Tuesday, August 9, 2022

आठ वर्षपछि फेरि छुकछुके रेल


YOU MAY LIKE
MGID

जनकपुर — जनकपुर–जयनगर रेलसेवा बन्द हुनुअघि रेल्वे स्टेशन गुलजार थियो । स्टेशनभित्रै साहित्यदेखि अध्यात्म्यसम्मका पुस्तक पाइने राजेन्द्र गुप्ताको ‘गुप्ता बुक स्टल’ थियो । परिसरमै दर्जनौं फलफूल र चिया नास्ताका पसल थिए अनि दर्जनौं रिक्सा चालक र यात्रुको हल्लाखल्ला हुन्थ्यो ।

स्टेशनदेखि भानुचौकसम्मका पसलहरुमा ग्राहकको घुइँचो हुन्थ्यो । अनि जनकपुर बाजारको रौनक नै बेग्लै थियो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भंगहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भयो ।

रेल्वेको जग्गामा संचालित पसलहरु खाली गराइए । रिक्सा स्टेण्ड हटाइयो । रेल नै नचलेपछि दैनिक मजदुरी गरेर जीवनयापन गर्ने सयौं कामदार बेरोजगार भए । स्टेशनबाहिरका दर्जनौं पसलेले पेशा नै परिवर्तन गरे वा पसल अन्यत्र सारे । जनकपुर बजार लगभग सुक्यो ।

विगत आठ वर्षदेखि दुःख सहेर बसेका व्यावसायीहरुको अनुहारमा शनिबार अचानक उमंग र रौनक छाएको छ । दैनिक मजदुरी गर्नेहरू खुसी देखिएका छन् । शनिबार भए पनि स्टेशनदेखि भानुचौकसम्मका प्राय: सम्पूर्ण पसल खुला नै छन्। जनकपुरका व्यवसायीहरु उत्साही देखिएका छन्। ‘ अब जनकपुर बाजारमा फेरि रौनक फर्किने छ’ व्यावसायीहरु भन्दै थिए ।

लामो समयदेखि रेल बन्द हुँदा र कोरोना महामारीका कारण आर्थिक रुपले टाट पल्टिसकेका पान पसले बच्चु राय कुर्मी शनिबार औधी खुसी देखिए । रेल सेवा बन्द भएयता उनीमाथि आठ लाख ऋण थपिसकेको रहेछ । कान्तिपुरसँगको भेटमा उनले भने ‘ कति जनाले त अन्त पसल सार्ने सल्लाह पनि दिए तर फेरि रेल सञ्चालन भएपछि दिन फिर्ला भनेर यहीँ बसें । आशा गरौं रेल चलेपछि राम्रो हुन्छ ।’

रेल सेवा बन्द भएपछि नास्ता पसले हरि गुप्ता, जनता केविनका संचालक हरि मण्डल, चिया पसले गुडु साह, फलफूल विक्रेता लक्ष्मण साह, माछा पसले संजय प्रधानलगायत दर्जनौं व्यावसायी यहाँबाट विस्तापित भइसकेका छन् । तीमध्ये केहीले पेशा नै परिवर्तन गरेका छन् भने केही विदेश गएका छन् ।

पसलमा ग्राहक आउन छाडेपछि स्टेशन एरियाकै एक चर्चित नास्ता पसलका संचालक बेचन साह आफ्ना दुईमध्ये एक छोरालाई विदेश पठाएका थिए । रेल फेरि संचालन हुने पक्का भएपछि उनले विदेशबाट छोरालाई फिर्ता बोलाउँदै छन् । कान्तिपुरसँगको उनले भने ‘ रेल चलेपछि ग्राहक बढ्छन् त्यसैले यतै व्यापार गर्न छोरालाई बोलाएको छु । आफ्नै देशमा रोजगारी पाएपछि विदेश किन जानु ?’

