यस्तो थियो श्रीमानको अन्तिम उपहार ! (एकपटक अवश्य पढ्नुहोला)

सीमालाई सबैले आदर्श पत्नीको उपमा दिएका थिए। उसले त्यो उपमा सित्तैमा पाएकी भने होइन, एक पत्नीको रूपमा ऊ साँच्चिकै आदर्श नै थिई। तर आफ्नो श्रीमानको आदर्शताको अगाडि उसको आदर्श फिका पर्थ्यो। हो, उसका श्रीमान आदर्शतामा ऊ भन्दा एक कदम अगाडि थिएँ भन्ने उसलाई लाग्थ्यो।

त्यस्तो आदर्श श्रीमान पाएकोमा सीमाले आफूलाई निकै भाग्यमानी ठानेकी थिई र उनीप्रति गर्व पनि गर्थी। उसले आफ्नो श्रीमानप्रति जति गर्व गर्थी सायद त्योभन्दा बढी डाह उनलाई देखेर सीमाका साथीहरूले गर्थे।

उसका श्रीमान थिए नै डाह गर्नका लायकका। सुन्दरता, पौरषता, नैतिकता,धन, विद्या र शिल स्वभाव सबैमा उनी निकै अब्बल थिए। सीमाले सोचेकी थिइनँ कि ऊ जस्ती सामान्य महिलालाई त्यति आदर्श पति प्राप्त होला भनेर।

सायद पूर्वजन्ममा उसले ठूलै धर्म गरेकी हुनुपर्छ भनेर उसका वरपरका मान्छेहरूले भन्ने गर्थे। अर्थात् सीमाले पतिको रूपमा आफ्नो सपनाको राजकुमार नै पाएकी थिई। बिहेको सुरू सुरूमा मात्र लोग्ने मान्छेले प्रेम देखाएको जस्तो गर्छन् पछिपछि वास्ता गर्दैनन् भन्ने अधिकांश महिलाहरूको गुनासो हुन्छ, तर सीमाको सन्दर्भमा त्यो पनि सही निस्केन।

उसका पतिले उसलाई सधैं नै उत्तिकै माया र इज्जत गरिरहे, जति बिहेको सुरूका दिनहरूमा गर्थे। उनको प्रेममा सीमाले कहिले पनि कमी भएको महसुस गर्न पाइनँ, न त उनको प्रेममा बनावटीपन या अन्य कुनै असामान्य प्रवृत्ति नै उसले देखी।

उनको जागिर पनि निकै राम्रो थियो। उनी भन्थे कि त्यो जागिरको कमाइमा सीमाको आधाभन्दा धेरै भाग छ। सीमाको जागिर भनेको घर परिवार सम्हाल्नु थियो र उनले सीमाको जागिर आफ्नो जागिरभन्दा कठिन र महत्वपूर्ण भएको उसलाई भन्थे।

त्यही कारणले गर्दा उनको कमाइमा उनको भन्दा सीमाको धेरै हक छ भन्ने अनुभूति दिलाएर उसलाई फुर्काउँथे। लोग्नेको त्यही बानीले सीमालाई कहिले पनि आफूले जागिर खान नपाएको अनि अरूले कमाएको पैसामा आफू बाँच्नु परेको अनुभूति भएन र उसलाई कहिले पनि श्रीमानको अगाडि र समाजको अगाडि पनि हिनताबोध र लघुताभाष भएन।

उनीहरूको बीचमा कहिले पनि ठूलो झगडा परेन। सानोतिनो झगडा भए पनि उनले नै सीमालाई फकाई फुल्याई झगडा साम्य पार्थे। सीमाले पनि परिवार निकै राम्ररी सम्हालेर राखेकी थिई।

छोराछोरीको स्याहारसुसार, खानपिन, बानीबेहोरामा उसले कहिले पनि कुनै कसर बाँकी राखेकी थिइन। प्रेमले मान्छेलाई थप ऊर्जा दिने रहेछ, उसको श्रीमानको प्रेमले सीमालाई उनीहरूको घरको देखसम्भाल गर्नमा थप ऊर्जा दिएको थियो। समाजको नजरमा उनीहरू आदर्श पतिपत्नी मात्र हैन आदर्श परिवार पनि थिए।

