Saturday, September 24, 2022

इतिहास हामीले पनि रच्यौं, तर चर्चा भएन


YOU MAY LIKE
MGID

मलाई त आफ्नो जीवन नै संयोगहरुको श्रृङ्खलाजस्तो लाग्छ । अहिलेसम्म कुनै योजनामा चलिनँ र नसोचेका काम–कुरा हुँदै आएका छन् ।

आर्मीमा फर्म भर्नु, कबड्डी टिम बनाउनु, दक्षिण एसियाली खेलकुद (साग) खेल्नु, पदक जित्नु, आर्मीकै मान्छेसँग बिहे गर्नु केही पनि योजनावद्ध थिएनन् । छोरी ६ वर्षकी भइसकिन्, म अझै खेल्दैछु । कहिलेसम्म खेल्छु भन्ने पनि कुनै योजना छैन । समयले जता डोर्‍याउँछ, त्यतै जाँदैछु ।

सानोमा त मलाई फुटबल खेल्न मन लाग्थ्यो । अली–अली खेल्थेँ पनि । स्कुलमा हुँदा साथीहरुसँग भलिबल खुब खेलेँ । एथ्लेटिक्स प्रतियोगितामा पनि भाग लिन्थेँ । प्राय तेस्रो हुन्थे । बढी रुचिचाहिँ पछिसम्म फुटबलमै थियो ।

पछि गएर खेलाडी बन्ने त मैले सोचेकै थिइनँ । नेपाली सेनामा नआएको भए खेलाडी बन्थेँ जस्तो पनि लाग्दैन । खोइ के हुन्थेँ होला ? पढेर कतै जागिर खान्थेँ कि ? अनुमान न हो ।

जे होस अहिले खुशी नै छु । परिवारबाट धेरै सपोर्ट छ, त्यसैले त खेलमा टिकिरहेकी छु । परिवारको साथ नपाएको भए कसरी खेल्न सक्थेँ र ? श्रीमान, बुबा–ममी, छोरी सबैले साथ दिनुभएको छ ।

१३ औं सागमा रजत जितेपछि श्रीमान पनि निकै खुशी हुनुभयो । घर–गाउँको नाम राख्यौं भन्नुहुन्छ । हाम्रो विवाह भएको ९ वर्ष भयो । उहाँले कहिल्यै खेल्न छोड भन्नुभएन ।

०००

यसअघि लगातार दुई पटक साउथ एसियन गेम्समा हामीले कास्य पदक जित्यौं । यस पटक १३ औं साग नेपालमै हुँदै थियो । हामीलाई फाइदा थियो । हामीले स्वर्ण नै जित्ने लक्ष्य राखेका थियौँ । तर फाइनलमा भारतसँग हार्दै रजतमा सीमित भयौं । यद्यपि यो पनि हाम्रो लागि ऐतिहासिक पदक नै थियो ।

नेपालमा धेरैलाई कबड्डी केकसरी खेलिन्छ भन्ने नै थाहा छैन । तर हामीले गरेर देखायौं । घरमै हुँदा पनि कबड्डीमा धेरैको चासो नभएको देखेर भने दुख पनि लाग्यो ।
११ औं र १२ औं सागमा म उपकप्तान थिएँ । टिममा सिनियर खेलाडी थिएँ एकजना । यसपाली चाहिँ कप्तानकै जिम्मेवारी पाएकोले दबाव बढी थियो ।

१३ औं सागकै लागि भनेर हामीले पाँच महिनाको ट्रेनिङ गरेका थियौं । भारतमा गएर २०–२२ दिन ट्रेनिङ नगरेको भए सम्भव पनि थिएन होला । त्यहाँ ६ म्याच खेल्यौं । त्यहाँको अनुभवले पनि हाम्रो खेलाडीले आफूलाई निखार्न पाए । नत्र त रजत पनि सम्भव थिएन ।

