंला।’ उसले दुबै जनाले सँगै फर्म भर्दा सजिलो हुन्छ भनी। ‘‍कार्ड नम्बर हानेपछि पैसा काट्नुअघि दादाको मोबाइलमा एउटा नम्बर आउँछ रे। त्यो नम्बर यहाँ हामीले फर्ममा फिलअप गर्नुपर्छ,’ उसले भनी, ‘बरू तिमी पनि भोलि सिनामंगल आउनू। सँगै फर्म भरौंला।’

त्यो शनिबारको बिहान थियो। उता उसको दाइ नसुत्दै फर्म भरेर सकिहालौंला भनेर म बिहान ९ बजेतिर सिनामंगलस्थित उसको डेरामा पुगें। उसले ल्यापटपमा पहिला हामी दुबै जनाको इटिएस एकाउन्ट बनाई। त्यसपछि काठमाडौंका कुन-कुन सेन्टरमा कहिले परीक्षाको डेट छ हेर्न थाली। तीन सातापछि सुन्धारास्थित सिभिल मलको एउटा इन्स्टिच्युटमा डेट रै’छ।

उसले पहिला मेरो फर्म भरी। सक्सेस भयो। त्यसपछि आफ्नो भर्न लागी।

‘बाथरूम कता छ,’ मैले सोधें।

उसले मतिर हेर्दै नहेरी दाँया हातको बुढी औंलाले संकेत गरी। उसले दिएको काँगियो बोकेर म त कपालै नमिलाइकन बसेको रैछु! बाथरूम गएर कपाल मिलाएर आएँ। त्यतिञ्जेल उसले आफ्नो पनि फर्म भरिसकेकी थिई। निकै उत्साहित देखिन्थी।

म जिआरईको फर्म भर्न लाग्ने २०५ डलर बराबरको नेपाली रुपैयाँ बोकेरै गएको थिएँ। ‘मैले पैसा ल्याएरै आएको छु, राख,’ उसलाई पैसा दिन खोजें। ‘यति नजिक भएर पनि तिमी मलाई कति टाढाको सम्झिन्छौ है,’ उसले पुलुक्क मेरो अनुहारमा हेरी।

उसले ठिकै भनेकी थिई। निकै नजिक भएर पनि ऊ मलाई निकै नै टाढाकी लाग्थी। जानी-जानी म ऊबाट टाढै हुन चाहन्थें। जिउन बाँकी जिन्दगीबारे उस्तै सपना देख्नेहरू मात्र नजिक हुन्छन् जस्तो मलाई लाग्थ्यो। उसको र मेरो अमेरिका जाने एउटा सपना पो उस्तै थियो, जिन्दगीको सपना त एउटै थिएन। एउटै बनाउन मिल्न अवस्थामा पनि म थिइनँ।

‘हैन तिमीलाई पैसा चाहिहाल्छ। पछि पनि फेरि दिनै पर्छ। मसँग थियो त्यही भएर ल्याइदिएको,’ मैले स्पष्टीकरण दिएँ।उसले पैसा समातिन। हत्केलाले मेरो कपाल हल्लाई र भनी- अचेल त सधैँ चिटिक्क हुन्छ त कपाल।

ऊ काँगियोले म्याजिक गर्छ भन्थी। उसले दिएको काँगियोले त होइन, मेरो कपाल छोएको उसको हत्केलाले भने साँच्चै म्याजिक गरेजस्तो भयो। मेरो शरिरमा तरंग आयो। थुचुक्क भुइँमा बसें। ऊ दुबै हातले मेरो कपाल मालिस गर्न लागी। त्यो तरंग झनझन् बढ्दै गयो।

एकछिनपछि बिस्तारै उसले आफ्ना ओठले मेरा ओठ चुमी। मलाई लाग्यो- यो कोठाभित्र मात्र होइन यो दुनियाँभरि नै ऊ र म मात्रै छौं……।

त्यो दिन दिउँसो उसको कोठाबाट निस्किने बेला मेरो मनमा गहिरो ग्लानी थियो। मैले त्यो आभाको विश्वासमाथि घात गरेंजस्तो लाग्यो जसले आफ्नो मन अन्त नमोडियोस् भनेर मजस्तै देखिने एउटा डमी घरमा ल्याएर राखेकी छे।

