Saturday, September 24, 2022

धनै त हो भाग्यमा भए जति नि मिल्छ !


YOU MAY LIKE
MGID

निरू त्रिपाठी । संयोगलाई एकदमै धनी बन्नु थियो। उसलाई धेरै पैसा कमाउनु थियो। उ भन्न हिच्किचाउँदैन थियो –एकदिन हरेक मिडियाले ‘मनी मनी मनी, संयोग संसारकै धनी ’ हेडलाइन सहित मेरो जीवन कहानी छाप्नेछ। मेरो अगाडि क्यामेरा, माइक तेर्स्याएर सबैले भन्दै सोध्ने छ – अष्ट्रेलियामा छोटो समयमा प्रगति गर्ने एक धनी नेपाली युवा आज हामी माझ हुनुहुन्छ। भनिदिनुस् संयोगजी कलिलैमा कसरी धनी बन्नुभयो? जनता जान्न चाहन्छन्।

ऊ यस्तै यस्तै सोच्थ्यो अनि मनमनै मुसुमुसु हाँस्थ्यो। यतिखेर उसको मैले अरू दिनको भन्दा भिन्न रुप देख्थे। एकदमै निश्चल मनको एउटा अबोध बालकले देखेको निस्पाप र मिठो स्वपन हुन्थ्यो त्यो। सानोमा भाडाकुटी खेल्दा तँ पत्रकार बन्न अनि म धनी केटा भन्छु। अन्तर्वार्ता खेलौँ भनेर खेल्न तयार भएको त्यो चन्चल बालकको छवि भेट्थे। जहाँ त्यतिखेर उसको यो खेललाई सार्थक दिन पुरै बह्माण्ड नै एकछिन एक भएको आभाष दिलाउँथ्यो। अनि म पनि मनमनै रमाइदिन्थेँ।

तर कहिलेकाँहि पैसाको लागि उसको नौ रुप देख्थे। लगातार तीन दिनसम्म नसुतेर चौँविसै घण्टा काम गरेर ल्याएको हातभरीको त्यो पैसा सुम्सुमाएर घरी रून्थ्यो। घरी हाँस्थ्यो। घरी मस्किन्थ्यो। घरी रिसाउँथयो। घरी कराउँथ्यो। घरी शान्त हुन्थ्यो। घरी चिच्चाउँथ्यो। घरी क्रोघित हुन्थ्यो त घरी टोलउँथ्यो। यतिखेर लाग्थ्यो के ऊ त्यहीँ अबोध बालक हो र? अनि आभाष पनि हुन्थ्यो पुरै बह्माण्ड नै उदेखि दिक्क भएर टाडिदैछ।

उसलाई अरू केही कारणले होइन पैसाकै कारणले संसारमा चिनिनु थियो। भित्तामा विल गेट्स, एलेन मस्क, वारेन वफेट, मुकेश अम्बानीदेखि विनोद चौधरीको समेत फोटो थियो। सानोमा विज्ञानको रसायन फर्मुलाहरु हामीले त्यसरी आँखा अगाडि राखेका थियौ कि दिनै देखेर याद होस् भनेर तर उ यी व्यक्तिहरुको तस्विर राखेर दिनै यस्तै धनी भन्नुपर्छ भनेर आफूले आफूलाई सदैव याद दिलाउन चाहन्थ्यो।

यसरी मेरो पनि फोटो, मेरो पैसा, मेरो पेशा, मेरो शक्ति, मेरो प्रगति, मेरो उपलब्धिको चर्चा होस् चारैतिर यहीँ ऊ सोच्थ्यो र त्यहीँ नै उसको जीवनको एउटै सपना थियो। पैसाले सारा खुशी, शान्ति किन्न सकिन्छ भनिरहन्थ्यो उ। इज्जत मान प्रतिष्ठा सबै धनमा पोको परेर बसेको हुन्छ भन्नेमा उ विश्वास गथ्यो। पैसा नभएन भने हात खुट्टा, नशा, रगत, मुटुको धड्कन, श्वास फोक्सो कसैले पनि राम्ररी कान गर्दैन भनिरहन्थ्यो।

