Saturday, September 24, 2022

कुवेतमा न गरी खानु, न मरी जानु भयौं, बिन्ती छ सरकार ! हामीलाई घर फर्काइदेउ !


YOU MAY LIKE
MGID

दिपा आलेमगर

कुवेत सरकारले कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै यति बेला कुवेतमा वर्षौंदेखि अवैधरुपमा काम गर्दैै आइरहेका नेपाली नागरिकहरुलाई आम माफी दिएको छ । कुवेत सरकारले आममाफी दिए लगतै वर्षौंदेखि घर आउन नपाएका नेपाली नागरिकहरु खुशी समेत भए । त्यसपछि उनीहरु आफ्नो देश आउनकोलागि हातमा कागजात लिएर नेपाली दुतावास पुगे । नेपाली दुतावासले पनि उनीहरुलाई छिटै नै नेपाल जान पाउने भनेर आश्वासन दिएका थिए । तर आज आज भन्दा १९ दिन बितिसक्यो तर न त नेपाल सरकारले पीडित नेपाली नागरिकको घाउमा मल्हम लगाउन सके । न त आश्वासन दिएका नेपाली दुतावासले नै नेपाल पुराउन सफल भए । जसले गर्दा आज ४ हजारको हाराहारीमा रहेका नेपाली दिदी–बहिनी, दाजू–भाईहरु अन्यन्त दयनीय अवस्थामा कुवेतको एउटा बन्द कोठामा जीउन बिताउन बाध्य छन् ।

हो हिजोका दिनहरुमा पनि गरिवीका कारण आफ्ना मुनाहरुलाई छाडेर नेपाली मदनहरु विदेशमा जान बाध्य थिए । तर समयको अन्तरालपछि आज मदनहरु जस्तै नेपाली मुनाहरु पनि विदेश जान बाध्य भएका छन् कारण एउटै हो देशमा नेपाली नागरिकले चाहेजस्तो रोजगार सरकारले दिन सकेको छैन जसले गर्दा आज आफ्ना सपनाहरु पुरा गर्न, गरिवीबाट माथि उठ्न र आफ्ना परिवार र सन्तानको चाहना पुरा गर्न आज आफ्नो मातृभूमिलाई छाडेर विदेशी भूमिमा पसिना बगाउनु परेको छ तर यो बाध्यतालाई राज्यले आजसम्म समाधान गर्न सकेको छैन । जसले गर्दा आज लाखौं नेपाली मुनामदनहरु खाडी मुलुकमा आफ्नो उर्जाशील जीवन र परिश्रम खर्चिरहेका छन् ।

उनीहरु खाडीमा दुःख पीडा र यातना सहेर भएपनि आफ्ना सपनाहरु र सन्तानको भविष्य उज्वल बनाउन रातदिन पसिना बगाइरहेका छन् । कतिले अकालमा ज्यान गुमाइरहेका छन् तर सरकार आज पनि मौन छ । हिजो पनि मौन थियो । अब सरकारले यसरी मौन बसेर जनतालाई पीडा दिने काम गर्नु हुँदैन । तर समय हिजोको जस्तो आज छैन । हिजो जसोतसो काम गरेर भए पनि आफ्नो परिवार र सन्तानको सपनाहरु पुरा गरिरहेका थिए तर आज विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण काम गरेर खाने समय रहेन । जसले गर्दा आज विश्वका सबै देशहरुलाई आफू र आफ्नो जनतालाई कसरी बचाउने भनेर लागि परेका छन् तर विदेशी भूमिमा दुःख पाएर छटपटी रहेका नेपाली नागरिकको बारेमा आजसम्म सरकारले केही नबोल्नु भनेको यो देशमा सरकार भएर पनि ति निमुखा जनताकालागि सरकार नभएको आभाष भईरहेको छ ।

यति बेला पीडित नेपाली नागरिकहरु कुवेतकोे आर्दिया कुसुर र आदान लगायत विभिन्न ठाउँको विद्यालयको कोठा भित्र राखिएको छ । कुसुर भन्ने ठाउँमा मात्र १७ जना नेपाली चेलीहरुलाई एउटै कोठामा भेडाबाख्रा जस्तै गरी राखेका रहेछन् । उनीहरु समाजिक सञ्जाल मात्र प्रत्यक्ष लाइभमा आएर आफ्ना समस्याहरु यसरी राखेका थिए । उनीहरु रुँदै भन्छन् एउटै कोठामा भेडाबाख्रा जस्तै गरेर राखिएको छ । जसले गर्दा नेपाली दिदी–बहिनीहरु विरामी परेका छन् । उनीहरुको भनाई अनुसार २४ घण्टामा एकपटक मात्र बासी खाना दिने गरेको बताउँछन् ।