जननेन्द्रीयहरूका माध्यमबाट हुने आनन्दको सुरू, मध्य र अन्त्य हुन्छ र त्यो क्षणिक आनन्द पीडामा गएर सकिन्छ भन्ने कहीँ पढेको थिएँ, आफ्नै जीवनमा लागू भयो। त्यही दिनदेखि हो मलाई अब आभासँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्छु भन्ने विश्वास हराएको।

मेरो मनभित्र चलिरहेको यस्तो हुन्डरीबारे हिसाब जान्ने केटीलाई कुनै मतलबै थिएन। मेरो जिन्दगीमा केही कथा छ भन्ने त उसले सायद सोच्दा पनि सोचेकी थिइन।

परीक्षा नजिकिँदै गर्दा ऊ मलाई झन् धेरै टाइम दिएर गणित पढाउन थाली। अर्को शनिबार दिउँसो उसले र मैले सँगै गएर ‘मक टेस्ट’ दियौं। १७० को म्याथमा मेरो १५० नम्बर आयो। ‘नट ब्याड! आर्टस् पढेको मान्छेको यति स्कोर आउनु राम्रै हो,’ उसले आफ्नै प्रशंसा गरी, ‘पढाएको कसले!’

मैले ओठ लेब्र्याएँ।

हामी फेरि भृकुटीमण्डप आयौं।

‘हामी दुई जना सँगै अमेरिका जाने है। जसको भिसा पहिला आए पनि,’ उसले त्यो दिन अनौठो प्रस्ताव राखी।

मैले सोधें- कसरी हुन्छ त्यस्तो?

‘डिपेन्डेन्टमा भइहाल्छ नि,’ उसले सजिलै भनिदिई।

अहिलेसम्मको पढाइ हेर्दा त उसैले पहिला स्कलरसिप पाउने सम्भावना थियो। अर्थात् ऊ मलाई पनि आफू सँगै डिपेन्डेन्टमा लैजान चाहन्थी। मैले उसको अनुहार हेरें। ऊ निकै कन्फिडेन्स देखिएकी थिई। मोबाइलमा मैले जसको वास्तविक नाम नलेखेर हिसाब जान्ने केटी राखेको छु, ऊसले मलाई पनि राखेर आफ्नो जिन्दगीको यति महत्वपूर्ण सपना देखिसकेकी रैछ।

मैले उसलाई केही भन्नुअघि ‘अखम’ गरेर गला सफा गरें।

‘मलाई तिमीलाई एउटा कुरा भन्नु छ,’ टेबलतिर हेरेर भनें।

‘के?’ उसले उत्सुक भएर सोधी।

‘तिमी धेरै राम्री छौ।’

ऊ बेस्सरी हाँसी- यो के कुरा भयो?

‘हेर्नमा मात्रै होइन स्वभाव र विचारले पनि तिमी साँच्चै राम्री छौ।’

‘अनि यो के कुरा भयो त?’ उसले उही प्रश्न दोहोर्‍याई।

‘म त्यति राम्रो छैन,’ मैले टेबलतिरै हेरेर भनें, ‘जति तिमीले सोचेकी छौ।’

‘तिमी त मभन्दा पनि राम्रो छौ। कपाल चिटिक्क मिलाउन थालेदेखि अचेल झन् ह्यान्डसम भइरहेका छौ,’ उसले मेरो कुरा हाँसोमा उडाइदिई।

म के भन्न खोजिरहेको छु भन्ने उसले बुझ्न सकिइरहेकी थिइन। बुझ्नै नचाहेकी पनि हुन सक्छ।

‘म तिम्रो डिपेन्डेन्टमा जान लायक छैन,’ मैले गम्भीर भएर भनें।

‘कसले भन्यो?’ उसले सोधी।

‘मैले भनें त भर्खर।’

‘किन?’ अब उसको बोली गम्भीर हुन थाल्यो।

‘किनकी म स्वार्थी छु। मेरो तिमीसँग गणित सिक्ने मात्र स्वार्थ थियो। त्योबाहेक अरू जे-जे भयो, ती सबैका लागि आई एम भेरी सरी!’

