एजेन्सी । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायमाथि हुँदै आएको युट्युव आतंक, एक समय खुब चर्चामा ल्याइएको टिकटक प्रकरण हुँदै युवतीहरुलाई होटलमा ल्याएर बन्धक बनाउनेसम्मको विकृत अवस्था उजागर छ । यसै पनि राउटे समुदाय केही डलररुपी समाजसेवीहरुको लागि दया र याचनाको गतिलो माध्यम बनिरहेको थियो । जंगलको राजा समेत भनिने यो समुदाय अहिले आएर शहरीया गिद्धे नजरको शिकार बनेको छ ।

दैलेखबाट केहीदिन अघिमात्रै सुर्खेतमा आएको राउटे साम्राज्यमा नराम्रो प्रहार भएको छ । मूलधारको मिडियामा खासै चासोको विषय भन्न नसकेको राउटेहरूको वतर्मान युट्युबरहरूको गतिलो खुराक बनिरहेको थियो, विगत केही समययता । ‘पैसा छुदाँ पनि पाप लाग्छ’ भन्ने मान्यता राख्ने राउटेहरू युट्युबरहरूका लागि डलर कुम्ल्याउने स्रोत बनिरहेका थिए, छन् ।

आम मानिससँग दोहोरो सम्बाद समेत गर्दैन थिए, कुनैबेला राउटेहरू । तर, समयले निकै कोल्टे फेरि सकेछ । अहिले उनीहरूसँग सनसनी पूर्ण अन्तरवार्ता हुन्छ । टिकटकले राउटे समुदायकी एक युवतीलाई एकाएक स्टार बनाईदियो । उनी आफ्नो भिन्न लवजका कारण चर्चामा आइन् । उनको बोल्ने स्टाइल, फेसियल एक्सप्रेसन, पहिरनका कारण उनी चर्चामा आएकी थिइन्, यो त राउटे समुदायको संस्कृति र सम्पति थियो ।



उनीहरूको संस्कृति झल्काउने वर्तमानलाई रमाइलोका रुपमा हेर्यो । सोही अनुसार ‘बिकाउ कन्टेन’का रुपमा चिरण गरियो । युट्युबरहरूले डलरका लागि प्रयोग गरे । कथित अभियान्ताहरू समाजसेवाको रूपमा । बिस्तारै राउटेहरू खेलौनाको रूपमा प्रयोग हुन पुगे ।

पछि तिनै युवतीसँग पारिवारिक अवस्थादेखि उनको यौन चाहना र अनुभवसम्मको भिडियो अन्तरवार्ता लिनेसम्मका हर्कत गरिए, यसमा हामीले खुब मनोरञ्जन लियौँ । आफूलाई राज्यको चौथो अंग दाबी गर्ने युट्युबरहरूले राउटेहरूमाथि आतंक मच्चाउने क्रमको उपक्रमका रूपमा पछिल्लो घटना सतहमा आएको हो ।

हाल गुर्भाकोट नगरपालिकाको आँपसोतीमा बस्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुव्र्यवहार भएको घटना बाहिरिएपछि पुनः राउटे समुदाय सतहमा आएको छ । उनीहरु होटलको बन्द कोठामा भिडियो बनाएर फेसबुकमार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी)सहित तीन जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।

सार्वजनिक भिडियोमा होटलको एक कोठामा सुरुमा चमन र दुई राउटे युवती देखिन्छन् । ति मध्ये एउटी राउटे युवतीलाई चमनले ‘श्रीमती’ भनेर सम्बोधन गरेका छन् । दुवै जना राउटे युवतीहरु मदिराले लट्ठ देखिन्छन् । राउटे युवतीसँगै सुतेका चमनले थप मदिराको माग गरेको देखिन्छ । सुर्खेत प्रहरीले चमनसहित भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पक्राउ गरेको छ।

