Tuesday, September 27, 2022

मदन भण्डारीले ओलीलाई किन भन्थे ‘बातबहादुर’ ?


YOU MAY LIKE
MGID

ज्योतिषशास्त्रअनुसार ‘खड्गो’ भनेको व्यक्तिको जन्मकुण्डलीमा देखिने एउटा महाविपत्ति हो, जसलाई छिचोल्न सकियो भने जीवन फेरि सहज बाटोमा अघि बढ्छ । यहाँ ”कम्युनिस्ट” प्रधानमन्त्री खड्गप्रसाद ओलीको जन्मकुण्डली हेर्न खोजिएको हैन । कम्युनिस्टहरु जन्मकुण्डलीमा विश्वास गर्दैनन् ।

यहाँ, प्रधानमन्त्री ओलीले पार्टीभित्र र बाहिर दुबै मोर्चामा व्यहोर्नु परिरहेको राजनीतिक संकटबारे विश्लेषण गर्न खोजिएको छ । सरकार र पार्टीको शीर्षस्थानमा आसीन ओलीलाई अहिले महाविपत्ति आइलागेको छ । आफ्नै पार्टीको अन्तरविरोधको परिणामस्वरुप ओली सरकारमाथि खड्गो परेको छ । बुधबार बालुवाटारमा स्थायी कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले आफू घेराबन्दीमा परेको स्वीकार गरिसकेका छन् ।

बाहिरबाट त थियो नै, पार्टीभित्रैबाट पनि घेराबन्दीमा परेको प्रधानमन्त्रीको स्वीकारोक्ति छ । उनले पार्टीभित्र ‘बहुमतको खेल सुरु भयो’ भन्नुको तात्पर्य ‘आफू अल्पमतमा परें’ भन्नु हो । अभिमन्यु जसरी घेराबन्दीमा त परियो, अब यो संकटको घेरा कसरी छिचोल्ने ? प्रधानमन्त्रीलाई परेको मुख्य खड्गो नै यहीँनेर हो ।

मनोवैज्ञानिक पाटोबाट हेर्दा विश्वराजनीतिमा देखिन्छ । उच्चासनमा बसेका महत्वाकांक्षी शासकहरु आफ्नो आसन धर्मराउँदा अनेक किसिमका तर्कना गर्दै बर्बराउन थाल्छन् । सुरुमा उनीहरु संकटलाई नजरअञ्दाज गर्छन् । संकटलाई समाधान गर्न हैन, ढाकछोप गर्नका लागि सर्वत्र राम्रा काम भइरहेको जनतामा भ्रम छर्छन् ।

संकट अझै बढ्दै गयो भने त्यस्ता मूर्ख शासकहरु विपक्षी वा प्रतिस्पर्धीहरुका कारण यस्तो समस्या आइलागेको गुनासो पोख्न थाल्छन् । र, आफूलाई पानीमाथिको ओभानो देखाउने दुस्साहस गर्छन् । उनीहरु त्यतिबेलासम्म मूर्खता गरिरहन्छन्, जतिबेलासम्म सत्ताबाट च्युत हुँदैनन् । सत्ताबाट च्यूत भएपछि पनि उनीहरु आत्मालोचना गर्नुको साटो नकारात्मक ग्रन्थीबाटै परिचालित हुन्छन् । महत्वाकांक्षी शासकहरुमा देखिने यस्तो लक्षण ‘सत्ताको वियोगान्त’ स्थितिबाट पैदा हुने पराजित मनोविज्ञान हो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘सत्ताको अहंकार’ बाट ‘सत्ताको वियोगान्त’ यात्रातर्फ हेलिन थालेको लक्षण उनकै अभिव्यक्तिहरुमा देखिन थालेको छ । सरकारको लोकप्रियता दिनानुदिन घट्न थालेपछि उनी ‘अरुको रीसले मूल खाँबो चिथोर्ने’ लाइनतिर लागेका छन् ।प्रधानमन्त्री ओली सरकारले राम्रा राम्रा कामहरु गरिरहेको दाबी गर्छन् । देशमा भ्रष्टाचार नभएको र सुशासन कायम भएको तर्क गर्छन् ।