खेलाडीको मिहिनेत एकदमै राम्रो थियो । हामीले पहिलादेखि नै टिमवर्कमा ध्यान दिएका थियौं । आत्मबलका साथ ट्रेनिङ गरेका थियौं । तयारी राम्रो थियो ।

घरेलु भूमिमा रजत पदक जित्नु हाम्रो लागि ऐतिहासक थियो । अहिलेसम्म कास्यभन्दा माथि आएको थिएन । के भनौं अब त्यसबारे ! रजत जित्दाको क्षण सम्झँदा अहिले पनि आँखामा खुशीको आँशु भरिन्छ । हामी कति खुशी भएका थियौं ।

यसपटक सागमा चार टिम थियौं । हामीले ४ खेलमा २ खेल जित्यौं । श्रीलंका र बंगलादेशलाई लिगमा हरायौं । फाइनलमा भारतसँग हायौं ।

भारतले जहिल्यै कबड्डीको स्वर्ण जितिरहेको छ । जसरी पनि उनीहरुलाई हराएर स्वर्ण खोस्ने लक्ष्य थियो हाम्रो । त्यो सफल हुन सकेन ।

यो पनि पढ्नुहोस – ऐतिहासिक सफलतामा पनि गुमनाम कबड्डी 

भारतमा प्रोफेसनल खेलाडीहरु धेरै छन् । डेढ करोड, दुई करोड खेलाडी छन् । हाम्रो त्यस्तो छैन । हाम्रोमा प्राय गेम नै हुँदैन । गेम भयो भने न नयाँ खेलाडी आउने हो ।

०००

विस २०६५ देखि आर्मीमा कबड्डी खेल्न थालेका हौं । आर्मीमा महिला कबड्डी जन्माएको नै हामीले हो । त्यसअघि कोही पनि महिला खेलाडी थिएन । २०६५ सालमा जागिरको सिलसिलामा आउँदा हामीले महिला टिम शुरुवात गरेका हौँ ।

मैले त्यसअघि यो खेल खेलेको थिइनँ । वीरगञ्जमा जन्मिएको म । अहिले ठोरी गाउँपालिकामा पर्छ मेरो घर । स्कुलमा पढ्दा कबड्डी खेलिएन । एकैचोटि सेनामा आएपछि खेल्न थालेको हो ।

एसएलसी दिएर बसेको थिएँ । साथीको लहलहैमा लागेर मैले सेनामा फर्म भरेँ । मेरो नाम पनि निस्कियो । यो २०६२ सालमा संकटकाल लागेको बेला हो । अनि जागिर शुरु भयो । केही समय पढाईलाई निरन्तरता दिएको थिएँ तर ग्याप भएपछि छाडेँ ।

६३ सालमा आर्मी छिर्दा म कबड्डी खेलाडी नभएर एथ्लेटिक्स खेलाडी थिएँ । एथ्लेटिक्सको लागि आएको थिएँ । त्यसअघि केही ५ किमी, १० किमी, हाफ म्याराथनहरु दौडन्थे ।

भलिबलमा पनि नेपाल फाइनलमा भारतसित हारेको हो । कबड्डीमा पनि त्यस्तै भयो । तर, भलिबल खेलाडीको वाहवाही भइरहँदा हामीलाई भने कसैले वास्ता गरेनन् । हाम्रो खेल पनि टिभीमा देखाइएन ।
त्यसबैला पाँचौं राष्ट्रिय खेलकुदमा कबड्डी राख्ने कुरा भयो । हाम्रो टिम थिएन । एक जना मात्र हुनुहुन्थ्यो सिलसिला मगर । पहिलेदेखि नै राष्ट्रिय टिममा खेल्नुभएको थियो उहाँले । उहाँकै अग्रसरतामा कबड्डी टिम बनाइयो । लहैलहैमा म पनि त्यो टिममा समावेश भएँ । सेनाभित्रकै १२ जना समावेश गरेर टिम बनाएका थियौं ।