उनीहरुले काम गरेको मालिकको घरबाट नेपाल जाने भनेर दुतावासले ल्याइसकेपछि आज आएर उनीहरुलाई अलपत्र पारिएको पीडितहरु बताउँछन् । त्यति मात्र नभई दुतावासमा फोन गर्याे भने फोन नउठाने र फोन उठाई हाले पनि गलत सूचना दिइएको उनीहरुको भनाई छ । यस्तो नाजुक अवस्थामा हाम्रा नेपाली दिदी–बहिनीहरुले अर्काको देशमा दिन बिताउनु परेको छ । यो त कुवेतको एउटा ठाउँको दृश्य मात्र हो कुवेतका अन्य ठाउँहरुमा हाम्रा नेपाली दिदी–बहिनी र दाजूभाईहरु लगभग ४ हजारको हाराहारीमा रहेको उनीहरु बताउँछन् । जसले गर्दा यति बेला ती निमुखा नेपाली नागरीकले कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

स्याङ्जा चापाकोट नागरपालिका–६ का हरिबाबु रानामगर आफ्नो देशमा रोजगार नपाएर कुवेत पुगेका छन् । यति बेला उनी पनि कुवेतमै छन् । कुवेतमा यसरी नेपालीहरु अलपत्र परेर दुःख पाएको घटनालाई लिएर उनले यो लेखिकालाई खबर गरी सरकारसम्म पुरर्यादिने अनुरोध गरेका थिए जसका बावजुत यो लेखिका ती पीडित नेपाली दाजूभाई र दिदी–बहिनीहरुको समस्या बुझ्नको लागि केही समय कुराकानी गरी उनीको समस्यालाई सरकारसम्म पुराउन बाचा समेत गर्नु पर्याे । उनीहरु आफ्नो देशमा रोजगार नपाएपछि बाध्यताले अर्काको देशमा काम गर्न गएका थिए तर समयले साथ नदिएपछि आज आफ्नो देश फर्कन चाहन्छन् । तर नेपाल सरकारले आफूहरुलाई यो अवस्थामा समेत उद्धार नगरेकोमा गुनासो गरेका छन् । उनीहरु आफ्नो देश आउन चाहँदा चाहँदै पनि नेपाल सरकारले कुनै पनि चासो नदिदा उनीहरुको आत्मा रोइरहेको छ ।

कुवेतको अदान भन्ने ठाउँबाट रोप्पा घर भएका अमरबहादुर सेन भन्छन् ‘हामी दुःखमा छौं । हामीलाई बचाउनु होस् । हाम्रो ज्यान खतरामा छ । यदि नेपाल सरकारलाई आफ्नो जनताप्रति माया छ भने छिटो भन्दा छिटो उद्धार गरोस् होइन भने हाम्रो ज्यान जोखिममा छ ।’ सेन लगायत २ सयजना यति बेला कुवेतको अदान भन्ने ठाउँको विद्यालयमा कष्टकर अवस्थामा बसिरहेका छन् । जहाँ उनीहरुको ज्यान जोखिममा छ । कोरोना भाइरसको जोखिममा भएको उनीहरु बताउँछन् । सेनकै भनाई अनुसार कुवेतमा काम गर्ने अन्य देशहरु भारत, इजिप्ट, बंगलादेशका नागरिकहरुलाई उनीहरुको सरकारले आफ्नो देश लगि सक्यो तर नेपालको तर्फबाट हामी मात्र अहिलेसम्म यहाँ दुःख पाएर बस्नु परेको छ ।

एक पीडित महिला आफ्नो नाम नभन्ने सर्तमा बताउँछिन् हामीलाई यो ठाउँबाट छिटो उद्धार भएन भने हाम्रो ज्यान यही जानेछ । कि हामीलाई नेपाली होइन भन्नु पर्याे यदि हामी नेपाली हौं भने हामीलाई छिटो उद्धार गरी नेपाल आउने वातावरण सरकारले गरोस् । यो त एउटा पीडितको भनाई मात्र हो उनी जस्ता सयौं महिला पुरुषहरु आज सेकेण्ड सेकेण्डमा मरिरहेका छन् । यति मात्र होइन अझ त्यहाँ बस्दा शारीरिक र मानसिक हिंसा भएको बताउँछन् । हुँदा हुँदा जनावर समेत भनेर बोलाउने गरेको उनीहरुको भनाई छ । आज नेपाली जनताको अवस्था खाडी मुलुकमा यस्तो हुँदा समेत नेपाल सरकारले किन चासो दिएको छैन ? भनेर आम नेपाली जनताहरु सोँच्न बाध्य छन् ।

राज्य के को लागि हो भनेर आज पीडित जनता राज्यलाई प्रश्न गरिरहेका छन् ? आज १८–१९ दिन हुँदा समेत सरकार यस विषयमा मौन बस्नुको कारण के हो ? किन सरकारले उनीहरुलाई उद्धार गर्न सकेको छैन आज चिन्ता र चाँसोको विषय बनेको छ । कुवेतको आदान भन्ने स्कुलमा बसेका कुमार लिम्बुले आफूलाई तत्काल सरकारले नेपाल आउने वातावरण बनाई दिनुपर्ने माग राखेका छन् । उनले भने नेपालमा आईसकेपछि हामी आफ्नै पैसाले क्वारेन्टाइनमा बस्ने छौं, यदि सरकारले हाम्रो लागि लगानी लगाउन सक्दैन भने । हामी नेपालमा आइसकेपछि क्वारेन्टाइनमा बसेर सुरक्षित साथ घर जानेछौं ।