भिडियोमा पहिलो युवती भन्छिन्, ‘डिस्टब भयो के’। भिडियो बनाइरहेका अर्थनग्न पुरूष ‘चमन’ मदिराको मातमा गुन्गुनाउछन्, ‘सुवास तिमी हौ’। उनी मेरी बुढी भन्दै संवेदनशील अंग छुन खोज्छन् । असजिलो भन्दै युवतीले भनेकी छन्, ‘भयो के दाई’ । फेरि सोध्छन्, मेरो नाम के रे ? सुतिरहेकी युवती आफ्नो नाम बताउँछिन् । ‘ए तँ चाहिँ…, त मेरो बहिनी हैन’ उनी अघि भन्छन् । यो चाहिँ … पहिलो युवतीको नाम लिन्छन् । जसलाई चमनले ‘श्रीमती’को रूपमा सम्बोधन गरेका छन् ।

उनी तिनै युवती हुन्, युट्युबरहरूको अन्तरवार्तापछि सर्वत्र छाएकी थिइन् । पछि टिकटकले उनलाई भाइरल नै बनाइदियो । भिडियोमा अस्लिल हर्कत गरिरहेका युवक मदिराको मातमा गीत गाउन थाल्छन्, ‘फेरि फेरि नाइ न भन्नू ल ।’ उनीहरूमाथिको हर्कत यतिमा सिमित छैन, मेरी बुढी रिसाएकी छन् । जा ‘छ्याङ’ रक्सी ल्याउ । किस गरन बुढी । सँगै सुत्छन् । युवतीको अनुहार हाइलाइट गर्छन् । उनको स्तन छुन्छन् ।

५ मिनेट ३० सेकेण्डको भिडियोको अन्त्यतिर एक अर्का युवा देखा पर्छन् । दोस्री युवतीको काँधमा हात राख्दै भन्छन्, ‘यो मेरी गर्लफ्रेण्ड’ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमासमेत अपलोड भिडियो सुर्खतस्थित होटलमा खिचिएको हो । जहाँ टाउटे युवतीहरूले मदिरा सेवन गराएको स्पष्ट हुन्छ । घटनामा सलंग्न तीन जना पक्राउ समेत परिसकेका छन् । ती मध्ये एक जना होटल सञ्चालक समेत हुन् ।

अहिले बाहिर आएको यो प्रकरणलाई सामान्य रूपमा लिइनु हुँदैन । पछिल्लो समय युट्युव, टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल राउटे समुदायका युवतीमाथि पछिल्लो समय दुव्र्यवहार बढ्दै गएको छ । युट्युव, टिकटक बनाउने नाममा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराउने, अश्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्नेलगायतका नराम्रा कामहरु गर्ने गरेका छन् ।

यो निर्दोष राउटे युवतीमाथि गरिएको जघन्य अपराध हो । यो प्रकरणको पछाडि धेरै पृष्ठभूमि जोडिएका छन् । पहिलो, उनीहरुको सोझोपनको नराम्रो फाइदा युवाहरूले उठाए । उनीहरुमाथि कडा कारबाही हुनुपर्छ । यो सिंगो राउटे समुदाय र महिलामाथि भएको प्रहार हो । र दोस्रो, उनीहरू यौनकर्मी युवतीको रूपमा प्रयोग त भइरहेका छैनन् ? भन्ने प्रश्न पनि उब्जिएको छ । यसअघि पनि पैसाको प्रलोभन देखाएर उनीहरुमाथि प्रहार भइरहेको थियो । पछिल्लो घटना त सतहमा आएको मात्रै हो ।

भेरी नदी किनारमा फिरन्ते जीवन बिताइरहेका उनीहरू कसरी होटलको बन्द कोठासम्म पुर्‍याइए । यसले गम्भीर प्रश्न खडा भएको छ । यसले के देखाउँछ भने, अहिले राउटे समुदाय अन्य मानिसबाट पूर्णतः असुरक्षित छ । असुरक्षाको शिकार तिनै युवतीहरु भइरहेका छन् । त्यो पनि यौन दुव्र्यवहार जस्तो गम्भीर अपराधसम्म भएको छ ।