कबड्डीको बारेमा ‘क’ पनि नजानेका हामी पहिलोपटक राष्ट्रिय खेलकुदमा भाग लियौँ र दोस्रो भयौँ । पुलिस च्याम्पियन भयो । छैटौं आर्मीले भाग लिएन । हामीले खेलेनौं । त्यसपछि सातौं, आठौं राष्ट्रिय र राखेप च्याम्पियनसिप सबै हामीले नै जित्यौं । लगातार च्याम्पियन भइराछौं ।

०००

म क्लबमा आउँदा फुटबल नै खेल्न पाए हुन्थ्यो जस्तो लागेको थियो । तर टिम नै थिएन । दुई–चार वर्षपछि आर्मीमा महिला फुटबल राखियो ।

तर, त्यसबेला हाम्रो कबड्डी पनि राम्रो भइसकेको थियो । उता जान दिनुभएन सरहरुले, मलाई जान पनि मन लागेन । एउटा गेममा हात हालिसकेपछि अर्कोमा किन लाग्ने ? म राष्ट्रिय च्याम्पियन भइसकेको थिएँ । राम्रो खेलाडी भइसकेँ ।

म कबड्डीमै रमाउन थालेँ । कबड्डी रोजेर मैले सही निर्णय लिएछु भन्ने अहिले लाग्छ । अरु गेममा भन्दा धेरै अवसर कबड्डीमा थियो । सागमा थोरै टिम सहभागी हुने भएकाले मेडल आउने अवसर धेरै हुन्थ्यो । फुटबलमा लागेको भए पनि हुन्थ्यो । अलिअलि चर्चा कमाइन्थ्यो होला । .तर, कबड्डी नखेलेको भए मेरो भविष्य यहाँसम्म आउँथ्यो जस्तो लाग्दैन ।

कतिले चाहिँ अझै कबड्डीलाई हेँला गर्छन् । कतिले त कबड्डी पनि गेम हो र जस्तो गर्छन् । कबड्डी हो कि कबाडी हो पनि भन्छन् । त्यसबेला चित्त दुख्छ नै । अहिले राष्ट्रपति कप, उपराष्ट्रपति कपमा पनि कबड्डी समावेश गरिएको छ । त्यसले गर्दा कबड्डीको अलिअलि चर्चा हुन थालेको छ ।

सागमा महिला भलिबल टोलीको धेरै चर्चा भयो । उहाँहरुले पनि ऐतिहासिक रजत जित्नुभएको थियो । हामीले जितेको रजत पनि ऐतिहासिक नै थियो । तर, कबड्डीलाई सबैले हेला गरे । सञ्चारमाध्यमले पनि ।

भलिबलमा पनि नेपाल फाइनलमा भारतसित हारेको हो । कबड्डीमा पनि त्यस्तै भयो । तर, भलिबल खेलाडीको वाहवाही भइरहँदा हामीलाई भने कसैले वास्ता गरेनन् । हाम्रो खेल पनि टिभीमा देखाइएन । कबड्डीको प्रतिस्पर्धा हलचोकमा भएको थियो । एकान्तमा भएर पनि हो कि मिडियाहरु आएनन् ।

गेम हुने बेला घरमा ममीलाई लाइभ हेर्नु भन्यो । छोरीको गेम आउला भनेर ममी टिभी अगाडि बस्नुहुँदो रहेछ । तर गेम आउँदैन । खोइ, तिमीहरुको गेम आएन त, अरु गेम आउँछ भन्नुभयो । त्यो सुन्दा एकदमै दुखः लाग्यो ।

पहिला राष्ट्रिय गेम भनिन्थ्यो कबड्डी । तर, अहिले त ओझेलमा परेको छ । पदक जितेपछि अलिअलि चासो चाहिँ बढेकै हो । हामी फाइनल पुग्दासम्म कसैले पनि वास्ता गरेको थिएन वास्तवमा । तर खुशी लागेको छ । हामी हाम्रो गेम खेलेर फाइनल पुग्नु नै ठूलो कुरा हो । अब भविष्यमा हुन्छ हुँदैन, थाहा छैन । तर गर्नुपर्छ भन्ने लाग्छ ।

