कुनै पनि भवन निर्माण वा रंगरोगन लगायतका काममा बाँस आवश्यक हुन्छ। तर यो बाँस काम सकिएपछि अलपत्र फ्याँकिन्छ। फोहोर हुन्छ, बाँसको महत्वबारे बुझाइ घट्दै जान्छ। २० वर्षीया फिबी बाराही र सौर्या केसीलाई घर वरपर यस्तै बाँस देख्दा लाग्थ्यो, केही उपयोग गर्न पाए हुन्थ्यो।

‘प्रयोग गरिएका सबै बाँस त्यत्तिकै कुहिएर जान्थ्यो। व्यवस्थापन गर्ने उपाय पनि रहेनछ,’ उनीहरूले भने, ‘हामीले यसको पुनः प्रयोगबारे इन्टरनेटमा पनि खोज्यौं, खास केही उपाय भेटिएन।’

त्यसैले यो कदम आफूले नै चाल्नुपर्छ भन्ने उनीहरूलाई लाग्यो। उनीहरूले पुराना बाँसका नयाँ सामान बनाउन थाले। आफ्नो यो कामलाई नाम दिए, ‘बाँस सस्टेनएबल्स।’ यसअन्तर्गत उनीहरू फूल राख्ने ‘भास’, मैनबत्ती, कलमहरू र मेकअप सामान राख्ने ‘होल्डर’ उत्पादन गरी इन्स्टाग्राममार्फत् बिक्री गरिरहेका छन्।



फिबी सामुदायिक स्वास्थ्य विषयमा स्नातक दोस्रो वर्षमा पढ्दैछिन् भने सौर्या जनस्वास्थ्यमा स्नातक पहिलो वर्ष। व्यवसाय क्षेत्रमा ज्ञान नभए पनि उनीहरूले नयाँ काममा आँट गरेका हुन्। बाँस सस्टेनएबल्स चार महिनाअघि आधिकारिक रूपमा इन्स्टाग्राम पेजबाट सुरू भएको हो।

बाँस सस्टेनएबल्सको भास। तस्बिर सौजन्यः बाँस सस्टेनएबल्सबाँस सस्टेनएबल्सका पेन-मेकअप सामान होल्डर। सानीआमा-ठूलीआमाका छोरीहरू फिबी र सौर्या सानैदेखि एकअर्कासँग नजिक थिए। उनीहरूको सम्बन्ध दिदीबहिनीभन्दा बढी साथीजस्तै छ। हरेक काम सँगै मिलेर गर्ने उनीहरूले सहकार्यमा व्यवसाय थालेका हुन्।

‘हामीलाई सानैदेखि हस्तकलामा रूचि थियो। निर्माणमा प्रयोग भएका बाँस पुनः प्रयोग गरेर नयाँ हस्तकला सामान बनाउने आइडिया हाम्रो सानुममीले दिनुभएको थियो,’ फिबी भन्छिन्, ‘सुरूमा बाँसबाट भास बनाएर आफन्तलाई बाड्यौं। पछि एकजना दिदीले यसलाई व्यवसायकै रूपमा लानुपर्छ भनेर सुझाउनुभयो।’

व्यवसायबारे केही जानकारी नहुँदा कसरी सुरू गर्ने थाहा थिएन। यही अलमलबीच एकदिन इन्स्टाग्राममा ‘बाँस सस्टेनएबल्स’ पेज खोले र व्यवसायको यात्रा सुरू गरे। फालिएको बाँस पुनः प्रयोग गरेर उनीहरूले घरमै भास, मैनबत्ती र पेन-मेकअप होल्डर बनाए। फोटो खिचेर इन्स्टाग्राममा राखे।

इन्स्टाग्राममा राखेकै भरमा सामान बिक्ला भन्ने आशा उनीहरूले राखेका थिएनन्। तर कम समयमै उत्पादनबारे सोधपुछ र अर्डर आउन थाल्यो। सामान बनाउन उनीहरू बाँस संकलन गर्छन् र आवश्यक आकारमा काट्न कारखाना लैजान्छन्। फिबी बाँसमा रंगरोगन गरेर चित्रहरू बनाउँछिन्। सौर्या मैनबत्ती बनाउँछिन्।