जागिरको सिलसिलामा उसको श्रीमानलाई पटक(पटक विदेश गइराख्नु पर्थ्यो। हुन त सीमा कहिले पनि उनको साथ लागेर विदेश जान पाइन, तर उनी विदेश जाँदा ऊ आफू नै जान लागेको जस्तो गरी खुसी हुन्थी। कहिले हङकङ, कहिले जापान, कहिले अमेरिका, कहिले युरोप, कहिले सिङ्गापुर, कहिले भारत अनि कहिले थाइल्यान्ड।

कामको सिलसिललामा उनले नघुमेका देशहरू कमै थिए। विदेशबाट फर्केर आउँदा उनले हरेक ठाउँको विवरण सीमालाई कथा सुनाए झैं सुनाउँथे। उसलाई पनि श्रीमानले सुनाएको विवरण सुन्न निकै मन पर्थ्यो। उनले कथा भनेजस्तै ती स्थानहरूको वर्णन गर्दा सीमा छ वर्षे बालक आफ्नी आमाको काखमा लपेटिएर कथा सुनेजस्तै गरी सुनेर मन्त्र मुग्ध हुन्थी र आफू नै त्यहीँ पुगें कि जस्तो उसलाई भान हुन्थ्यो।

त्यति मात्र हैन, हरेक पटक विदेश जाँदा उनले श्रीमतीको लागि भनेर ती ठाउँका सुन्दर उपहारहरू ल्याइदिन्थे। हङकङको सुन, भारतका सारी र सुरूवाल कुर्ताहरू, सिङ्गापुरका जुत्ता, युरोपका विभिन्न थरी चकलेटहरू, अमेरिकाबाट जिन्सका प्यान्टहरू, थाइल्याण्डबाट भेस्टहरूले सीमाको दराज भरिएको थियो।

श्रीमानले प्रेमले ल्याएका सामानहरू उसको लागि निकै मूल्यवान थिए। सीमाले कसैलाई पनि ती सामानहरू दिँदैनथी, उसका श्रीमानले पनि अरूलाई ती सामान दिएको मन पराउँदैनथे। ती उपहारहरू खाली सीमाका लागि थिए, सिर्फ उसका लागि।

घरभरि सजिएका उनले ल्याएका उपहारहरू हेर्दा सीमाको उनी प्रतिको प्रेम र समर्पण झन् उर्लेर आउँथ्यो। प्रेम त उनीहरू दुईमा थियो नै, उसका श्रीमान निकै विश्वासिला पनि थिए। सीमालाई थाहा थियो ऊसँग उनले कुनै पनि कुरा लुकाउँदैनथे। त्यसो त सीमाले उनलाई प्रश्न सोध्न आवश्यक नै हुँदैनथ्यो।

पारिवारिक कुरो होस् या अफिसको कुरो होस् उनीहरूको परिवार र उनलाई व्यक्तिगत रूपमा असर गर्ने कुरामा श्रीमानले सीमालाई नसोधी कहिले पनि निर्णय गर्दैनथे। उनीसँगै हुँदा सीमालाई उनले कहिले पनि एक्लोपनको महसुस हुन दिएनन्।

त्यति सर्वगुण सम्पन्न पुरूषलाई अरू महिलाले आफूबाट चोरेर लग्लान् कि भन्ने कताकता डर उसलाई लागि रहन्थ्यो। त्यो स्वभाविक पनि थियो। पुरूषहरू सुन्दर महिला देखेपछि आकर्षित नहुने र त्यो जालमा नपर्ने सायद विरलै हुन्छन् होला। तर उसका पति तिनै विरलैमध्येका थिए भन्नेमा ऊ ढुक्क थिई।

