Tuesday, September 27, 2022

देशभर स्वास्थ्य संकटकाल घोषणा गर्ने ओली सरकारको तयारी ! कारण के हो ? हेर्नुहोस्


YOU MAY LIKE
MGID

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभर संकटकाल घोषणा गर्ने तयारी गरेको छ ।

सरकारी तयारी स्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ ।

बुधवार मन्त्रालयमा बसेको बैठकले २ हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केश देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव गर्ने निर्णय गरेको हो ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर वा देशको कुनै भागका मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही ऐनलाई टेकेर स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमान्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीले बताएका छन् । ‘हेल्थ इमर्जेन्सीको मापदण्ड मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि जारी गर्छौं,’ उनले भने ।

बुधवार संकटकालका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका तथा स्वतन्त्र विज्ञलाई समेत छलफलमा बोलाएका थिए । छलफलले पनि स्वास्थ्य संकटकालको खाका तयार गर्ने डा. लोहनीले बताएका छन् ।

डा. लोहनीका अनुसार संक्रमणको रफ्तार बढ्दै जाँदा अस्पतालको शय्या, क्वारेन्टाइनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगिएको छ । ‘संक्रमणको रफ्तार बढ्दै गएपछि पहिलेभन्दा बढी सचेत हुनुपर्छ, सोही कारण यो निर्णय गरिएको हो,’ उनले भने ।

मन्त्रालयले गत मे महिनामा बनाएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’मा २ हजारभन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने उल्लेख गरिएको छ ।

२ हजारदेखि ५ हजारसम्म संक्रमित पुगेमा दोस्रो चरणको उपचार रणनीति लागू हुनेछ । ५ हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागू गर्ने जनाइएको छ ।

१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोरोनाका बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने ५ सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ ।

‘अक्सिजन सपोर्ट, आईसीयू नचाहिने र लक्षण नभएका संक्रमितलाई घरमै आइसोलेट गर्ने पहिलेदेखिकै तयारी थियो,’ डा. लोहनीले भने, ‘त्यसो नगरिकन सबैलाई अस्पतालमा राख्दा हाम्रो पूर्वाधारले धान्दैन, अहिले त्यही अवस्था आउन लागेकाले हेल्थ इमर्जेन्सीको तयारी गरिएको छ ।’

स्वास्थ्य संकटकाल घोषणा गर्नका लागि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने गरी मापदण्ड बनाइएको छ । मापदण्डअनुसार अब कसैको कोरोना परीक्षण नतिजा पोजेटिभ आएमा लक्षण नभएका, हल्का, मध्यम, गम्भीर र नाजुक के हो भनेर यकिन गर्नुपर्छ ।

लक्षण नभएका र हल्का लक्षण भएकाहरू घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर यसका लागि पालना गर्नुपर्ने मापदण्ड तोकिएका छन् ।

हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभरबाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरूमार्फत मगाउने, खानपिनमा सावधानी, दिनमा ३ पटक ज्वरो जाँच गर्नेलगायत रहेका छन् ।

आइसोलेनमा बसेका व्यक्तिमध्ये लक्षण नदेखिएकाहरू १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरू १४ दिनपछि लक्षण निको भएको ३ दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

यो पनि पढनुहोस्