नेपाल रेल्वे कम्पनीले सार्वजनिक गरेको समय तालिका अनुसार दैनिक दुई वटा अप र दुई डाउन रेल सेवा संचालन हुने छ । एक पटकमा १ हजार ३ सय यात्रु बोक्ने क्षमता भएको रेल मार्फत दैनिक ५ हजार भन्दा धेरै यात्री जनकपुर आउने छन् ।

यात्रुको बढ्दो चहलपहलले उद्योग व्यावसायमा लाभ हुने विश्वास जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको छ । यात्रुसँगै सामान पनि ढुवानी गर्नुपर्ने उनको माग छ । अध्यक्ष महासेठ भन्छन् ‘दक्षिण भारतबाट ट्रकमा चामल आयात गर्दा प्रतिकिलो १६ रुपैयाँ ढुवानी खर्च लाग्छ तर रेल मार्गबाट ल्याउँदा प्रतिकिलो ५ वा ६ रुपैयाँ मात्र पर्छ ।’

तर आइतबारदेखि विधिवत संचालन हुने जयनगर–जनकपुर–कुर्था रेलमा मालसामान ढुवानी गर्ने सुविधा भने छैन । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष महासेठ यात्रीसँगै मालसामान ढुवानी गर्ने बोगीसमेत थप्न माग गरेका छन् । ‘मालसामानको ढुवानी सुविधा भयो भन्ने व्यावसायीहरुलाई अझ बढी फाइदा हुन्छ’ महासेठ भन्छन् ।

१९९४ सालमा महोत्तरी जंगलबाट साखुको गोलिया काठ ओसार्न भारतले निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर (५२किलोमिटर) सम्म संचालनमा थियो । तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर)मा सिमित हुन पुग्यो । भारतको सहयोगमा रेल विस्तार तथा स्तरोन्नति परियोजना पहिलो चरणमा जयनगर–कुर्था रेलसेवाको उद्घाटन शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गरेका हुन् ।

रेलसेवा पूर्व—पश्चिम राजमार्गमा पर्ने बर्दीवाससम्म (६९ किलोमिटर ) विस्तार गर्ने योजना छ । सन् २०१० मा नेपाल–भारतबीच भएको समझौता अनुसार सन् २०१९ सम्म योजना सम्पन्न भइसक्नु पर्ने थियो ।

रेल हेर्न स्थानीयहरूको भीड – ८ वर्ष २ महिनापछि विधिवत रेल संचालन भएको आफ्नै आँखाले हेर्न हजारौं सर्वसाधारण शनिबार बिहानैदेखि जनकपुर रेल्वे स्टेशनमा भेला भएका थिए । नेपाल रेल्वे कम्पनीले आयोजन गरेको औपचारिक कार्यक्रममा सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिएको छ ।

प्रचण्ड गर्मीका बावजुद स्कुले छात्र-छात्रा घण्टौं लाइनमा उभिएर पाहुनाको स्वागत गर्न रेल्वे स्टेशनमा आएका थिए । सर्वसाधारणको भीड व्यवस्थापन गर्न जनपद र सशस्त्र प्रहरीलाई हम्मे परेको थियो ।

अपराह्न पौने तीन बजे पाहुनासहितको रेल जनकपुर रेल्वे स्टेशन पुग्दा सर्वसाधारणले जयघोष गरेर पाहुनाहरुलाई स्वागत गरेका थिए । उद्घाटन रेलमा बसेर मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्री रेणुकुमारी यादव, जनकपुरधाम उपमहानगर पालिकाका मेयर लालकिशोर साहसहितका विशिष्ठ व्यक्तिहरूले कुर्थासम्मको यात्रा गरेका थिए ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार आइतबारदेखि यात्रुसहितको रेल सेवा संचालन हुनेछ । हाललाई अप र डाउन गरी दिनको चार सेवा संचालन गरिने छ । जसमा दैनिक ५ हजार जनाले यात्रा गर्नेछन् ।

यो पनि पढनुहोस्