आज कुवेतमा आम माफी पाई सकेका ४ हजारको हाराहारीमा रहेका नेपाली नागरिरु घर न घाटका भएर बसिरहेका छन् । तर यो विषय न त सरकार गम्भीर छ न त कुनै राजनीतिक दलहरु नै यो विषयमा खोब गरेका छन् । न त मानवअधिकारकर्मी नै यो विषयलाई गम्भीर रुपमा लिएको छ । चुनावको समयमा मात्र ती जनताहरुलाई प्रयोग गरेर आज सत्तामा पुगका नेताहरु समेत कानमा तेल हालेर बसेका छन् । त्यस्तै अर्का पीडित महिला रुँदै आफ्नो समस्याहरु यसरी राख्छन्, हामीले सरकारले सधैं भरी सहयोग गर भनेका छैनौं, हामी आफै काम गरेर खान सक्छौं तर दुःखले विदेश आएका हौं, आफ्ना सन्तानको शिक्षाकोलागि विदेश पस्नु परेको उनको भनाई छ ।

उनले रोष प्रकट गर्दै सरकार लगायत राजनीतिक दलहरु तथा महिलावादीलाई पनि यति बेला कडा जवाफ दिएकीछिन् । नेताहरु चुनावको बेला घरघर आएर भोट मागेर गए । आज हामीलाई दुःख पर्दा यो पदेशी भूमिमा हाम्रो सास घिटीघिटी हुँदा समेत हाम्रो लागि कुनै साँचो चिन्ता नलिनु आफैलाई दुःख लगाउको उनी बताउँछिन् । उनले यदि हाम्रो जिउँदो अनुहार हेर्ने हो भने सरकारले तत्काल हामीलाई उद्धार गरेर नेपाल आउने ढोका खोलिदियोस् भनेर अनुरोध समेत गरेकी छिन् । राज्यले अब पनि ती पीडित निमुखा नेपाली जनताहरुलाई उद्धार गर्न ढिलाई गर्याे भने सायद ठूलै दुर्घटना हुनेछ ।

किन कि कुवेत सरकारले समेत ती पीडित नेपाली नागरिकलाई आफ्नो देशसम्म जानकोलागि हवाई टिकट समेत व्यर्होने प्रतिवद्धता गर्दा पनि नेपाल सरकार आफ्नो जनतालाई उद्धार गर्न नसक्नु लाजमर्दो कुरा हो । आज ती निमुखा जनताहरु राज्यलाई प्रश्न गरिरहेका छन् । राज्य कसकालागि हो भनेर ? कि आफूलाई नेपाली जनता होइन भन्नु पर्याे यदि हो भने दुःखमा पर्दा किन हाम्रो उद्धार भएको छैन भनेर बारम्बार विदेशी खाडी मुलकबाट उनीहरु रोईकारई रहेका छन् । यसरी रोईकराई गर्दा पनि नेपाल सरकार मौन हुनुको कारण के हो ? यसको जवाफ सरकारले तत्काल दिनु पर्छ । कि ती जनताहरुलाई विदेशमा काम गरेर खाने व्यवस्था मिलाउन सक्नु परयो किन उनीहरुलाई सुरक्षित ढंग नेपाल ल्याउने व्यवस्था गर्नु पर्याे । ती जनताहरुको उद्धारमा सरकार कदापि पछि हटनु हुँदैन । उनीहरुकोलागि के गर्ने हो सरकारले तत्काल जवाफ दिनुपर्छ ।

किन कि आफ्नो देशको जनतालाई सुरक्षा गर्नु राज्यको दायित्व हो कर्तब्य हो । उनीहरुलाई तत्काल उद्धार गरी नेपालमा ल्याई सकेपछि कहाँ कसरी राख्ने हो त्यो पनि राज्यले गम्भीर भएर सोच्नुपर्छ । र कुवेतको घटनाबाट पनि राज्यले पाठ सिक्नुपर्छ कि अब नेपाली मुना–मदनहरुलाई खाडीतिर पठाउने होइन कि आफ्नै देशमा आत्मनिर्भर बनाई देश र जनताको उभो लगाउने काम तिर लाग्नुपर्छ । त्यसको साथै नेपाली जनताहरुले पनि आफ्नै नेपाल आमालाई माया गरेर आफ्नो देशको विकास गर्न पछि पर्नु हुँदैन । आफ्नै देशमा दालभात र अचार खाएर भएपनि आफ्नै मातृभूमिको सेवामा आफूहरुलाई समर्पित गर्नु सक्नुपर्छ ।

यो पनि पढनुहोस्