Tuesday, September 27, 2022

लिम्पियाधुरासहितको नयाँ नक्सा प्रकाशनको जस कसलाई ?


YOU MAY LIKE
MGID

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा भारतसँगको सीमा समस्याको समाधान द्विपक्षीय कूटनीतिक वार्ताबाटै हुनुपर्नेमा नेताहरूले जोड दिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले वार्ताका लागि अनिच्छा प्रकट गरिरहेको ‘ब्रिफिङ’ गरे ।

बैठकमा बोल्ने नेताहरूले नक्सा प्रकाशनमा जस्तै सिंगो पार्टी र देश एकजुट भएर अघि बढ्दा द्विपक्षीय वार्ताकै लागि लबिङमार्फत वार्तामा बसेर समाधान खोज्नुपर्नेमा जोड दिए । कूटनीतिक वार्तालाई पनि पटक–पटक भारतले इन्कार गरेको खण्डमा मात्र चीनलाई समेत आग्रह गरेर ‘त्रिदेशीय वार्ता’बाट समाधान खोज्नुपर्ने अधिकांश नेताहरूको मत रहेको नेता केशव बडालले जानकारी दिए । ‘त्रिदेशीय वार्ताबाट समाधान खोज्ने कुरा गर्दा द्विपक्षीय वार्ताको कुरालाई माइनस गर्न खोजिएको अर्थ लाग्न सक्ने बताए ।

त्यसैले द्विपक्षीय वार्ताबाट समाधान हुन नसक्ने स्थितिमा मात्र आवश्यकता परे त्रिदेशीय वार्ताका लागि पहल गर्नुपर्छ,’ आफूसहित केही नेताले राखेको सुझाब उद्धृत गर्दै बडालले भने । उनले थपे, ‘नक्सा प्रकाशनमा सबैको साथ रहेकोमा प्रमुख विपक्षी कांंग्रेससहित सबैलाई धन्यवाद दिएर सिंगो पार्टी, देश एक ढिक्का भएर भारतसँग कूटनीतिक वार्तामै जोड गर्नुपर्छ ।

उनले अगाडी भने, अरू ढंगले सोच्ने या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्न खोजियो भने नेपालका लागि आत्मघाती पनि हुन सक्छ ।’ बडालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता भीम रावलसहित अधिकांशले उस्तै खाले मत बैठकमा राखेका थिए । त्यस्तै, बैठकमा भारतसँगको सीमावर्ती क्षेत्रका जनताको उत्थान र त्यस क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाबसमेत प्रस्तुत भएको थियो ।

नेता भीम रावलले पार्टी केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालयको निर्णय, सिंगो पार्टीपंक्तिको भावनाबमोजिम नेपालको नयाँ प्रकाशनको निर्णय भएर संविधानको अनुसूचीसमेत संशोधन भएकाले प्रधानमन्त्री वा अरू कोही व्यक्तिविशेषले जस लिने कुरा गलत भएको तर्क राखेका थिए ।

‘पार्टी केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयको निर्णयअनुसार नक्सा प्रकाशन भएको हो, त्यसैले प्रधानमन्त्री या कोही व्यक्ति एक्लैले काम गरेजस्तो व्यक्तिविशेषले जस लिन खोज्ने वा जस दिएर प्रशंसा गर्ने कुरा गलत हुन्छ, त्यसैले यसको स्वामित्व व्यक्तिविशेषले होइन, सिंगो पार्टी, देश र जनताले लिनुपर्छ र त्यसअनुसार नै एकताबद्ध भएर भारतसँग कूटनीतिक वार्ता अघि बढाउनुपर्छ,’ बैठकमा रावलको भनाई थियो ।