‘किन, तिम्री अर्की गर्लफ्रेन्ड छ र?,’ उसले फेरि सोधी।

‘छ। अमेरिका गएकी छ,’ मैले भनें, ‘आभा लिम्बू हो उसको नाम। ऊ मेरी गर्लफ्रेन्ड पनि हो, वाइफ पनि हो।’

उसले लामो सास फेरी। धोका भएको सम्झेर होला रातो-पिरो भएकी थिई। उसका आँखा पनि रसाएका थिए सायद ग्लानी मिसिएका आँशुले। मेरो जिन्दगीमा यस्तो पनि कथा छ भन्ने उसले रत्तिभर पनि सोचेकी थिइन।

‘म तिमीलाई यो सब पहिले नै भन्न चाहन्थें तर तिमीले कहिले मौकै…’ म स्पष्टीकरण दिन खोज्दै थिएँ। ऊ हेलमेट र स्कुटरको चाबी बोकेर हिँडिहाली। जान्छु पनि भनिन।

म आफैंले खनेको खाल्डोमा परेको थिएँ। यो सब हुनुका पछाडि परिस्थितिको दोष थियो कि मेरो गल्ती? छुट्ट्याउनै सकिनँ। मान्छेहरू छुट्टिनका लागि भेट्टिन्छन् किन? मलाई आफैंसँग रिस उठ्यो। त्यस दिनदेखि हिसाब जान्ने केटीको नम्बरबाट न मेरो मोबाइल फोन आयो, न म्यासेज। उसलाई आफैं फोन गर्ने हिम्मत मलाई आएन।

जिआरई परीक्षाको दिन ऊसँग सेन्टरमा भेट भएको थियो। उसले मेरो अनुहारतिर हेर्दा पनि हेरिनँ। मैले म्याथका सबै प्रश्नहरू उसकै नाम सम्झेर टिक लगाएँ। मैले जति म्याथ जानेको थिएँ त्यो सबै उसैले त हो सिकाएको!

जिआरईको रिजल्ट आयो। अचम्मै भयो, म्याथमा मेरो स्कोर १५३ थियो। यो थाहा पाएर ऊ पक्कै खुसी होली भनेर मैले हिसाब जान्ने केटीलाई म्यासेज पठाइदिएँ- म्याथमा मेरो १५३ आयो। यो मैले ल्याएको होइन, तिमीले ल्याइदिएको हो। थ्यांक यू! उसले रिप्लाई पठाइन। एउटा त के मैले हजार म्यासेज पठाए पनि सायद ऊ रिप्लाई फर्काउनेवाली छैन।

जिआरई दिएको एक महिनापछि मैले टोफेलको परीक्षा दिएँ। भन्दै नभनी आभा लिम्बूको कलेजको गेटमा पुगेर सिठी मार्ने दिन नजिक आउँदैछ भनेर मलाई जति जाँगर चल्थ्यो, त्योभन्दा धेरै पीडा हिसाब जान्ने केटीलाई सम्झेर हुन्थ्यो।

मैले टोफेलको परीक्षा दिएको एक महिना नबित्दै कोरोनाभाइरसको महामारी आयो। संसार ठप्प भयो। चीनदेखि भारत, युरोपदेखि अफ्रिकासम्मका सरकारले आफ्ना नागरिकलाई घरभित्रै थुने। पढ्न विदेश जाने त परको कुरा नेपालमा पनि आफ्नै गाउँ जान नपाइने नियम लगाइयो। मलाई पहिलो पटक जिन्दगी यति अनिश्चित छ र प्रकृतिका अघि मान्छे यति कमजोर छन् भन्ने बोध भयो।