आफूले राम्रा काम गर्दा घेराबन्दी गरिएको उनको गुनासो छ । देशी विदेशी प्रतिक्रियावादीहरु, कम्युनिष्टविरोधीहरु र आफ्नै पार्टीका साथीभाइले समेत आफूजस्तो राष्ट्रवादीलाई घेराबन्दी गरेको उनको तर्कना छ । लिम्पियाधुरामा राष्ट्रियताको अडान राख्दा विदेशी तत्वसँग मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको उनको बुझाइ देखिन्छ ।

देशमा अहिले प्रचार गरिएजस्तो भ्रष्टाचार नबढेको, कोरोना नियन्त्रणमा प्रभावकारी काम गरेको, सडक कालोपत्रे लगायत विकास निर्माणका कामहरु भएका, पानीजहाज, रेलको काम भइरहेको र सरकारले दुई/अढाइ वर्षमा गतिलो काम गरेको प्रधानमन्त्री ओलीले निरन्तर दाबी गर्दै आएका छन् । बुधबार स्थायी कमिटीको बैठकमा पनि उनी यिनै दाबीहरु साथ प्रस्तुत भए ।

विडम्वनाचाहिँ के छ भने सरकारले लोकप्रिय काम गर्दैछ भन्ने ओलीको दाबी उनकै पार्टी, नेकपाकै नेता कार्यकर्ताले पत्याउन छाडेका छन् । प्रधानमन्त्रीको दाबी एकातिर छ, मुलुकको यथार्थ अर्कातिर छ ।प्रधानमन्त्री ओलीमा देखिँदै आएको सत्ताको अहंकार अहिले गुनासो र वियोगान्त आख्यानतर्फ मुखरित हुन थालिसकेको छ ।

राजनीतिक विज्ञानमा यसलाई महत्वाकांक्षी शासकको असफलताको मनोविज्ञानबाट उत्पन्न सामान्य लक्षण मान्न सकिन्छ । अब प्रधानमन्त्री केपी ओली र सिंगै नेकपाका सामु उत्पन्न संकट अर्थात् खड्गोको चर्चा गरौं : ओली सरकारको जनविरोधी कार्यशैलीका कारण नेकपाले जनआधार गुमाउन थालिसकेको छ । पार्टी र जनतावीचको सम्बन्ध विस्तारै टुटिरहेको छ ।

लकडाउनको बाहनामा दुःख पाएको सहरिया मजदुर वर्ग नेकपासँग चिढिएको छ । उसको मन कुँडिएको छ । भारतमा काम गर्ने लाखौं मजदुरहरुका सम्बन्धमा स्वयं प्रधानमन्त्रीले के(के भने, सीमानामा सरकारले कस्तो व्यवहार गर्‍यो, उनीहरुले सम्झेका छन् । ती प्रवासी मजदुरहरुसँग नेकपाको सम्बन्ध लगभग ‘कटअफ’ भएको प्रवासी नेताहरु बताउँछन् ।

त्यसैगरी, खाडी र मलेसियामा काम गर्ने नेपाली कामदारहरु पनि सरकारको व्यवहारप्रति सन्तुष्ट नरहेको रिपोर्टहरु आइरहेका छन् । त्यो जनमत कम्युनिष्ट पार्टीसँग भड्कियो भने त्यसले सिंगो नेकपाको शक्तिमा क्षयीकरण गराउन सक्छ । यो पक्षको विश्लेषण नेकपाका नेताहरुले अहिलेसम्म खासै गरेको देखिँदैन । महंगो टिकटमा चार्टर्ड उडान गर्न त सजिलै होला, तर आफ्ना नागरिकमा यसबाट पर्ने प्रभावको विश्लेषण त्यति सहज छैन ।

नेकपा सरकारको कार्यशैलीका कारण युरोप, अमेरिका र अष्ट्रेलिया लगायत संसारभरि छरिएर रहेका नेपालीहरु पनि सन्तुष्ट देखिँदैनन् । यसबारेमा पनि नेकपा नेताहरुले पक्कै समीक्षा गर्लान् । राजनीतिमा खासै समझ र रुची नभएको काठमाडौंको नयाँ पुस्ता ‘इनफ इज इनफ’ सडकमा आएको छ । किशोर पुस्ताको यो सहरिया जनमत आगामी दुई वर्षपछिको निर्वाचनका लागि निर्णयक पुस्ता हो ।