उनी सीमाका महिला साथीहरूसँग राम्रोसँग गफ गर्न पनि लजाउँथे। उनीहरूलाई सिधा नजरले पनि हेर्दैनथे। त्यसैले आफूबाहेक परस्त्रीमा उनले नजर लगाउलान् भन्ने कुर सीमाले सोच्नै सक्दैनथी, र त्यसमा पनि उसलाई डर लाग्न छोडेको थियो।

‘आफू नै उनको जीवन हुँ, उनको प्रेम मबाट सुरू भएर ममा नै अन्त्य हुन्छ’ जस्तो लाग्थ्यो उसलाई। उसले आफ्नो तन र मन दुवै उनलाई सुम्पेकी थिई। अनि उनी पनि उसको शरीरका कोमल र सुन्दर अङ्गहरूसँग खेल्न पाउँदा निकै रमाउँथे। महिलाहरू स्वभावैले यस्तै हुन्छन्( कसैले उनीहरूलाई अलिकति मात्र पनि प्रेम दिन्छ भने उनीहरूले उसलाई त्यो भन्दा धेरै प्रेम फिर्ता दिन्छन्।

उसका पतिले त उसलाई पूरै प्रेम दिएका थिए, त्यसैले उसले आफ्नो पतिलाई दोब्बर प्रेम दिएकी थिई, पूर्णरूपमा आफूलाई उनीप्रति समर्पित गरेकी थिई। त्यसमा उसलाई खुसी पनि थियो र सुख पनि थियो( शारीरिक र मानसिक दुवै सुख।

आफूलाई प्राणभन्दा पनि प्यारो लाग्ने मान्छेलाई शरीर त के जीवन नै सुम्पिनु परे पनि सीमा तयार थिई, त्यसैले उसलाई त्यसमा कुनै सिकायत थिएन। उनीहरूको आदर्श परिवार देखेर डाह गर्नेहरूले सीमालाई उसको पतिको चरित्रको बारेमा कहिलेकाहीँ चुक्ली पनि हाल्थे।

देख्दा आदर्श देखिए पनि खासमा उनी त्यस्तो नभएको भनेर उसलाई भ्रममा पार्न खोज्थे तर ती सबै चुक्लीहरूलाई उसले एक कानले सुनेर अर्को कानले उडाइदिन्थी।

उसलाई आफ्नो श्रीमानप्रति पूर्ण विश्वास र भरोसा थियो त्यसैले त्यस्ता नकारात्मक कुरामा फसेर आफ्नो सुन्दर दाम्पत्य जीवनमा उसले आँच आउन दिने कुनै पनि चुक्लीलाई वास्ता गरिन।

तर एक दिन उनीहरूको त्यो प्रेममा कसैको आँखा लाग्यो। उसका श्रीमान अफिसको काममा सिङ्गापुर गएका थिए। उसले सिङ्गापुरबाट आफ्नो लागि सुनको बाला ल्याउन भनेकी थिई। पत्नीको लागि उपहार ल्याउन पाउँदा उनी पनि खुसी नहुने कुरै भएन।

उनको लागि पैसाभन्दा सीमाको खुसी लाखौं गुणा महत्वपूर्ण थियो। सीमाले आफ्नो रोजाइको डिजाइन समेत बुझाएर पठाएकी थिई। सिङ्गापुर गएको तेस्रो दिनमै उनी अलि बिरामी परे। अलि गाह्रो भएपछि त्यही दिन साँझ अस्पताल गएर चेक गराएका थिए। चेक गराएर आए पछि भिडिओमा कुरा गर्दा उनको मुहार अलि चिन्तित देखिन्थ्यो।

सीमाले सम्झाउन प्रयत्न गर्दा पनि उनी निराश नै देखिएका थिए। कामको धपेडी अनि शरीर पनि अलि बुढो हुन थालेकोले सामान्य बिरामी पर्नु सीमालाई त्यो बेला कुनै ठूलो कुरा लागेको थिएन। के भएको भनेर उनले भनेनन्। कहिले पनि केही कुरो नलुकाउने उनले कुरो लुकाएको जस्तो देखेपछि सीमालाई पनि कताकता शंका र डर लागेको थियो तर त्यो दिन त्यत्तिकै बित्यो।