०००

सागमा सहभागिता जनाएदेखि नै पदक जितिरहेका छौँ । यसअघि अन्तर्राष्ट्रियस्तरमा भारतमा गएर पनि खेलेको छु ।

गत वर्ष विराटनगरमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता खेलेको थिएँ । त्यो बेला हाम्रो नेपाली सेनाले मात्र भाग लिएको थियो । श्रीलंका, बंगलादेश भारत र नेपालले भाग लिएको हो । हामीले जितेका थियौं । श्रीलंकाले यही टिम नै त्यही बेला आएको थियो । यस्तै भारतमा लिगहरु खेलेका छौं ।

अहिले कबड्डीमा नयाँ खेलाडीहरु पनि आउन थालेका छन् । आर्मीमा आउन उनीहरुलाई इच्छुक छ भने फर्म भर्छन् । नभए कोही खेल्न इच्छुक छन् भने हामीले नै बहिनीहरुलाई सोधेर ल्याउने हो । राष्ट्रिय टिममा आउन पनि अहिले खेलाडीहरु इच्छुक छन् ।

भारतमा हेर्नुस् जिम हल, स्वीमिङ पुल, ग्राउण्ड सँगै इन्डोर हल छ । उनीहरु माटोमा ट्रेनिङ गर्दैनन्, म्याटमा खेल्छन् । हाम्रोमा बल्ल म्याट ल्याएका छन् । ट्रेनिङ र खेलको वातावरण भए नेपाली टिमले अझ राम्रो गर्न सक्थ्यो ।
टिममा अरु नयाँ खेलाडी छन् । उनीहरुको प्रदर्शन राम्रै छ । तर ट्रेनिङ अझै पुगेको छैन । हेर्दा पनि उचाई सबै राम्रो छ । अझै राम्रो ट्रेनिङ दिने हो भने हाम्रो खेलाडीहरु भारतलाई टक्कर दिने खालका छन् ।

हाम्रोमा राष्ट्रिय प्रतियोगिता कम भएर पनि खेल स्तर माथि उठ्न नसकेको हो । राष्ट्रिय प्रतियोगिताहरु धेरै हुनुपर्छ । विदेशी खेलाडी यहाँबाट खेलेर जान्छ र अर्को ठाउँमा लिग खेलिरहेका हुन्छन् । हामीले चाहिँ अर्को गेमका लागि हुन एक–दुई वर्ष कुर्नुपर्छ । राष्ट्रिय लिग, खेलहरु भए नयाँ खेलाडीले खेल्छन् । म्याच एक्सपोजर पनि हुन्छ । धेरै राम्रो हुन्छ । त्यसो भए हाम्रो खेलाडी पनि माथि पुग्छन् जस्तो लाग्छन् ।

हाम्रो आर्मीमा प्रधानसेनापति ट्रफी भन्ने थियो । त्यसमा कबड्डी पनि थियो । प्राविधिक कारणले गर्दा यसपटक हट्यो । त्यहाँबाट पनि खेलाडीहरु आउँथे । यसपाली भएन ।

०००

हाम्रो छिमेकी भारतमा प्रो कबड्डी हुन्छ । त्यो हेरेर पनि धेरैले यस खेललाई चिन्न थालेका छन् । भारतमा पुरुषको मात्र प्रोकबड्डी भइराछ । महिलाको छैन ।