यी लाखौं नयाँ मतदाताहरु भोलि कतातिर ढल्केलान् भन्ने कुराले ठूलो अर्थ राख्नेछ । ओली सरकारले यो पुस्ताको विश्वास दिनानुदिन गुमाउँदै गइरहेको छ । काठमाडौंमा र देशका सबै शहरहरुमा ८० दिनसम्म सटर लगाएर चुपचाप बसेको मध्यम वर्गलाई सरकारले के दियो रु आज उनीहरु भाडा तिर्न नसकेर व्यवसाय बन्द गर्ने अवस्थामा पुगेका छन् । उनीहरुलाई ओली सरकारले के सम्वोधन गर्‍यो रु यसको पनि विश्लेषण हुन जरुरी देखिन्छ ।

अहिले विश्लेषण भएन भने आगामी चुनावले यसको विश्लेषण गर्न सक्छ । तर, यसबारे नेकपा नेताहरुले खासै सोचेको देखिँदैन । यसरी दिनानुदिन कमजोर हुँदै र टुट्दै गएको जनसम्बन्ध अरु भत्किन नदिनु प्रधानमन्त्री ओली र उनी नेतृत्वको पार्टीको जिम्मेवारी हो । यो जिम्मेवारीमा सत्ताधारी पार्टी चुक्दै गयो भने यसका दुईखाले प्रभावहरु देखापर्ने छन् ।

प्रथमतः सरकारविरुद्ध तत्कालै आन्दोलन भड्किन पनि सक्छ । दोस्रो अहिले आन्दोलन नै उठेन भने पनि आगामी चुनावमा यसको परिणाम देखिन सक्छ । यसरी पार्टी र जनतावीचको जनसम्बन्ध टुट्दै जाने समस्या केवल खड्गप्रसाद ओलीको मात्रै खड्गो होइन, सिंगै नेकपाको जीवनरेखामा देखिएको महाविपत्ति हो ।

नेपालीमा एउटा आहान छ मरिच किन चाहुरिएको, आफ्नै पीरोले ! प्रधानमन्त्री ओली चौतर्फी घेराबन्दीमा पर्नु र त्यो घेरा कसिँदै जानुको एउटा मुख्य कारण उनको आफ्नै बोली हो । बढ्ता बोलेर प्रधानमन्त्रीले आफूविरुद्धको घेरा आफैं साँघुरो बनाएका हुन् । खड्गप्रसाद ओली र सिंगै नेकपालाई यतिबेला निकै ठूलो खड्गो परेको छ । ‘यथास्थितिमा चल्न नसक्ने, एक पाइलो अगाडि पनि बढ्न नसक्ने’ नेकपाको अहिलेको भवितव्य हो ।

चिनियाँ नेता माओले कम्युनिस्टहरुलाई प्रशिक्षण दिँदै भनेका थिए, एकैसाथ चौतर्फी हमला नगर । तर, प्रधानमन्त्री ओलीले एकैचोटि चौतर्फी हमला गरे । आफूबाहेक सबैलाई गाली गरे । विपक्षीलाई होच्याए । आलोचकलाई खुइल्याए । मिडियालाई तथानाम गाली गरे । सोसियल मिडियामा बोल्नेहरुलाई निन्दा गरे । आफ्नै पार्टीका साथीभाइलाई गाली गरे । ओलीले कसैलाई पनि प्रहार गर्न छुटाएनन् । अरिंगाल (यो शब्दका सर्जक पनि प्रधानमन्त्री आफैं हुन्) हरुलाई उत्तेजित बनाएर देशैभरि घृणात्मक अभिव्यक्ति फैलाउन र चिल्न लगाए। लगाइरहेकै छन् ।

सहकर्मी माधव नेपाललाई जेल हाल्छु भन्दै हिँडे । आफ्नो गुटबाहेक अरुलाई पाखा लगाउने प्रयास गरे । पार्टीको विश्वास जित्ने भन्दा पनि एकलौटी ढंगबाट चल्ने नीति लिए । पार्टी बाहिर पनि त्यसै गरे । आफ्नै सरकारलाई लामो समय साथ दिएको राजपा र समाजवादीवीच फाटो पार्न दल फुटाउने बेमौसमी अध्यादेश ल्याएर आफूविरुद्धको घेरा आफैंले कसिलो बनाए । प्रधानमन्त्रीले नदुखेको टाउकोमा आफैंले डोरी लगाएर दुखाउने प्रयास गरे ।