दोस्रो दिन बिहानै उसले फोन गरी। ज्वरो थामिएको थिएन अनि त्यो दिन उनले अफिस नजाने कुरो गरेका थिए। ‘अफिस नजाने भएपछि बरु मेरो लागि बाला किनि दिन जाऊ न त’ भनेर सीमाले भनेकी थिई। उनले बाला पहिले नै किनेर ल्याइसकेका रहेछन्।

सीमालाई देखाए र मलिन अनुहारमा फिस्स हाँसे। तर फोनमा सुनेको श्रीमानको त्यही बोली नै सीमाले सुन्ने अन्तिम बोली होला भन्ने उसलाईलाई के थाहारु त्यही फिस्स हाँसो नै उनको अन्तिम हाँसो होला भन्ने उसलाई के थाहारु अनि तिनै बालाहरू नै उनले आफूलाई दिने अन्तिम उपहार होलान् भन्ने पनि उसलाई के थाहारु तर ती सबै अन्तिम नै थिए। त्यही दिन दिउँसो नै परिवारदेखि र आफ्नो मातृभूमि टाढा उनले एक्लै संसार छोडे।

सीमाले जति फोन गर्दा पनि नउठेपछि उनको अफिसको माध्यमबाट त्यही दिन साँझतिर उनीहरूको घरको जग नै हल्लाउने उनको मृत्युको समाचारको पुष्टि भयो।

सीमाको संसार एकाएक अन्धकार भयो, पैतला मुनिको धर्ती फेरि भासियो, उसको शिरमाथि आकाश खस्यो। बिहानमात्रै भिडिओमा कुरा गरेको लोग्नेको निधनको समाचार साँझ पाउँदा उसले विश्वास नै गर्न सकेकी थिइन। तर त्यो सपना थिएन, क्रूर विपना थियो।

सत्यले त्यति ठूलो बज्रपात गर्ने थाहा भएको भए सायद ऊ सधैं असत्यमै रामउन चाहन्थी होली। तर सधैं सत्यको वकालत गर्दा गर्दै श्रीमानको मृत्युको सत्यले उसको जीवन उजाड पार्‍यो।

उनले आत्महत्या गरेको भनियो तर त्यो बेला कसैलाई केही थाहा भएन उनले किन आत्महत्या गरे भनेर। विदेशको कुरो पर्‍यो उनीहरूले चाहेर पनि धेरै कुरा थाहा पाउन सकेनन्। उनले आत्महत्या गर्नुको कुनै कारण उनीहरूले देखेका थिएनन्, उनले कुनै सुसाइड नोट पनि छोडेका थिएनन् त्यसैले कसैले षडयन्त्र गरेर मारेको हुन सक्ने अड्कल गरे तर मुद्दा लड्न र सबै कुरा पत्ता लगाउन उनीहरूसँग सामर्थ्य थिएन।

उसको श्रीमानको कम्पनीले उनलाई मनग्गे पैसा दिएर मुखमा बुझो लगाइदियो। मुद्दा लडेर पनि गैसकेको मान्छे फर्केर आउने हैन भनेर उनीहरूले चित्त बुझाए। उनको शव ल्याएर अन्तिम संसकार गरियो। सीमाका हातका राता चुराहरू फुटे र श्रीमानले किनिदिएका सुनका बाला उसको हातलाई र मुटुलाई दर्द दिँदै हातमा पसे।

सीमाको रंगीन दुनियाँ एकाएक श्याम(स्वेत बन्यो, उसको सुन्दरताको तारिफ गर्ने आवाजहरू बन्द भए, उसको प्रेममा लठ्ठ पर्ने आत्मा परमात्मामा विलय भयो, उसको लागि देश(विदेशमा उपहार किन्ने श्रीमान सधैंको लागि उसको स्मृतिमा मात्र सीमित भए।