एक जनालाई कोरोना देखिनासाथ लकडाउन गरे पनि नेपालमा कोरोना दिन दुई गुना रात चौगुना बढ्न थाल्यो। हामी स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने भर्चुअल ब्रिफिङ सुनेर हजारौं संक्रमित थपिएका र दर्जनौंको मृत्यु भएका समाचार लेख्थ्यौं। अस्पतालमा बिरामी भुइँमै सुतेका, अक्सिजन नपाएर छट्पटाइरहेका, अन्तिम सास फेर्नुअघि पनि आफन्तले निधारमा हात राख्न नपाएका, बितिसकेका मान्छेलाई सेनाले प्लास्टिकमा बेरेर गाडेका दृश्य त कति थिए, कति।

पछिपछि कोरोना हाम्रै अफिसमा आइपुग्यो। घरबाटै काम गर्नुपर्ने भयो। मलाई मनमनै डर लाग्थ्यो- यो कोरोना भन्ने चिज मलाई पनि हुन सक्छ। र, म पनि मर्न सक्छु। यो जिन्दगीमा मर्नुभन्दा अघि मलाई हिसाब जान्ने केटीलाई अन्तिम पटक सरी भन्नु थियो। माफ दिने/नदिने त उसको कुरा।

मैले एकदिन उसको मोबाइल नम्बर डायल गरें।

उताबाट कोही केटा मान्छेले हेलो भन्यो।

‘को बोल्नुभयो? यो शबनमको नम्बर होइन?’ मैले सोधें।

‘म उनको बुवा बोलेको।’

‘बुवा नमस्ते। म शबनमको साथी हो। जरूरी कुरा गर्नुथियो,’ मैले भनें, ‘उसलाई दिनुस् न।’

‘तपाईंलाई थाहा छैन र। उनी त…’ बुवाले वाक्य पूरा गर्न सकेनन्।

‘किन, के भयो र?,’

‘कोरोना भएको थियो,’ यो वाक्य सुनेपछि मोबाइल मेरो कानबाट झर्‍यो। संसार पूरै अँध्यारो भएजस्तो लाग्यो।

मैले निधारमा हात राखेर सोचें- यति छिट्टै छोडेर जानु रैछ र त उसले मलाई त्यति धेरै माया गरेकी रैछ!

***

सुत्नलाई मोबाइलमा वाइफाई अफ गर्न लागेको बेला नयाँ इमेलको नोटिफिकेसन आयो। आभा लिम्बूले रिप्लाई गरेकी थिई: म नेपाल आइसकेकी छु। मलाई पनि तिमीसँग कुरा गर्नुछ। मिल्छ भने भोलि लञ्च खाने गरी मेरोमा आऊ।

उसले आफ्नो मोबाइल नम्बर पनि त्यहीँ लेखिदिएकी थिई।

अर्को दिन बिहानै मैले उसको नम्बरमा फोन गरें। ऊ भक्तपुरको एउटा कोलोनीमा बस्दी रैछ। गुगल म्यापमा नक्सा हेरें।

नुवाइधुवाइ गरें। दाह्री काँटें। सर्ट-पाइन्टमा आइरन लगाएँ। उसलाई अब म धेरै सुध्रिसकें भन्ने पार्नु थियो।

अफिसमा आज सञ्चो छैन भनेर बिदा मागी उसलाई भेट्न हिँडें।

मोटरसाइकलको एक्सिलेटर बटारिरहँदा मलाई लागेको थियो- म यस्तो परिवर्तन भएको देखेर आभा लिम्बू कति चकित पर्ली!

आजसम्म ऊसँगको सम्बन्धलाई मैले जंगलजस्तो छोडिदिएको थिएँ। जे हुन्छ, हुन दिने। झारपात उम्रिए उम्रिऊन्। पानी नपाएर बिरूवा मरे मरून्। डढेलो लागे लागोस्। जसरी ऋतुसँगै नयाँ पालुवा पलाउँछन्, पँहेलिएर खस्छन् र अर्को साल फेरि पलाउँछन्। त्यसरी नै सम्बन्धलाई पनि चलिरहन दिनुपर्छजस्तो मलाई लाग्थ्यो।

