Saturday, October 1, 2022

लाखौं नेपालीको पक्षमा उभियो कांग्रेस, विश्वप्रकाश शर्माले राखे यस्तो तर्क !


YOU MAY LIKE
MGID

काठमाडौं – कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेस विदेशमा अलपत्र परेका लाखौं नेपाली जनताको पक्षमा उभिएको छ ।

कांग्रेसले विदेशमा अलपत्र र अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउन कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आग्रह गरेको छ ।

विदेशमा अप्ठ्यारोमा परेका श्रमिक, पढाइ बन्द भएर बसेका विद्यार्थी, तीर्थयात्रा बन्द भएर अलपत्र परेका नागरिक, आफन्त भेट्न जाँदा रोकिएका नागरिकलाई सरकारले उद्धार गर्नुपर्ने नेपाली कांग्रेस पार्टीको स्पष्ट धारणा प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक गरेका छन् ।

बुधवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई समेत स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् । कांग्रेसले कोरोना संक्रमणको परीक्षण, संक्रमितको कन्ट्याक ट्रेसिङ र उपचार प्रभावकारी बनाउन समेत सरकारलाई सुझाव दिएको छ ।

सरकारले कोरोना भाइरस संक्रमण परीक्षण गर्न देशभर प्रयोगशाला विस्तार गर्नु सकारात्मक भएको तर स्वास्थ्य सामग्रीको आयात अपारदर्शी र ढिलो भएको प्रवक्ता शर्माले बताएका छन् ।

नेपाली कांग्रेसले सुरक्षाकर्मी र पत्रकारको कोरोना संक्रमण परीक्षण गर्न पनि माग गरेको छ । कोरोना नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी र समाचार संकलन गर्ने पत्रकारको कोरोना परीक्षण गर्नुपर्ने शर्माले बताएका छन् ।

‘सुरक्षाकर्मी र पत्रकारमा पनि एकैदिन संक्रमण देखिएको छ । उहाँहरूको परीक्षणलाई व्यवस्थित गर्न अपिल गर्न चाहन्छौं,’ शर्माले भने, ‘उहाँहरूलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न पनि अपिल गर्न चाहन्छौं ।’

उनले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट विधिबाट गरिने कोरोना एन्टीबडी परीक्षणमा शंका उत्पन्न भएकाले त्यसलाई रोक्न समेत माग गरेका छन् । सरकारको विपद् व्यवस्थापन कोषमा पहिले नै डेढ अर्ब रुपैयाँभन्दा बढी रकम रहेको र अहिले कोरोना रोकथाम कोषमा ३ अर्ब रुपैयाँ जम्मा भइसकेको भन्दै प्रवक्ता शर्माले त्यसलाई स्थानीय तहमार्फत राहतमा प्रयोग गर्न सुझाव दिएका छन् ।

शर्माले बेरोजगार र विद्यार्थीलाई राहत उपलब्ध गराउन आग्रह गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण व्यवसायी समेत संकटमा परेका भन्दै कांग्रेसले बैंक ब्याजदर घटाउन वा मिनाहा गर्ने सहुलियत दिन पनि माग गरेको छ ।

यो पनि पढनुहोस्