Tuesday, September 27, 2022

जुत्ता सिलाउँछन् पुर्व जनप्रतिनिधि


YOU MAY LIKE
MGID

प्यूठान । प्यूठान नगरपालिका ७ विजुवार पूण्यखोला निवासी ५७ वर्षिय धन बहादुर नेपालीले ०५४ सालको स्थानीय निकाय निर्वाचनमा चुनाव जिते । आफ्नै भाइलाई पराजय गराएर उनले साविक विजुवार गाविस वडा नम्वर ३ को वडा अध्यक्ष पदमा चुनाव जितेका हुन् । नेपाली कांग्रेसबाट उमेदरवार बनेका उनले एमालेबाट प्रतिद्धन्द्धी बनेका भाई नविन नेपालीलाई एक सय ४० मतको अन्तरले पछिपार्दै वडा अध्यक्ष पदमा निर्र्वाचित भए ।

समयले कोल्टो फे¥यो तर नेपालीको दिनचर्या उस्तै छ । ऊ बेला पनि उनी गाउँमै जुत्ता सिलाएर जिविका चलाउँथे । अहिले पनि यही पेशालाई निरन्तरता दिएर उनले घरपरिवार धानेका छन् । वडा अध्यक्ष हुँदा पनि उनले पेशालाई रोकेनन् । पुर्खाहरुले नै जुत्ता, चप्पल सिलाउने काम गर्दथे । नेपाली आफूले यसलाई निरन्तरता दिएका छन् । तर उनका छोराहरुले भने यसलाई पछाएका छैनन् । नेपालीले जुत्ता सिलाउन थालेको ३५ वर्ष वितिसक्यो । ‘वडा अध्यक्ष हुँदा पनि कामलाई अघि बढाइरहे’,उनले भने,‘बुवा, बाजेले थालेको पेशालाई अहिलेसम्म बचाइराखेको छु ।’

प्यूठान नगरपालिका ४ विजुवार बजार नजिकै बाटो छेउँमा उनले सानो ढ्याब्री राखेका छन् । धेरैजसो बाटो हिड्ने पैदलयात्रीहरुले फाटेका जुत्ता जप्पल सिलाउछन् । त्यस वापत उनले न्यूनतम दश रुपैयाँदेखि एक सय पचास रुपैयाँसम्म लिन्छन् । दैनिक बढीमा सात सय रुपैयाँसम्म उनले कमाई गर्छन् ।

पुख्र्यौली कामलाई अझै फराकिलो ढंगले विस्तार गर्ने उनको सोँच छ । तर आर्थिक अभावले उनले योजना अघि बढाउन सकेका छैनन् । स्थानीय सरकारबाट हालसम्म सहुलियत र अनुदान नलिएको उनले सुनाए । ‘नगरपालिकाले अनुदान दिन्छ भन्ने सुनेको छु’,उनले भने,‘गरिखाने वर्गलाई सहयोग गरे धेरै राहत मिल्थ्यो ।’ अनुदानका लागिे वडा कार्यालयमा निवेदन पेश गर्ने सोँचमा रहेको उनले बताए ।

नेपाली आफू वडा अध्यक्ष हुँदा पूण्यखोला क्षेत्रमा गरेको विकासको स्मरण गर्छन् । मुख्य सडकदेखि गाउँमा पुग्ने सडक उनी वडा अध्यक्ष हुनुपूर्व गोरेटो थियो । चुनाव जितेपछि आफ्नै पहलमा मोटरवाटो पु¥याएको उनले विगत सम्झाए । त्यसबेला गाविसमा अहिलेको जस्तो बजेट आउदैन्थ्यो । सानो बजेटबाटै पनि गाउँमा धेरै विकास निर्माणका कामहरु गर्ने गरेको उनको अनुभव छ । ‘ऊ बेलाजस्तो अहिले छैन्’,नेपालीले भने,‘हामी निस्वार्थ भावनाले काम गर्दथ्यो तर अहिले त्यस्तो पाइदैन् ।’

स्रोत साधनका हिसावले विगतको तुलनामा धेरै सहज भएको बताउँदै उनले निस्वार्थ भावले काम गरेमा विकासले गति लिन धेरै समय नलाग्ने उनको बुझाई छ । नेपालीलाई गाउँका सवैले वडा अध्यक्ष भनेरै बोलाउने गर्दछन् । घरमा श्रीमती, छोरा बुहारी र नानातिना छन् ।

यो पनि पढनुहोस्