साथीभाइको साथ, गर्लफेण्डको माया, श्रीमतीको हेरचाह, आमाबुबाको समेत आशा त्यहीँ धनमा टिकेको हुन्छ भन्ने उसको तर्क सधैँ रहन्थ्यो। ऊ भोको पेटले सकारात्मक सोच्ने कुरामा विश्वास गर्दैन्थयो। उसलाई आफ्नो अभावमा पनि अरुको धन र प्रगति देखेर सन्तुष्ट मिल्ने जस्ता दर्शनका कुराहरु वाइयात लाग्थ्यो।

नेपोलियन वर्नपार्टले हातमा भाग्य रेखा नहुँदा काँटेर भाग्य बनाएको कथा मलाई सुनाइरहन्थ्यो। अनि खै एकदिन के सुर चलेछ आफूले पनि त्यसरी नै हातमा चक्कुले काँटेर भाग्य रेखा बनाएछ। रगताम्य हात बोक्दै मलाई मलम पट्टी गरिदिनू भन्यो। पागल भनेर मैले गाली पनि गरेँ। ऊ हाँसेर धनी भन्न पागल नै हुनुपर्छ। पैसा कमाउने पागलपन नभइ पैसा कमाइँदैन। हो म त्यहीँ पागल हुँ। उसले भन्दै गर्दा लाग्थ्यो यतिखेर हातको रगतले होइन ऊ पैसा कमाउने इच्छाले रक्ताम्य भएको छ।

संयोग कहिलेकाँहि अनौठो व्यवहार पनि देखाउँथ्यो। ऊ खाना नखाएर रातभरि नरिवल मात्रै चपाएर बस्थ्यो। मोबाइलमा कमिलाको ताँती र कमिलाको डकुमेन्ट्री हेरेर बस्थ्यो। एकदिन सोधेँ पनि। सपनामा नरिवल र कमिलाको ताँती देख्यो भने छिट्टै धनी भइन्छ भन्ने उसले कतै सुनेको रे अनि त्यहीँ कारणले सपना देख्नको लागि ऊ राति सुत्नुभन्दा अगाडि नरिवल चपाएर र युट्युवमा कमिला हेरेर निदाउँने गर्दो रहेछ।

एसको यो व्यवहार हेर्दा लाग्थ्यो यदि मिल्थ्यो भने गरूणले स्वर्गबाट अमृत चोरेर ल्याएको जस्तै ऊ स्वर्ग पुगेर भए पनि पैसाको बोट ल्याएर घरमा रोप्थ्यो होला। पैसाप्रतिको त्यो भोग, पैसाप्रतिको त्यो लगाव, पैसा प्रतिको त्यो आशक्तिपन, पैसाले सारा दुनियाँ किनिदिन्छु अनि सबलाई देखाइदिन्छु भन्ने इख– पैसाको लागि आफूलाई नै धरौटि राख्न नचुक्ने यो अनौठो प्ररकारको मनोरोग थियो संयोगभित्र भन्छु म।

अनौठो अनौठो कुरा र व्यवहार गरिरहँदा उसले अर्कोदिन फेरि अचम्मको कुरा गर्र्यो। मैले याद गरिरहेको थिएँ बाटोमा हिडिरहँदा उ आफू साम्मु आउँदै गरेको प्राय कुकुरलाई सधैँ रिसाएर हेर्थ्यो। कुकुरलाई डोहोर्‍याइरहेको मान्छेले थाहा नपाउने गरी ऊ कुकुरलाई डरलाग्दो तरिकाले जिस्काउँथ्यो।

म उसलाई रोक्थेँ तर ऊ कुकुरसामू गएर आफूलाई टोकाउन खोज्थ्यो। र साँच्चैनै ऊ चाहन्थ्यो पनि उसलाई कुकुरले टोकोस्। कुरैको सिलसिलामा एकदिन उसले भन्योे यदि यो कुकुरले मलाई टोक्यो भने मैले जरीवानाको नाममा तीस देखि पचास हजार डलरसम्म पाउँछु अनि म धनी हुन्छु नि। उसलाई कसैले सुनायो वा ऊ आफैंले कतै पढ्यो थाहा छैन तर धनी हुन ऊ आफूलाई कुकुरले टोकाउन पनि तयार भएको भनेपछि उसमा पैसाको आशक्तिपन कति हदसम्म रहेछ भनेर स्पष्ट हुन्थ्यो।

