Tuesday, September 27, 2022

आगामी हप्ता कोभिड–१९ को औषधि बाड्दै रुस !


YOU MAY LIKE
MGID

जेठ १९,(रुस)-आगामी हप्तादेखि रुसले कोभिड–१९ का बिरामीहरुको उपचारका लागि एभिफाभिर नामक एन्टिभाइरल औषधीको प्रयोग गर्ने भएको छ ।

यसले महामारीका कारण रुसी स्वास्थ्य प्रणालीमा पारेको दबाब कम हुने र आर्थिक जीवन चाँडै नै सामान्य स्तरमा फर्किने आशा बढाएको छ । जुन ११ देखि रुसी अस्पतालहरुले बिरामीलाई एभिफाभिर दिन सक्ने एक अन्तर्वार्तामा रुसको आरडीआईएफ सार्वभौम सम्पत्ति कोषका प्रमुख किरिल डिमिट्रिभले बताएका छन् ।

औषधि बनाउने कम्पनीले एक महिनामा करीब ६० हजार मानिसको उपचार गर्न पर्याप्त हुने औषधि उत्पादन गर्ने बताइएको छ । अहिलेसम्म कोभिड–१९ विरुद्ध कुनै खोप बनेको छैन ।

विभिन्न खोप र औषधिबारे भइरहेको मानव परीक्षण प्रभावकरी भइसकेका छैनन् । अमेरिकी औषधि निर्माता कम्पनी गिलियाडले बनाएको रेम्देसिभिर नामक औषधि कोभिड–१९ विरुद्ध प्रभावकारी देखिएको छ र केही देशमा बिरामीलाई यो औषधि दिन पनि थालिएको छ ।

एभिफाभिरको विकास सन् १९९० को अन्त्यतिर एक जापानी कम्पनीले गरेको हो । रुसी वैज्ञानिकहरुले यो औषधि परिमार्जन गरेको र आगामी २ हप्ता भित्रै परिमार्जनसम्बन्धी विस्तृृत विवरणहरु सार्वजनिक गरिने डिमिट्रिभले बताएका छन् ।

जापानले पनि यही औषधिमा परीक्षण गरिरहेको छ । तर अहिलेसम्म यसलाई त्यहाँ प्रयोगको अनुमति भने दिइएको छैन । अभिफाभिर शनिवार रुस सरकारले प्रयोगका लागि अनुमति दिएको औषधिको सूचिमा आएको हो ।

३३० जनामा औषधिको क्लिनिकल परीक्षण गरिएको र यसले चार दिनभित्रै रोगको उपचार भएको देखाएको डिमिट्रिभले बताए । परीक्षण एक हप्ताभित्र सम्पन्न हुने भएपनि स्वास्थ्य मन्त्रालयले विशेष प्रक्रियाअन्तर्गत यसलाई अगाडि नै अनुमोदन गरेको र औषधिको उत्पादन मार्चमै शुरु भएको बताइएको छ ।

रुसले औषधि परिमार्जन गर्नु भन्दा अगाडि नै जापानले यो औषधिमा परीक्षण गरेकोले रुसमा यसलाई चाँडै अनुमति दिइएको डिभिट्रिभको भनाइ छ । एजेन्सी

यो पनि पढनुहोस्