Saturday, September 24, 2022

विवाह गर्ने आफू, हतार दुनियाँलाई !


YOU MAY LIKE
MGID

एकदिन म ओछ्यानमै थिएँ। मोबाइलमा घण्टी बज्यो। हेरे घरबाट फोन आएको रहेछ। ‘नानी, के छ? सन्चै छस् नि?,’ बाबाको आवाज सुन्छु।

‘हजुर म ठिकै छु बाबा अनि तपाईंहरू नि?’ ‘हामी नि ठिकै छौं। एउटा कुरा भन्नलाई फोन गरेको थिएँ।’ ‘कस्तो कुरा हो? भन्नु न बाबा।’ ‘नानी, आजभन्दा पाँच/छ वर्ष अगाडिदेखि नै तेरो बिहे गर्ने कुरा आइरहेको छ। अब त गर् है नानी।’

‘हे बाबा! गर्दिनँ अहिले म बिहे। बेहाल भएको यो जिन्दगीलाई झन् बेहाल बनाउनु छैन मलाई।’

‘के बेहाल हुन्छ र? केटा सुब्बाको जागिरे छ रे। अरु ठाउँबाट नि कुरा कति आएको छ। त्यहाँ चाहिँ मलाई मन पर्यो। जागिरे भएपछि तँलाई पालिहाल्छ नि।’ बाबालाई जवाफ दिन मन थियो- बाबा, के म गाईवस्तु हो र पाल्नलाई? तर म मौन रहेँ।

‘किन नबोलेकी?,’ बाबाले भन्नुभयो।

‘नाई गर्दिनँ क्या बाबा अहिले म बिहे। बिहे नै गर्ने भए किन यस्तो दु:ख गरेर पढाउनु भएको हो? अनि मैले किन बाबा यति दु:ख गरेर पढ्नु परेको हो नि? आखिर बिहे नै गर्दिने सोचमा हुनुहुन्थ्यो भने मलाई यहाँसम्म हजुरले ल्याउनु पर्दैन थियो।’

मेरा कुराले बाबाको चित्त दुख्यो क्यारे ‘लु लु जेसुकै गर्, भनेको कुरा चाहिँ कहिल्यै नमान्ने भइस् तैँले। अब २/३ वर्ष जे-जे गर्नुछ गर्नु, त्यहाँपछि उमेर बित्छ बेलैमा होस गर्’ भन्दै बाबाले फोन राख्नु भयो।

बाबाका कुराअनुसार म २/३ वर्षमा के गर्नु होला? अझै मैले सोच्न सकिरहेकी छैन। अचम्म लाग्छ मलाई, जागिरे ज्वाइँ खोज्ने बाआमाहरूले किन होला आफ्ना छोरीहरूलाई पनि जागिरे बनाउनु पर्छ भन्ने कुरा बिर्सनु भएको! उमेरले २१ पुगेर २२ लागेकी मलाई दिनहुँ जस्तो विवाहका कुरा आउँदा लाग्छ, के मेरो विवाह गर्ने उमेर भए कै हो त?

हुन त मसँगै पढ्ने साथीहरूको विवाह पछाडिको जिन्दगी देख्दा लाग्छ, धन्न मेरा बाआमाले मलाई यहाँसम्म पुर्याउनु भएको छ। नभए मेरो नि उनीहरूको जस्तै हालत हुने थियो। जब म १५ वर्षकी थिएँ। त्यही बेलाबाट विवाहका कुरा आउने गर्थ्यो। अहिले आउनु त सामान्यजस्तो लाग्छ आजभोलि मलाई।

सानोमा ठूलो भएपछि रमाइलो हुन्छ भन्ने म अहिले परिस्थिति र जिम्मेवारीको बोझमा खुसी खोजिरहेकी मलाई विवाहका बारेमा आउने कुरामा पनि खुसी खोज्न बाध्य भएकी छु। आखिर विवाह गर्नु नै छ। एकदिन गरिन्छ तर मेरो परिवारलाई भन्दा नि अलिक बढी यो समाजलाई किन हो मेरो चिन्ता? मेरो विवाहको कुरा बाआमाले भन्दा नि समाज र आफन्तहरूले बढी गर्ने गर्नु भएको छ।

केटाहरू खोजे जसरी एउटा गतिलो जागिर खोजिदिए कस्तो हुने थियो! प्रिय आफन्त, कम्तीमा मेरो जिन्दगी त बन्ने थियो। हैन भने मलाई त हतार भएको छैन। यहाँ अरुलाई किन हतार छ?

नेपालीमा उखान नै छ- आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने अरुको आङमा जुम्रा हिँडेको देख्ने। अहिले यही उखानजस्तै भएको छ हाम्रो समाज। किनभने आफ्नो छोराको विवाह गर्ने उमेर ३० वर्षसम्म पनि पुगेको हुँदैन तर अरुका छोरीहरूको २० नपुग्दै उमेर पुग्छ हाम्रो समाजमा।

हो, अहिले आएर केही परिवर्तन हुँदैछ। केही छोरीहरूले आफ्नो विवाह उमेर तय गरेर गर्ने गरेका छन्। तर पनि नेपालका कतिपय ठाउँमा बाआमाले भनेकै उमेरमा विवाह गर्नुपर्छ। हैन, विवाह बाआमाका लागि गर्ने हो कि आफ्नो जिन्दगीका लागि हो? यस्तै प्रश्नहरूले पनि धेरै कुरा सोच्न बाध्य बनाउँछ।

किन हामीले पनि त आफ्नो भविष्य बनाएर विवाह गर्दा हुँदैन र कि हामी सधैं अभाव र दबाबमा बाच्नु पर्ने हो? यस्ता कुराहरूले धेरै सताउने गर्छ।

सोच्न म बाध्य हुन्छु जब गाउँले दाइले ‘बहिनी, यति सम्पत्ति भएको केटा छ नि’ भनुहुन्छ। अरे! म सम्पत्तिमा बेचिन्नु पर्ने हो? आन्टीले ‘तँ सँगैकी मेरी छोरीले छोरा पाइसकी’ भन्नुहुन्छ। के अब मैले नि छोराछोरी पाउनै र देखाउनैका लागि विवाह गर्नु पर्ने हो?

हजुरआमादेखि सानीमासम्म, हजुरबादेखि मामासम्म अरु त कुरै नगरौं यति धेरै व्यक्तिहरूलाई हतार छ मेरो विवाह भएको हेर्ने। अझ हजुरआमालाई अति नै छ। ‘नातिनीको कन्यादान दिन पाए सिधैं स्वर्गमा पुग्ने थिएँ’ भन्दै घरकालाई कराउन हतार छ।

कन्यादानले मान्छे स्वर्ग पुग्छन् या नर्कमै रहन्छन् मलाई थाहा छैन। सबै चिजको समय आउँछ, मलाईभन्दा नि अरुलाई किन हतार होला? छोराका मात्र होइन छोरीको पनि इच्छा र आकाङ्क्षा हुन्छ, आफ्ना बाआमाका सपना पूरा गर्ने। त्यसैले हरेक बाआमाले आत्मनिर्भर र सक्षम छोरी बनाएर विवाह गरिदिने कि ?

इस्मिता थापा को लेख सेतोपाटी बाट साभार

यो पनि पढनुहोस्