‘मैनबत्ती बनाउन इन्टरनेटबाटै सिकेकी हुँ,’ सौर्याले भनिन्, ‘ल्याभेन्डर, लेमन ग्रास लगायत विभिन्न फ्लेवरबाट बासनादार मैनबत्ती बनाउँछौं।’ बाँस सस्टेनएबल्सका उत्पादन तीन सयदेखि ४५० रूपैयाँसम्म पर्छ। उनीहरूले आफ्नो सामान प्याकेजिङमा पनि वातावरणलाई ध्यानमा राखेका छन्। आफैंले बनाएका पत्रिकाको झोला प्रयोग गर्छन्।

‘धेरैलाई हाम्रा सामान महँगो लाग्न सक्छ। तर सस्तोमा पाइने प्लास्टिकका सामानको तुलनामा यसले वातावरणमा पार्ने सकारात्मक प्रभाव र टिकाउको कुरा पनि छ,’ उनीहरू भन्छन्। बाँस सस्टेनएबल्सले चार महिनामै ३० भन्दा बढी उत्पादन बेचिसकेको छ। त्यसमध्ये ग्राहकले बाँसको मैनबत्ती रूचाएको उनीहरूले जानकारी दिए।

व्यवसाय सुरू भएपछि उनीहरू प्रकृति संरक्षणका लागि स्विडेनी समाजद्वारा गरिएको पहल ‘ग्रिन एक्सन विक २०२०’ मा सहभागी भएका थिए। यो एक विश्वव्यापी अभियान हो जसले मुख्यगरी दिगो खपतको कामलाई बढावा दिन मद्दत गर्छ। ‘यस वर्ष यो अभियानका विजेता हामी भयौं।। त्यसमार्फत् हामीले व्यवसाय कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे अझै धेरै सिक्न पायौं,’ फिबीले भनिन्।

आफूले जम्मा गरेको दस हजार रूपैयाँ लगानीबाट व्यवसाय सुरू गरेको उनीहरू बताउँछन्। उसो त उनीहरूलाई यो काममा पूरा समय दिन फुर्सद कमै छ। सौर्याका अनुसार उनीहरूको १२ बजेसम्म अनलाइन कक्षा हुन्छ। कक्षा सकिएपछि दुवै जागिरमा जानुपर्छ। सौर्या भन्छिन्, ‘पढाइ र जागिरले गर्दा काम गर्ने फुर्सद राति मात्र हुन्छ। कहिले त काम गर्दा १२ बज्छ। पढाइ पनि सकेसम्म नबिगार्ने कोसिस गरिरहेका छौं।’

आफ्ना उमेरका अरू साथी रमाइलो गर्दै हिँड्दा फिबी र सौर्या व्यवसायको चिन्ता गरेर बस्छन्। २० वर्षको उमेरमा पढाइ, जागिर र आफ्नै काम सुरू गर्दा उनीहरूको परिवारलाई गर्व नहुने कुरै भएन। उनीहरूका अनुसार परिवारले आफ्नो छोरीहरूको काम खुबै सरहाना गरेका छन्।

‘पहिला त हामीलाई पनि केही कुराको मतलब लाग्थेन। समय र परिस्थितिले परिपक्व बनाउने रहेछ,’ उनीहरू भन्छन्, ‘अरूबेला भेट हुँदा हामी आफ्नै कुरा गर्दै बस्थ्यौं। अहिले व्यवसायबारे कुरा हुन्छ।’ हाल व्यवसायका लागि उनीहरूलाई पुराना बाँस पाउन समस्या भइरहेको छ। खेर जाने बाँस प्रयोग गरेर सामान बनाउने सोचे पनि धेरै उत्पादनका लागि वरिपरि भेटिएका बाँसले पुगेको छैन।

फिबी भन्छिन्, ‘हामीले नयाँ बाँस किन्ने कुरै आउँदैन। त्यसैले पुराना फालिएका बाँस कारोबार गर्ने स्रोत खोजिरहेका छौं।’आफूहरूसँग बाँस काट्ने अनुभव नभएकाले तालिम प्राप्त व्यक्तिको सहयोगमा गृहिणीहरूलाई तालिम दिएर काम दिने सोच उनीहरूको छ।

व्यवसायबारे कुनै ज्ञान नभए पनि राम्रो आइडिया भए जोखिम लिन पछि हट्न नहुने सुझाव उनीहरूको छ। ‘सानै उमेरदेखि सिक्दै र अनुभव बटुल्दै गएपछि भविष्यमा सफलता पाउन सकिन्छ,’ उनीहरू भन्छन्, ‘हामी पनि सिक्ने चरणमै छौं।’ याे सामाग्री सेताेपाटीमा अनुषा अधिकारीले लेख्नुभएकाे हाे ।