म मौका मिले सम्झाउँथेँ पनि पैसा कमाउनु सबैको इच्छा हुन्छ तर यो लेबलसम्म पैसाको भोगी हुनु पक्कै स्वस्थ्य सोचाइ होइन। ऊ मेरो कुरा सुनेनसुनेको जस्तो गथ्यो अनि आफैं भुनभुनाउँथ्यो–दशैँ आयो यदि पैसा भइदिएको भए घरमा सबैलाई नयाँ लुगा, गहना समेत किनिदिनु हुन्थ्यो। तिहार आयो जान नपाए पनि यदि पैसा भइदिएको भए दिदीबहिनीहरुलाई सुनको वाला उपहार दिन्थेँ होला। आमा बुबाको एनिर्वसरी आयो यदि पैसा भइदिएको भएँ भव्य पार्टी गरेर मनाइदिन्थेँ होला। साथीहरुको जन्मदिन आयो यदि पैसा भइदिएको भएँ क्लबमा मस्ती गर्न लाखौँ पठाउँथेँ होला।

उसको यस्ता कुराले फेरि म अचम्मित हुन्थेँ र लाग्थ्यो वास्तवमा यो केटा आफ्नो लागि भन्दा पनि अरुको लागि नै धनी बन्न खोज्दैछ। यसरी उसको मन मस्तिष्कमा यस्तो छाप परिसकेको थियो कि यो समाजमा आफ्नो स्थान सुरक्षित गर्ने हो भने र घर परीवार साथीभाइहरु विच आफ्नो वर्चश्व कायम गर्ने हो भने सधै एकनासे रुपमा जीवन चलिरहनुपर्छ र सबैभन्दा महत्वपूर्ण धनी हुनुपर्छ। केवल धन कमाउनु पर्छ।

संयोग आफ्नो घर परिवारको कुरा गर्न खुब रुचाउँथ्यो। आफ्नो घरको आर्थिकदेखि पारिवारिक र सामाजिक पृष्ठभूमि पनि एक एक गर्दै खोलिरहेको हुन्थ्यो। उ भन्थ्यो –मेरो बुबा घरको र मेरी आमा मामाघरको दुःख पाएको सन्तानहरुमा पर्नुहुन्छ। उहाँहरु घरपरिवारबाट सधै तिरस्कृत, सधै हेलित हुनुहुन्छ। यसको प्रमुख कारण हामीसँग प्रयाप्त धन नभएर हो। हामी दुःखी, गरिव भएर हो भन्थ्यो।

मामाघरमा ठूलीआमा र यता घरमा सानो काकाको जयजयकार हुनुमा उहाँहरुसँग प्रशस्त धन भएर हो भन्थ्यो उ। दशैँमा घरका हजुरबुबा हजुरआमाले र उता मामामाइजुले आफूलाई भन्दा पनि बढी दक्षिणा धनी काका र ठूलीआमाको छोराछोरीलाई दिनुभएकोमा उ चित्त दुखाउँथ्यो। प्रमुख रुपमा त दक्षिणा सबै वच्चावच्चीलाई समान दिनुपर्‍यो। हो तर ठिकै छ उत्तिकैकै नदिए पनि धेरै नै दिनु छ भने गरिव नातीनातीना, भान्जाभान्जीलाई दिनुपर्ने होइन र भन्या तर किन धनीलाई अझै धनी बनाइन्छ?

कहिलेकाँहि ऊ यस्ता तार्किक कुराहरु पनि गर्थ्यो तर उसको परिवारको कुरामा म केही बोल्दैनथेँ सुनि मात्र रहन्थेँ। यस्ता कुरा गर्दगर्दै ऊ क्रोधित हुन्थ्यो अनि भन्थ्यो –जतिजति वर्षको दशैँमा दक्षिणाले गरिब र धनी हेर्न थाल्थ्यो त्यतित्यति वर्ष ममा धनी हुने सपना प्रवल भयो।

अरूले पचासको नोट हातमा लिएर देखाउँदा मेरो हातपमा दश रुपैँया हुँदा मेरो मन भित्र नव दुर्गाले ताण्डव गथ्र्यो। काली माताको स्वरुप लिएर त्रिशूल होइन पैसैपैसाको भालाले सबैलाई हान्न मन लाग्थ्यो। ऊ अझैँ थप्दै जान्थ्यो –सबैभन्दा दुःख गर्ने मेरो परिवार। सबैभन्दा मेलापातामा खट्ने मेरो परिवार। पसिना बगाएर मेहेनत गर्ने मेरो परिवार। कर्मले पैसा आउने भए सबैभन्दा धनी मेरो परीवार हुन्थ्यो होला। तर लक्ष्मीलाई पनि धनीकै घरमा वास वस्न मन लाग्दो रहेछ। क्रोधित हुँदाहुँदै यसो भनेर ऊ भावुक पनि हुन्थ्यो।