अब भने म यो सम्बन्धलाई फूलबारी बनाउने निधोमा पुगेको थिएँ। दिनदिनै पानी हाल्ने। बेलाबेला गोडमेल गरेर नचाहिने झारपात उखेलेर फाल्ने अनि सधैँ हेरिरहुँजस्तो लाग्ने सुन्दर बनाउने।

सात वर्षको पर्खाइले मलाई सिकाएको थियो- मनको माया मनमै नराखी भनिहाल्नुपर्दो रैछ।

कोटेश्वर पुगेपछि मोटरसाइकल रोकेर बाटोछेउको फूल पसलमा छिरें। एउटा बुके किनें।

उसको अपार्टमेन्टनजिकै पुग्न लाग्दा सोचें- पोहोर साल रिपोर्टिङका लागि इलाम जाँदा मैले झापाको चारआलीबाट उभो लागेपछि उसलाई कति मिस गरें पनि भन्छु। केही दिनअघि कन्याकुमारीमा होटलको कोठाको झ्यालबाट समुद्र देखेका बेला मैले उसलाई कति सम्झिएको थिएँ, यी सबै-सबै कुरा आभा लिम्बूलाई जस्ताको त्यस्तै सुनाइदिन्छु।

कोलोनीको गेटमै ऊ मलाई लिन आएकी थिई। मोटाएकी रैछ। झन् धेरै उज्याली पनि भएकी। मोटरसाइकल रोकें। मलाई लागेको थियो- मैले बुके दिएपछि ऊ मलाई कसिलो अँगालो हाल्नेछ।

उसले मुस्कुराउँदै बुके समाती र भनी- बुढो भएछौ।

‘कसको?’ मैले सोधें।

उसले जवाफ फर्काइन्।

‘कहिले हो आएको खबर-खाबर केही छैन त। यस्तो तालले कसरी चल्छ,’ मैले भनें, ‘बुहारी नआउने भए तँ उतै जा डिपेन्डेन्टमा भन्दै हुनुहुन्थ्यो आमाले।’

ऊ हाँसीमात्र।

‘जाऔं माथि,’ भनी। म उसको पछि लागें।

हामी मिटिङ हलको सोफामा बस्यौं।

‘चिया, कफी के खान्छौ?’ उसले सोधी।

‘लञ्च खुवाउन बोलाएको होइन र!’ मैले भनें।

‘तिमी त अझै उस्तै छौजस्तो छ।’

‘किन, तिमी बदलियौ र?’ मैले भनें, ‘तिम्रो कन्जरभेटिभ पत्रकार कति सुध्रेको छु भन्ने बिस्तारै-बिस्तारै थाहा पाउँछौ।’

उसले जवाफ दिइन।

‘बस्दै गर, चिया लिएर आउँछु,’ भनेर गई।

म भित्तामा टाँसेका फोटाहरू हेरिरहेको थिएँ।

एउटा केटो कोठाभित्र पस्यो र भन्यो- हलो, भानुभक्तजी। म आकाश।

मैले उसलाई हेरें। उसले मुड्की दियो, मैले पनि दायाँ हात मुड्की पारेर मिलाएँ। कोरोनाले हात मिलाउने चलन खाएर कुहिना र मुड्की मिलाउने चलन ल्याइदियो।

‘कस्तो राम्रो लेख्नुहुँदो रैछ है तपाईं। त्यो कन्याकुमारीको स्टोरी आभा र मैले सँगै बसेर पढेको हो,’ उसले भन्यो।

मलाई के भन्ने, के भन्ने भयो। चिटचिट पसिना आउलाझैं गर्मी भयो।

उसले फेरि भन्यो- आभाले तपाईंका बारेमा मलाई सबै भनेकी छ। त्यो दसैंका बेला तपाईंको घर गएर उसले फन्नी तरिकाले विवाह गरेजस्तो पनि गरेकी रैछ। रमाइलो भएछ है।’

उसका कुराले मलाई चक्कर आउलाजस्तो हुन लाग्यो। आफूले सोचेभन्दा अलिकति फरक परिस्थिति बन्यो भने म त्यो सम्हाल्नै सक्दिनँ।

त्यही बेला आभाले चिया लिएर आई। एक कप चिया मेरो अगाडिको टेबलमा राखिदिई। मैले उसको अनुहारमा हेरें।