हातमा लगाएका तिनै सुनका बालाहरू नै उसको लागि श्रीमानले ल्याएका अन्तिम उपहार बने। जसरी चोट लाग्छ, त्यसरी नै चोट निको पनि हुँदो रहेछ। समयका रेखाहरू जीवनबाट एक एक गर्दै उप्किएर खसे जस्तै चोटका घाउका खाटाहरू पनि तिनै समयका रेखाहरू सँगै उप्किँदै जाँदा रहेछन्।

कुनै दिन उनी बिनाको एक्लो जीवन कल्पना पनि गर्न नसक्ने सीमा केही महिनामै वास्तविकतालाई स्वीकारेर छोराछोरीहरूसँग रमाउन थालेकी थिई। उनी फर्केर आउने छैनन् भन्ने तथ्यलाई स्वीकार गरिसकेपछि सायद मनले पनि त्यतातिरको आसक्तीलाई छोडिदिने रहेछ, ऊ पनि आफ्नो नयाँ दिनचर्यामा विस्तारै भिज्दै गई।

आफू श्रीमानबिना पनि बाँच्न सक्ने रहेछु भनेर ऊ आफैंलाई अचम्म लाग्यो। श्रीमानले वर्षौंदेखि देश विदेशबाट उसको लागि ल्याएका तिनै उपहारहरू उनको अनुपस्थितिमा उसका सहारा बाने। तिनैलाई हेरेर उसले आफ्नो बाँकी जीवन बिताउन थाली।

केही वर्षमै श्रीमानको स्मृति सीमाको मष्तिष्कबाट मधुरो हुँदै गएको थियो। आफ्नै नयाँ संसार थियो। शरीर पनि उमेरसँगै अलि कमजोर हुन थालेको थियो, बिरामी पनि छिटो छिटो भेट गर्न आउँथ्यो। त्यसै दौरान एकदिन उसको पाठेघरमा समस्या देखियो।

अपरेसन गर्नुपर्ने भयो। सबै तयारी भयो। अपरेसनको लागि सबै जाँच गरियो। तर रगतको जाँचको रिपोर्टले सीमाको धर्ती फेरि भासियो। उसलाई एड्स लागेको रहेछ। वर्षौंसम्म ऊ एड्सका जीवाणुहरू आफ्नो शरीरमा पालेर बाँचेकी रहिछ।

एड्स भन्ने बित्तिकै उसले तुरून्तै झलझली आफ्नो दिवंगत श्रीमानलाई सम्झी, उनले आफ्नो शरीरमा खेलेका खेलहरू सम्झी, उनका विदेश भ्रमणहरू सम्झी, अरूहरूले उनको बारेमा लगाएका चुक्लीहरू सम्झी अनि उनीप्रतिको आफ्नो अन्धो विश्वासलाई सम्झी र आफैंलाई धिक्कारी।

उसको एड्सको स्रोत कहाँ थियो भन्ने उसलाई तुरून्तै थाहा भैहाल्यो। अनि श्रीमानले किन आत्महत्या गरे भन्ने पनि उसलाई छर्लङ्ग भयो। उसले कोठाभरि र दराजभरि सजिएका श्रीमानले दिएका उपहारहरू सम्झी।

अनि उनले दिएको अन्तिम उपहार हातमा लगाएका सुनका बालाहरू एक पटक हेरी। उसलाई लागेको थियो ती सुनका बालाहरू नै उनको अन्तिम उपहार थियो भन्ने, तर हैन रहेछ, उनको अन्तिम उपहार त बाँकी नै रहेछ।

श्रीमानले पहिले उसलाई दिएका ती सबै उपहारहरू त केही रहेनछन् किनभने उनले उसलाई दिएको सबभन्दा ठूलो र अन्तिम उपहार त उसले हातमा पकडिरहेको रिपोर्टमा थियो। खबर सम्पूर्ण बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here