क्रोधित, भावुकसँगै संयोगको आँखामा त्यो प्रतिशोध पनि देख्थे। उ झन् राताराता आँखा पार्दै फोनमा भन्थ्यो –आमा तपाईँ र बुबाको पचासौँ विवाहत्सवमा म तपाइँहरुलाई हात्तीमा राखेर नगर परिक्रमा गराउँछु। केही अलि समय पर्खनुस् पैसाको मुठोले सबैको मुख कोचिदिन्छु। यति नगरेसम्म मेरो श्वास जाँदैन।

ऊ जतिजति घरमा यसरी कुरा गथ्यो त्यति त्यति पुराना कुरा सम्झेर इखले रन्थनिन्थ्यो। अनि कामको शिलशिलामा बाहिर निस्कन्थ्यो केही दिन, केही हप्ता गर्दै महिनौ हराउँथ्यो। अनि एकदिन त्यो क्षितिजबाट पुलुक्क घाम निस्केजस्तो ऊ मेरो आँगनमा निच्च दाँत देखाएर उभिन्थ्यो। हालखबर सोध्न नपाउँदै उ आफैँ भन्थ्यो –आज घरमा दश लाख पठाएर आएको नि। घरमा यसरी पैसा पठाएको दिन ऊ नरिवल चपाउँदेनथ्यो। न त कमिलाको ताँती नै हेर्थ्यो। ग्वामग्वाम स्वादले खाना खान्थ्यो।

फेरि घरबाट फोन आउथ्यो अनि आमाको मुख देख्ने वित्तिक्कै उसलाई हात्तीमा आमाबुबालाई नगर परिक्रमा गराउने इच्छा तीव्र हुन्थ्यो। अनि त्यसरी नै एकदिन बाहिर रन्थनीएर निस्कियो। दिन बित्यो, हप्ता वित्यो, महिना, वर्षौ वित्यो। फेरि एकदिन मुस्कुराउँदै झुल्कियो र भन्यो– आज बीस लाख पठाए नि। त्यो दिन पनि शताब्दीको भोको मानवले खाना खाएको जसरी थपी थपी ग्वामग्वाम खाना खायो।

यस्तो प्रक्रिया धेरै समय चल्यो। धेरै समय हराउँथ्यो फेरि आउँथ्यो अनि कहिलेँ पाँच लाख, कहिले दुई लाख, कहिले पच्चीस लाख पठाएँ भन्दै संयोगले घरमा लगभग एक करोड भन्दा पनि बढी पैसा पठायो। त्यसरी नै तीन वर्ष जति हराएर संयोग एकदिन अचानक घरमा आयो। यो पटक संयोग एकदमै विरामी देखियो। उसलाई गाली पनि गरेँ। त्यस्तो शरीर बनाएकोमा तर उसले मेरो कुरा कहाँ ध्यान दिन्थ्यो र हत्तनपत्त यो पटक मोबाइलमा एउटा तस्बिर देखाउँदै भन्थ्यो– अन्ततः यो कान्छो छोरोले आफ्नो आमाबुबाको पचासौँ एनिभर्सरीमा हात्ती चढाएर छोड्यो। यतिखेर मलाई पनि अत्यन्त खुशी लाग्यो।

यो पनि हेर्नुस् त भनेर संयोगले एउटा भिडियो देखायो। उसको आमाबुबा हात्तिको लचकलचक तालमा नगर परिक्रमा गर्दै रहेछ अनि उहाँहरुलाई हेर्ने र पछि लाग्ने मान्छेहरुको पनि ताँती रहेछ।

संयोग भिडियो हेरेर बारम्वार मजा लिइरहेको थियो। न हात्तीले न त मैले उहाँहरुलाई घुमायो त वश पैसाले ऊ आफैंमा भुतभुतायो। हेर यी सारा मान्छे हात्तीको पछि पछि। उफ् हात्तीको होइन पैसाको पछि पछि लागेका। हेर मेरा यी मामामाइजु। ओहो ल हेर्नुस् त यी मेरा ठूली आमा, ठूलबुबा, सानाकाका काकी र दशैँमा मैले भन्दा सधै धेरै दक्षिणा पाउने मेरा भाइ बहिनीहरु।