चिया बोकेर ऊ त्यही केटाको छेउमा गएर बसी।

‘हामी नेपाल आएको तीन महिना भयो। म तिमीलाई यो सब भन्नेवाली थिएँ। तर मौकै मिलेन,’ उसले भनी, ‘अस्ति टाइमलाइनमा तिम्रो स्टोरी आयो। हामीले सँगै पढ्यौं। अब त भन्नैपर्छ भन्ने लागेर इमेल गरेकी।’

मसँग बोल्ने कुनै शब्द थिएन। त्यस्तो बेला कसरी चिया खानु।

मैले भनें- आइ एम भेरी सरी! मलाई बहुत गाह्रो भयो। म जान्छु है। एनिवे कंग्र्याचुलेन्स!

म उठें। आभा लिम्बू आएर मेरो हात समाती। मलाई बेस्सरी अँगालो हाली। हालिरही। आकाश छेउमा बसेर हेरिरहेको थियो।

एकछिनपछि उसले अँगालो छोडी। उसका आँखा रसाएका थिए। आकाशले दिएको टिस्यूले आँशु पुछेर उसले भनी- हामी दुई जना मिलेर तिम्रा लागि खाना पकाएर राखेका छौं। खाएर जाऊ। फेरि आउँछौं कि आउँदैनौ।

‘प्लिज, मलाई कर नगर, म सक्दिनँ। सक्ने भएछु भने कुनै दिन पक्कै आउँछु प्रमिस!’ म ढोकाबाट निस्कन खोजें।

उसले मेरो हातमा एउटा बट्टा थमाई र भनी- यो आमालाई दिइदिनू।

मैले उसले दिएको बट्टा बाइकको ह्यान्डलमा झुन्ड्याएँ। कोलोनीको गेटबाट जसै बाहिर निस्किएँ, मैले यतिन्जेल थामेर राखेको बागमती भल बनेर आँखाबाट उर्लिन थाल्यो। त्यसमा माया, ग्लानी, रिस, पीडा सबै मिसिएको थियो। त्यो दिन भृकुटीमण्डपको चिया पसलमा मेरो कुरा सुनेर हिसाब जान्ने केटीलाई पनि यस्तै भएको थियो होला। सोचें- ऊसँगको मेरो हिसाब सायद अब बराबर भयो!

बादलले आकाश छोपेको थियो। कोटेश्वरबाट हेर्दा कीर्तिपुरतिर अँध्यारो देखिन्थ्यो। मलाई त्यही अँध्यारो भएतिर जानुथियो। बानेश्वर नपुग्दै ठूलो पानी पर्न थाल्यो। रेनकोट थिएन। मैले ह्यान्डलमा झुन्ड्याएको बट्टा जाकेटको खल्तीमा हालें। झरीमै बाइक कुदाइरहें।

हिसाब जान्ने केटीले साँच्चै भनेकी थिई- मेरो त हिसाब मात्र होइन जिन्दगी नै गन्जागोल रैछ!

त्यो दिनभरि मैले उसलाई खुब सम्झिएँ। उसले मलाई गरेको माया र बदलामा मैले देखाएको स्वार्थीपनले मन भक्कानिरह्यो।

राति नौ बजेतिर मोबाइलमा नयाँ इमेलको नोटिफिकेसन आयो। खोलेर हेरें। आभा लिम्बूको रैछ। उसले मलाई भन्न र मैले सुन्न केही बाँकी थिएन। पढ्दै-नपढी डिलिट हान्दिउँ कि जस्तो पनि लागेको थियो। अब जिन्दगीभरि सायद उसको इमेल आउने छैन सोचेर क्लिक गरें।

उसले लेखेकी थिई:

मिस्टर पत्रकार, मलाई थाहा थिएन तिमी मलाई यति धेरै माया गर्छौ भनेर। तिम्रा लागि त म सिर्फ बसमा भेटिएकी एउटी उत्ताउली केटी थिएँ। तिमीले आफैं भनेका थियौ- म त कन्जरभेटिभ छु। लभसभको चक्कर पर्ने होइन। खानदानकी केटी हेर्ने हो, बाउसँग हात माग्ने हो। अनि उसैसँग विवाह गर्ने हो।