बैठकमा नेताहरूले नक्सा प्रकाशनमा भएको एकताको जगमा भूमि फिर्ता ल्याउने गरी कूटनीतिक वार्ताका लागि दृढतापूर्वक अघि बढ्न सुझाब दिएको प्रवक्ता श्रेष्ठले बताए । ‘भातरले अतिक्रमण गरेको नेपालको भूभाग समेटर नक्सा प्रकाशन गरेर राष्ट्रिय एकतासहित संविधानको अनुसूचीमा समेत राख्ने ऐतिहासिक पहलकदमीप्रति धन्यवाद दिँदै त्यस ऐतिहासिक कोसेढुंगालाई तार्किक निष्कर्षमा पुऱ्याउन अझ दृढतापूर्वक अघि बढ्न साथीहरूले सुझाब दिनुभएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘लिम्पियाधुरा, कालापानी, सुस्तालगायतका थुप्रै मुद्दामा पनि एकताबद्ध भएर समस्या समाधानका लागि पहल गर्नुपर्ने साथीहरूको धारणा छ ।’

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल–भारत प्रबुद्ध समूहले तयार पारिसकेको इपिजे प्रतिवेदन छिटो बुझ्नका लागि समेत पहल गर्न बैठकमा नेताहरूले सुझाब दिएका छन् । त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालकै भूमि भएको तथ्य प्रमाण भएकाले विवादित भूमि भन्न छाड्नुपर्ने, विगतमा कमजोरी नै भएका छन् भने पनि अध्ययनको पाटो इतिहासविद् र अध्यतालाई छाडेर सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर भूमि फिर्ता ल्याउने काममा अग्रसर हुनुपर्नेमा अधिकांशले जोड दिएका थिए ।

बैठकमा प्रवक्ता श्रेष्ठसहित केशव बडाल, देव गुरुङ, शंकर पोखरेल, छविलाल विक, भीम रावल, मुकुन्द न्यौपाने, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, अमृत बोहारा, प्रदीप ज्ञवाली, लीलामणि पोखरेल, पम्फा भुसाल, बेदुराम भुसाल, मातृका यादव र रघुवीर महासेठले धारणा राखेका थिए ।

यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थायी समितिको बैठकमा भारतले सीमा समस्या समाधानका लागि नेपालसँगको वार्तामा अझै तत्परता नदेखाएको ‘ब्रिफिङ’ गरेका छन् । बैठकमा शुक्रबार उनले सीमा समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे ‘ब्रिफिङ’ गर्दै त्यस्तो जानकारी गराएका हुन् ।

ज्ञवालीले सीमा अतिक्रमणको समस्या समाधानका लागि पटक–पटक भारतलाई दुई देशस्तरीय सचिव तहको वार्ताका लागि प्रस्ताव गरे पनि तत्परता नदेखाएको बताए । ‘परराष्ट्रमन्त्रीले सीमा समस्या र समाधानका बारेमा सुरुदेखि अहिलेसम्मका विकसित घटनाक्रमबारे जानकारी गराउनुभयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसक्रममा नेपालले कूटनीतिक संवादको माध्यमबाटै अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा भारतसँग पहल गरिरहे पनि अहिलेसम्म वार्ताका निम्ति सकारात्मक तत्परता नदेखाएको ब्रिफिङ सुनाउनुभएको छ ।’

यद्यपि, नेकपा भारत छिट्टै वार्ताका लागि तयार हुने र कूटनीतिक वार्ताको माध्यमबाटै सीमा समस्या समाधान हुनेमा आशावादी रहेको पनि श्रेष्ठले बताए । मन्त्री ज्ञवालीले केही सञ्चारमाध्यममा आएको चीनद्वारा नेपाली भूमि अतिक्रमण भन्ने समाचार झुटो भएको पनि जानकारी गराएका थिए ।

‘उहाँले चीनद्वारा नेपाली भूमि अतिक्रमण गरेको भन्ने केही सञ्चारमाध्यममा आएको कुरा सर्वथा झुटो, नियोजित र भ्रमात्मक प्रचार हो र चीनसँग सीमाका सम्बन्धमा अहिलेसम्म कुनै समस्या नभएको जानकारी गराउनुभएको छ,’ बैठकपछि श्रेष्ठले भने ।

यो पनि पढनुहोस्