नेपालबाट पनि दुई जनाले भाग लिनुभएको छ । उहाँहरुले लगातार ४/५ वर्ष खेलिरहनुभाछ । त्यो देखेर हामी महिला खेलाडीलाई पनि उर्जा आउँछ । महिलाको प्रो लिग भयो भने अझ राम्रो हुन्थ्यो । कुनै दिन महिलाको भयो भने गएर खेल्ने इच्छा छ । लिग भयो भने परिन्छ पनि होला । हाम्रो राम्रो खेलाडीहरु छन् । अझ आउने बहिनीहरु झन् राम्रो हुन्छन् । उनीहरुलाई चान्स छ ।

नयाँ खेलाडीहरु एकदमै उत्सुक छन् प्रो कबड्डी हेरेर । हामी पनि पर्थ्यौँ होला भनेर । आर्मीमा पनि राम्रो खेलाडीहरु छन् ।

पहिला–पहिला हामी माटोमा खेल्थ्यौँ । अहिले इन्डोर हल छ । म्याटमा खेल्न थाल्यौँ । हामीसँग स्रोत र साधन नभएकोले हाम्रो खेलाडी पछि परेको जस्तो लाग्छ । अब भारतमा हेर्नुस् जिम हल, स्वीमिङ पुल, ग्राउण्ड सँगै इन्डोर हल छ । उनीहरु माटोमा ट्रेनिङ गर्दैनन्, म्याटमा खेल्छन् । हाम्रोमा बल्ल म्याट ल्याएका छन् । ट्रेनिङ र खेलको वातावरण भए नेपाली टिमले अझ राम्रो गर्न सक्थ्यो । सबै मिलेर राम्रो वातावरण बनाए भारतलाई हराउँथ्यौ । अब चाहिँ सागमा स्वर्ण जितेरै छाड्ने लक्ष्य छ ।

०००

मेरो नौ वर्षअघि बिहे भएको हो । श्रीमान आर्मीमै हुनुहुन्थ्यो र अहिले रिटायर्ड भएर घरमा हुनुहुन्छ ।

म भर्खर ११ औं साग खेलेर आएको थिएँ । सारी लगाएर हिँडेपछि अर्कै देखिन्छ नि । त्यो देखेर कस्ती केटी होला भन्ने उहाँलाई लागेछ । अनि साथीहरुसंग सोधीखोजी गर्नुभएछ । पछि नम्बर माग्नुभएछ मेरो, अनि फोन गर्नुभयो । कुरा गर्दागर्दै उहाँले नै प्रस्ताव राख्नुभयो । मैले घरमा कुरा गरेँ । अनि ओके भयो विवाहको कुरा । लभपछिको अरेन्जजस्तै ।

उहाँको बानी ब्यहोरोले मलाई तान्यो । एकदमै धेरै ट्यालेन्ट हुनुहुन्छ । बोली बचन राम्रो । सोझो पाराको । जाँडरक्सी केही पनि नखाने । सोझोपन राम्रो लाग्ने । सबैलाई समान गरेर बोल्ने, त्यही बानी राम्रो ।

छोरी अहिले वान क्लासमा पढ्छिन् । ममी गेम खेल्नुस्, गेम जित्नुपर्छ भन्छिन् । सागको फाइनल हेर्न आएकी थिइन् । कबड्डी बुझेकी छिन् । स्कुलमा गएर मेरो ममीको आज भारतसँग गेम छ भनेर सुनाउन भ्याइछिन् ।

मैले सगको फाइनल पुग्दा ममी–बुबा, श्रीमान, छोरीलाई सम्झेको थिए । रजत पदक चाहिँ छोरीलाई डेडिकेट गर्न चाहन्छु ।

जिन्दगी रमाइलोसँग नै चलिरहेको छ भन्नुपर्‍यो । यहाँसम्म आउनुमा मेरो मिहिनेत, परिवारको सपोर्टका साथै अफिसका गुरुहरुको मार्गदर्शनको पनि हात छ । आफूलाई भाग्यमानी ठानेकी छु ।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ६७ औं अंकमा  कबड्डीकी कप्तान कोषमाया बस्नेतको कथा ।) Onlinekhabar

यो पनि पढनुहोस्