सुरू-सुरूमा त लाग्थ्यो, यो सब तिमी मजाक गरेर भनिरहेका छौ। जब मैले त्यो डमीको फोटो पठाएँ। तिमीले मलाई सिधै वेश्या बन भनिदियौ। त्यसपछि मलाई तिमी जे भन्छौ, साँच्चै त्यस्तै छौ जस्तो लाग्न थाल्यो। सरी भनेर एउटा इमेल पठाउँदैमा तिम्रा शब्दले मेरो मनमा लागेको घाउ निको भएन। मेरो मनको घाउ निको पार्न तिमीले थप केही गर्न जरूरी नै ठानेनौं।

नयाँ ठाउँ, नयाँ परिवेशमा म एक्ली थिएँ। हरेक दिन म तिम्रो फोन आउँछ कि वा नयाँ इमेल आयो कि भनेर हेर्थें। अहँ, कहिल्यै आएन। तिमीलाई त अर्काको चित्त दुखाउन मात्र आउँदो रहेछ, बुझाउन आउँदो रहेनछ।

मान्छेहरू ढुंगालाई भगवान् सम्झेर पुज्छन् तिमी त मान्छे हौ, कुनै दिन सुध्रिन्छौ होला भन्ने लागेको थियो। त्यही विश्वासको डोरीले बाँधेर राखेकी थिएँ आफ्नो मन।

जुन दिन आकाशलाई भेटें त्यो दिनदेखि त्यो विश्वासको डोरी बिस्तारै मक्किन थाल्यो।

आज जसलाई तिमीले भेट्यो, उ आकाश हो। आकाश गौतम। उ तिमीजस्तै अचानक भेटिएको थियो। एक्लाएक्लै विन्टर भ्याकेसन मनाउन हिँडेका हामी रेलमा ‍भेटिएका थियौं। उ पब्लिक एडमिनिस्ट्रेसनमा मास्टर्स गर्दै रैछ।

सुरूमा हामी साथी भयौं। कुरा गर्दै जाँदा थाहा भयो- तिमीमा जे-जे कुरा म खोज्थें ती सबै कुरा उसमा छन्। उ फिलोसपिकल टाइपको मान्छे थियो। अर्कालाई धेरै सम्मान गर्ने।

मलाई हरेक दिन फोन गर्थ्यो। सन्चो-बिसन्चो सोध्थ्यो। सानोतिनो केही समस्या पर्दा पनि ‘म छु नि’ भनेर ढाडस दिन्थ्यो। त्यतिबेला मलाई सबैभन्दा खाँचो यस्तै कुराको थियो।

सुरूमा मैले उसलाई साथी मात्र ठानेकी थिएँ। उसले पनि साथीभन्दा माथि नठानोस् भनेर मैले तिम्राबारे सबै भनिदिएँ।

उसले भनेको थियो- हरेक मान्छेको जिन्दगीमा विगत हुन्छ।

मैले तत्कालै प्रतिवाद गरेकी थिएँ- होइन, ऊ त मेरो वर्तमान र भविष्य पनि हो।

मलाई तिमीले भन्दा पनि तिम्री आमाले गरेको माया र विश्वासको खुब झल्को आउँथ्यो। तिम्री आमाले मलाई म जस्ती छु, त्यस्तै स्वीकार्नुभयो। गाउँकी सबै बुहारीभन्दा म फरक थिएँ तर उहाँले हाम्रो यहाँको यस्तो चलन छ, बुहारीले यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भन्नुभएन। तिम्री आमाको व्यवहार देखेर मैले महशुस गरेकी हुँ- जो मान्छे जस्तो छ नि उसलाई त्यस्तै स्वीकार्नु माया रैछ!