कोरोना महामारीमा सबै दलले सरकारलाई सघाएकै हुन् । नक्सा सच्याउने संविधान संशोधनमा पनि सबैले सरकारलाई साथ दिएकै हुन् । तर, प्रधानमन्त्री आफ्नै बोली, संकीर्ण व्यवहार र नकारात्मक ग्रन्थीका कारण घेराबन्दीमा पर्दै गए । सबैको अभिभावक बन्नुपर्ने सरकारलाई अमूक ठेकदार कम्पनीको कम्पनीजस्तो बनाए ।

यती र ओम्नीलाई च्याप्ने, अरुलाई ठोक्ने एकपाखे नीति अवलम्वन गरे । आफ्नाले गरेको भ्रष्टाचारमा आँखा चिम्लिने तर, भाषण गर्न नछाड्ने उनले नीति अवलम्बन गरे । बेसार खाँदा के के फाइदा हुन्छ भन्ने बहस प्रधानमन्त्रीको तहबाट छेडिनुपर्ने विषय नै थिएन । प्रधानमन्त्रीले बेसारबारे पटक पटक जिरह गर्नु जरुरी थिएन ।

‘तित्राको मुखै बैरी’ भनेजस्तो जथाभावी त्रि त्रि नगरेको भए अहिले प्रधानमन्त्रीले टाउको कन्याउनुपर्ने अवस्था आउने थिएन । सार्वजनिक मञ्चहरुमा बोल्दा के बोल्ने, के नबोल्ने, कस्तो भाषामा, कति बोल्ने भन्ने प्रधानमन्त्री ओलीले जानेनन् । के अब प्रधानमन्त्री आफ्नो बोली सच्याउलान् ? यसमा सुधार गरे भने उनलाई आफ्नो राजनीतिक यात्राको खड्को काट्न सजिलो हुनेछ ।

तत्कालीन एमालेका एकजना पुराना नेताका अनुसार मदन भण्डारीले ओलीलाई ‘बातबहादुर’ भन्ने गरेका थिए । काम नगर्ने, कुरा मात्रै गर्ने । गफैले चिउरा भिजाउन खोज्ने । कामले सिन्को नभाँच्ने । अहिले त्यस्तै भइरहेको छ । कोरोना महामारीमा सरकारले राम्रो व्यवस्थापन गरेको प्रधानमन्त्रीले गफ दिइरहेका छन् । तर, आइसोलेसन वार्डमा जीवनजल खान नपाएर मानिसको मृत्यु भइरहेको छ ।

सार्वजनिक यातायात कहिले खुल्छ भनेर व्यवसायी र मजदुरहरु छटपटाइरहेका छन्, तर प्रधानमन्त्री हाछ्युँ गरेरै कोरोना भाग्छ भन्दैछन् ।प्रधानमन्त्री ओलीले संसदमा भनेका थिए, आफ्नो ५५ वर्षे राजनीतिक जीवनमा बोलेको कुरालाई लिएर कसैले चुनौती दिन सकेको छैन । तर, प्रधानमन्त्रीको बातैपिच्छे चुनौती दिने ठाउँ छन् ।

जस्तै कोराना हाछ्युँ गरेरै भाग्ने भए अर्थतन्त्रभन्दा जीवन ठूलो हो भन्दै ८० दिनसम्म किन लकडाउन गरेको प्रधानमन्त्रीज्यू ? अनि अहिलेसम्म पनि सार्वजनिक यातायात र विद्यालय किन नखोलेको ? जनतालाई किन धुरुधुरु रुवाएको ? चैतमा मानिसहरुलाई हिँडेर घर जान किन बाध्य पारेको ? अहिलेसम्म नाकाहरुमा चेकिङ गरेर किन सास्ती दिएको ? बरण्डामा बसेर कागसँग ब्रेकफास्ट खाएको कथा संसदमा किन सुनाएको ? रुघाजस्तै हाछ्युँ गरेरै भगाउने कुरामा देशको ढुकुटीबाट १० अर्ब किन स्वाहा पारेको ? भ्रष्टाचारमा किन मुलुकलाई चुर्लुम्म डुबाएको ? अनि आज एउटा, भोलि अर्को गफ किन हानेको ?