संयोग भिडियो हेरेर आफैसँग बोलिरहेको थियो। म भने उसको शरीर नियाल्न थालेँ। उसको केही पाउँ मासु मात्रै रहेको शरीर, ओढारजस्तो भएको आँखा, सारीको मुजा झैँ मुझिएको गालाको छाला, कपाल झरेर मुच्र्छाएको तालुदेखि मलाई उसको माया लाग्यो। यसरी धनी हुँदै गर्दा ऊ असाध्यै खुशी थियो कि खुशी देखिन्थ्यो ठम्माउन सकिनँ।

समय वित्दै गयो। एकदिन घरको आँगनमा काग बेक्सरी कराउयो। मनमा पीर पनि पर्‍यो। मन नेपालतिर पुग्यो। भगवान नराम्रो खबर केही सुन्न नपरोस् पनि भनेँ। त्यो दिनदेखि लगातार एक हप्तासम्म काग कराउन थाल्यो। एकदिन एउटा कागले एउटा ठूलो नरिवलको टुक्रा चुच्चोले च्यापेर घरको आँगनमा फ्याँकिदियो र उड्यो। त्यो नरिवलको टुक्रा विनमा हाले र भोलिपल्ट विन खोल्दा विनैभित्र कमिला नै कमिला। मैले जीवनमा त्यतिधेरै कमिला देखेको नै थिएन।

नरिवलको टुक्रा कमिलाले सबै खाएर त्यही सल्बलाएको थियो। म त एकछिन आत्तिए पनि। संयोग भनौँ या के भनौँ त्यसको दुई दिनपछि संयोगकै एकदिन नमिठो खबर आयो। राती नरिवल र कमिला हेरेर सुतेको संयोग कहिले नउठ्ने तरिकाले विदा भएछ।

डाक्टरले ह्ट्याकट्याकले मृत्यु भएको रिपोर्ट दियो। उसको लास नेपाल पठाउने निर्णय गर्‍यौं। ऊ, उसका सपना, उसको परिवार, उसको वचपन, व्यथा, दुःख, लक्ष्य, आमाबुबाको त्यो फोटो, भिडियो, त्यो खुशी एकाएक मेरो दिमागमा, आँखामा घुम्दा सहन नसक्दा मलाई वाकवाकी नै लाग्यो। उसको लास नेपाल जाँदा त्यो बुबाआमाको हालत के होला भनेर सोचेरै म पागल हुन लागिसकेको थिएँ।

यही शोकमा उसको फेसबुकमा गएर उसको पुराना फोटोहरु हेरेँ। केही महिना अगाडि फेसबुकमा उसले एउटा गीत पनि सेयर गरेको देखेँ। गायक पुष्पन प्रधानको पंक्षी गीत सेयर गरेको रहेछ। गीतसँगै उसले यो तलका हरफहरु स्टाटसमा लेखेको पनि देखे अनि त झन् मेरो मुटु फुट्ला जस्तो भयो।

‘धनै त हो भाग्यमा भए जति नै मिल्छ,
पौरख गरे शन्ति वैभव देशैमा फुल्छ।
निधार हुन्छ चाडवाडमा, टिका हुन्न।
थाकेसी निधाउने त्यो काखै हुन्न। ’

संयोगलाई जति चिन्न खोज्यो त्यति चिन्न गाह्रो हुन्थ्यो। ऊ जटिल थियो। उसलाई बुझ्न गाह्रो थियो। कुरा सुन्दै जाँदा उसलाई राम्ररी बुझेको जस्तो लाग्थ्यो फेरि एकछिन पछि उसलाई बुझ्नै बाँकि छ जस्तो पनि लाग्थ्यो। उ खुल्ला किताब देखिए पनि उसलाई पढ्न सप्तऋषि पनि प्रयाप्त हुन्न जस्तो लाग्थ्योे। ऊ के थियो, कस्तो थियो, के सोच्थ्यो, के देखिन्थयो, के भन्थ्यो, के लुकाउँथ्या, के देखाउँथ्यो यो कुरो आजसम्म पनि मेरोलाई ऊ एउटा रहस्यमय पात्र रहिरह्यो । सेतोपाटीबाट साभार

यो पनि पढनुहोस्