पछि-पछि आकाश मलाई तिम्री आमाजस्तै लाग्न थाल्यो। ऊ भन्थ्यो- विवाह भनेको एक-अर्काको रूप-रङ, नामथर, आनीबानी, घरपरिवार मात्र स्वीकार्नु होइन। यी कुरा सँगसँगै उसको विगत र भविष्य स्वीकार्नु हो। सबैभन्दा ठूलो कुरा त उसको तक्दिर स्वीकार्नु हो। कसको तक्दिरमा के लेखिएको छ, हामीलाई थाहा हुँदैन। थाहा नहुने त्यही एक-अर्काको तक्दिर स्वीकार्न तयार भएपछि विवाह गर्नुपर्छ।

बिस्तारै-बिस्तारै म उसका कुरामा हराउन थालें। जिन्दगीमा मैले खोजेको मान्छे यस्तै हो कि क्या हो जस्तो लाग्न थाल्यो। मनमा राखेको तिम्रो आकृतिको रङ उड्न लाग्यो।

मैले एकदिन उसलाई सोधें- आकाश, तिमी मेरो तक्दिर स्वीकार्न सक्छौ?

उसलाई यो प्रश्न सोध्नुअघि मैले तिम्राबारे धेरै पटक सोचेकी थिएँ।

‘अनि तिम्रो मिस्टर पत्रकार?’ उसले प्रतिप्रश्न गर्‍यो।

‘जसले मेरो विगत र वर्तमान स्वीकारेको छैन,’ मैले भनें, ‘मेरो तक्दिर स्वीकार्ने कुरा त सायद उसका लागि धेरै पर छ।’

‘तिमी सोचेर निर्णय गर। मलाई तिम्रा हर कुरा स्वीकार छन्,’ आकाशले भन्यो।

त्यसपछि मैले मेरो तक्दिर स्वीकार्न तयार मान्छेसँग सँगै बस्ने निर्णय गरें। मलाई लाग्छ, मैले गलत निर्णय गरिनँ।

एउटा कुरा भने अहिले पनि कहिलेकाहीँ सोच्छु- जुन दिन तिम्री आमाले मेरो निर्णय थाहा पाउनुहुनेछ, उहाँलाई पक्कै नराम्रो लाग्नेछ।

आज तिमीलाई अँगालो हालेर रोएको म आधा तिम्रा लागि हो, आधा तिम्री आमाका लागि हो। किनकी उहाँसँग यो जिन्दगीमा मेरो अब सायदै भेट होला। भेट भएछ भने पनि उहाँको मनमा मप्रति भएको विश्वास टुटिसकेको हुनेछ।

तिमीलाई दिएको बट्टामा मैले उहाँलाई सानो उपहार राखिदिएकी छु। दसैंमा घर जाँदा त्यो लगिदिनू। र मेरा तर्फबाट भनिदिनू- आमा, म तपाईंको माया यो जुनीभर कहिल्यै बिर्सने छैन।

तिमीप्रति पनि मेरो केही गुनासो छैन। तिमी जस्तो छौ, आफ्ना लागि ठिकै छौ जस्तो लाग्छ। एउटा सुझावचाहिँ छ- अहिलेसम्म मैले बुझेको कुरा भौंतारिएर जिन्दगीमा कहीँ पुगिन्न। जिन्दगीको अर्थ भौंतारिनुमा होइन, विधिमा बस्नुमा छ। तिमी पनि अब धेरै भौंतारिएर नहिँड, घरबार गर।

उसको इमेल पढेर मैले ल्यापटप बन्द गरें। रातको १२ बज्न लागेको थियो। कोठाभित्र साह्रै गर्मी भएजस्तो लाग्यो। छतमा गएँ। चकमन्न रातमा कहीँ टाढा भ्यागुताहरू कराइरहेको सुनिन्थ्यो। झर्नलाई तम्तयार बादलले आकाश भरिएको थियो।

मैले आभा लिम्बूको पर्खाइमा बिताएका सात वर्ष सम्झिएँ। हिसाब जान्ने केटीलाई सम्झिएँ। अनि आकाशतिर हेरेर भनें- ओ आभा लिम्बू, कसैकसैको तक्दिरमा त भौंतारिनु मात्रै लेखेको हुँदो रैछ! sorce : भानुभक्त/Setopati

यो पनि पढनुहोस्