जहाँसम्म नेपालको नक्सा सच्याउने र भारतसित टक्कर लिने कुरा छ, यसबारे नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले के भनेका थिए र कुन कुन नेताका कारण नक्सा सच्याउने निर्णय कार्यान्वयनमा आएको हो भन्ने भित्री कथा अर्कै छ, अहिले त्यतातिर नजाऔं । अहिले केपी ओलीमात्रै पक्का राष्ट्रवादी हुन् र अरु सबै दलाल हुन् भन्ने बात चलिरहेको छ ।

बहुमतप्राप्त शक्तिशाली सरकारले दुई वर्षसम्म बात मारेर नबसी जनताका काम राम्रोसँग गर्न सकेको भए अहिले ‘चौतर्फी घेराबन्दीमा परें’ भन्दै विरहको गीत गाउनुपर्ने थिएन । आलोचकहरुलाई बातले हैन, कामले नै जवाफ दिएको भए हुन्थ्यो । के प्रधानमन्त्री ओलीले अब जनपक्षीयहरु काम गरेर जनताको मन जित्न सक्लान् ? काम गरेर देखाउने हो भने घेराबन्दीको यो खड्गो काट्ने समय अझै पनि छ ।

किनभने जनताले नेकपालाई ५ वर्षका लागि सरकार चलाउने अभिमत दिएका छन्, काम गरेर देखाए हुन्छ । असन्तुष्ट जनताको मन जिते हुन्छ । त्योभन्दा पहिले आफ्नै पार्टीका सहकर्मीहरुको मन जितेर देखाए हुन्छ । यो गम्भीर चुनौती हो ५५ वर्ष राजनीति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ।

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक जारी छ । हविगत हेर्दा नेताहरुले आफ्नै आङको छारो कन्याउनेबाहेक कुनै प्रगति गर्ने संकेत अहिलेसम्म देखिँदैन । यसो भन्नका लागि केही आधारहरु छन् । पहिले प्राविधिक रुपमा हेरौं : स्थायी कमिटी बैठकमा पार्टीको झण्डै छैन । ओली र प्रचण्डलाई बढेमाको सोफामा राखिएको छ, अरु नेतालाई ठुटे कुर्सी । सुवास नेम्वाङलगायतका नेताहरु स्कुलको बेञ्चमा विद्यार्थी बसेजसरी बसेको असुहाउँदिलो देखिएको छ । कम्युनिष्ट पार्टीको बसाइमै सामन्ती विभेद प्रष्ट देखिन्छ ।

राजनीतिक कुरो गर्ने हो भने प्रधानमन्त्री केपी ओलीलाई नेकपाले सरकारबाट ततकालै हटाउन पनि सक्ने अवस्था छैन, राखेर पनि कुनै करिस्मा गरिहाल्ने स्थिति छैन । पार्टीको बैठक सरकारी निवासमा राखिएको छ । चियादेखि नेताका खुट्टामा लगाइएको नीलो प्लाष्टिकसम्म सबै सरकारी खर्चै हो । त्यो नीलो प्लाष्टिक महामारीमा प्रयोग गर्ने स्वास्थ्य सामग्री हो । सरकारी चिया खाएर पार्टीको बैठक बस्ने अनि भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुपर्ने स्थिति छ नेकपामा ।

आफूलाई हटाइयो र अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने निर्णय भयो भने प्रधानमन्त्री ओली र उनका समर्थकहरुले त्यही दिनदेखि आफ्नै सहकर्मीलाई भन्नेछन् भारतले ओलीलाई हटायो र आफ्नो दलाललाई सरकारमा ल्यायो । ओलीले नक्सामा राष्ट्रवादी अडान राखेको हुनाले विदेशी शक्तिले प्रधानमन्त्री हटायो । आदि आदि ।

यतिमात्रै भए त ठीकै थियो, ओली पक्षले सरकारलाई पुरै असहयोग गर्नेछ र सफल हुन दिने छैन । त्यसपछि अहिलेकैजस्तो अवस्था हुनेछ । व्यक्ति फेरिए पनि नेकपाको प्रवृत्ति फेरिने छैन । नेकपा नेताहरुलाई चेतना होस् केपी ओलीको ठाउँमा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैमा समस्याको समाधान हुँदैन । किनभने

प्रचण्डको छवि गैरकम्युनिष्ट एवं सहरिया मध्यमवर्गमा केपी ओलीको भन्दा पनि कमजोर छ । त्यसैले, प्रचण्ड प्रधानमन्त्री हुनासाथ सरकारमाथि शहरिया मध्यमवर्गको आक्रमण अझ बढ्न सक्छ । यसमा सिंगै माओवादीविरोधी जनमत डोलायमान हुन सक्छ । पूर्वएमालेकै एउटा समूहले प्रचण्डको खुट्टा तान्न थाल्नेछ । प्रचण्डलाई ‘भारतपरस्त’ आरोप लगाउन सुरु हुनेछ । प्रचण्डले दिल्लीसँग वार्ता गरेर लिम्पियाधुराको भूमि फिर्ता ल्याउने सम्भावना पनि छैन ।

सुशासनको हकमा पनि ओलीको ठाउँमा प्रचण्ड आउँदा खासै परिवर्तन हुने देखिन्न । जनताको आवाज सुन्ने प्रचण्डको बानी भइदिएको भए उनले बुहारीलाई अहिलेसम्म मन्त्री बनाइराख्ने थिएनन् । प्रचण्डको यही परिवारवादी छविका कारण उनी जनतामा अलोकप्रिय देखिएको अवस्था छ ।

र, प्रचण्डको हकमा नेकपाभित्र अर्को पनि एउटा प्राविधिक जटिलता छ । माधवकुमार नेपाल पक्षको मागअनुसार नेकपा एक व्यक्ति एक पदको मोडलमा जाने हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा माओवादीतर्फबाट अध्यक्षचाहिँ को बन्ने ? कि दुई अध्यक्षको मान्यता खारेज गरेर एकजना राख्ने ? वा पूर्वएमालेकै ओली र नेपाललाई दुई अध्यक्ष बनाएर प्रचण्डले अध्यक्ष छाड्ने ?

प्रचण्डले भनेजस्तै ओली प्रचण्डवीच आलोपालो प्रणालीमा जाने हो भने प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री दुबै चलाउन त सक्लान् । तर, यसो गर्दा पार्टीको विधि प्रक्रियामा पुरानै स्थिति कायम रहने अवस्था आउँछ । र, त्यसबेला एक व्यक्ति एक पदको मागबाट माधव नेपाल पक्ष पछि हट्नुपर्ने हुन्छ । त्यो मागबाट माधव नेपालपछि हट्ने हो भने केपी ओलीलाई नै निरन्तरता दिनु वा उनको ठाउँमा प्रचण्डलाई ल्याउनु उस्तै उस्तै कुरो हो ।

त्यसोभए केपी ओलीलाई नै पाँच वर्ष सरकारमा राखिरहँदा के हुन्छ ? केही पनि हुँदैन । नेकपाको जनसम्बन्ध, अरु टुट्दै जाने छ । ओलीको लोकप्रियता थप धुलिसात् हुँदै जानेछ । जनताले नयाँ नयाँ बेसारे बातहरु सुन्दै जानुपर्नेछ । तर, त्यसको परिणाम आगामी चुनावमा वा त्यसअघि नै सडक आन्दोलनका रुपमा प्रकट हुन पनि सक्छ ।

प्रचण्ड र केपी ओली दुबै अध्यक्ष पदमा मात्र रहेर माधव नेपाललाई चाहिँ प्रधानमन्त्री बनाउँदा के हुन्छ ? यो पनि सम्भव देखिँदैन । किनभने, प्रचण्ड केपी ओलीलाई हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउने पक्षमै छैनन् । उनी जसरी भए पनि आफैं प्रधानमन्त्री बन्ने दाऊमा छन् । उनका लागि प्रधानमन्त्री पद नै प्रधान बनेको देखिन्छ ।

यो अवस्थामा तीन शीर्ष नेताहहरु बाहेक तेस्रो विकल्पको सम्भावना नेकपामा खासै देखिँदैन । नेकपाको ९ सदस्यीय सचिवालय एकप्रकारले पंगु सावित भइसकेको निकाय हो, जहाँबाट कुनै पनि निकास निस्कने सम्भावना छैन । स्थायी कमिटी पनि निरीह छ । कराउँछ( कराउँछ, अन्तिम निर्णय लिन सक्दैन ।

निचोडमा अहिले यत्ति भनौं खड्गप्रसाद ओली र सिंगै नेकपालाई यतिबेला निकै ठूलो खड्गो परेको छ । ‘यथास्थितिमा चल्न नसक्ने, एक पाइलो अगाडि पनि बढ्न नसक्ने’ नेकपाको अहिलेको भवितव्य हो ।

यो पनि पढनुहोस्