बीस वर्षअगाडि दिदी-बहिनी अरुणा लाकौल श्रेष्ठ र मुना श्रेष्ठलाई एउटै कुराको चिन्ता थियो, वातावरण प्रदूषण । आफ्नो टोलमा जथाभावी फोहोर फ्यालेको देख्दा उनीहरूलाई भविष्यमा वातावरण कस्तो होला भन्ने डर मनमा बसिसकेको थियो।

यो समस्या समाधान गर्न वरिपरिका मानिसलाई सम्झाउन खोजे। कसैले वास्ता गरेनन्। सरकारले वातावरण संरक्षणका लागि कुनै नियम लागू गर्ला भन्ने आश पनि मरिसकेको थियो।  त्यसैले आफैं कदम चाल्नुपर्छ भनी अरुणा र मुनाले सुरू गरे, ‘जमर्को’।

जमर्को अन्तर्गत उनीहरूले प्रयोग भइसकेका कागज फेरि उपयोग गरी त्यसबाट नयाँ सामान बनाउन थाले। आज जमर्को स्थापना भएको दुई दशक भयो। अहिले पनि जमर्कोले प्रयोग भएका कागजबाट चिठी, ल्याम्प-सेड, गिफ्ट बक्स, नोटबुक, पत्रिकाबाट पेन्सिल, डायरी लगायत थुप्रै सामान उत्पादन गरिरहेको छ।



यहाँ दस रूपैयाँ पर्ने खामदेखि नौ हजार पर्ने ल्याम्प-सेडसम्म पाइन्छ। यहाँका सामान विदेश पनि निर्यात हुन्छन्। अरुणा र मुनाले सुरू गरेक जमर्को अहिले उनीहरूको अर्को पुस्ताले सम्हालिरहेको छ। अरुणाकी छोरी कृतिका लाकौल श्रेष्ठले स्नातकोत्तर सकेलगत्तै उनीहरूको कदम पछ्याएकी हुन्।

कृतिका आफ्नी आमा र सानिमाले देखेको सपना पूरा गर्ने दौडमा लागि परेकी छिन्। ‘जमर्कोको अर्थ कोसिस गर्नु हो। यो नाम हाम्रो काममा पनि झल्किन्छ,’ कृतिका भन्छिन्, ‘हामी वातावरण प्रदूषण कम गर्न, महिलशक्ति वृद्धि तथा रोजगार दिने कोसिसमा छौं। आमा र सानिमाले जमर्को खोल्नुको मुख्य उद्देश्य पनि यही थियो।’

कृतिकाका अनुसार जमर्को सञ्चालन गर्नुअघि अरुणा ग्लु कारखाना चलाँउथिन् भने मुना एनजिओमा काम गर्थिन्। राम्रै कमाइ हुने काम छाडेर श्रेष्ठ दिदीबहिनीले कागज उत्पादनको तालिम लिए। तालिम खासै राम्रो नभएकाले उत्पादन गुणस्तरीय हुन सकेन। उनीहरूले दुई वर्ष तरिका सिकेरै बिताए, धेरै कागज खेर पनि गयो।

आफूहरूले जानेपछि उनीहरूले अरू महिलालाई सिकाउने सोचे। आमा र सानिमाले यो सीप अरूलाई बाँड्न सरकारसमक्ष प्रस्ताव समेत राखेको कृतिका बताउँछिन्। कसैले वास्ता नगरेपछि उनीहरूले आफ्नै पहलमा काम गरिरहे। केही महिलालाई सिकाए। सँगै आफ्नो नयाँ पुस्तामा पनि सीप हस्तान्तरण गरे।

कृतिका भन्छिन्, ‘त्योबेला ग्राहकमै वातावरण संरक्षणको चेत थिएन। पुनः प्रयोग गरेर बनाइने कागजका सामान ग्राहकले मन पराउँथेनन्। कमाइ निकै थोरै हुन्थ्यो। यो स्थिति केही हदसम्म बदलिएको छ। तर अझै पनि व्यवसाय टिकाउन गाह्रो भइरहेको छ।’

लगानी र जनशक्ति ठूलो नभएकाले अरुणा र मुनाले कागजबाट काम थालेका थिए। त्यो बेला पाँच लाख लगानीमा बालुवाटारमा खुलेको जमर्कोको कारखाना र पसल अहिले सामाखुसीमा छ। यसको एउटा पसल झम्सिखेलमा पनि थियो, कोरोना लकडाउनपछि बन्द भयो।

‘आमाहरूका पालामा अहिलेजस्तो जताततै कन्सेप्ट स्टोर थिएनन्। मलाई उहाँहरूको काम देखाउन मन थियो। झम्सिखेलमा जर्मको स्टोर खोलेकी थिएँ, लकडाउनले आर्थिक समस्या ल्यायो। बन्द गर्नुपर्‍यो।’

जमर्कोका सामान पुराना कागजका साथै लोक्ताबाट पनि बनाइन्छ। डाँफे नामको पातबाट बन्ने लोक्तालाई नेपाली हाते कागज पनि भनिन्छ। लोक्ता तुलनात्मक रूपमा अरू कागजभन्दा फरक र महँगो हुन्छ। त्यसैले यसबाट बनेका सामान पनि अलि महँगै हुन्छन्। तर जमर्कोको पहिलो उद्देश्य प्रयोग गरिएका कागज पुनः प्रयोग गर्नु नै हो।

सुरूदेखि नै महिला सशक्तिकरणमा जोड दिएको जमर्कोमा अहिले सबै उत्पादन महिला कर्मचारीले नै बनाउने कृतिका बताउँछिन्। ‘एउटा भनाइ छ, आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ,’ कृतिका आफ्नी आमा र सानिमाको काम सम्झिन्छिन्, ‘एउटी महिलाले अलिकति पैसा कमाउन सके उनी आफ्नो परिवार हेर्न सक्षम हुन्छिन् र कसैको आधार खोजिरहनु पर्दैन। हामी पनि यही कुरा अपनाइरहेका छौं।’

जमर्को अघि बढाउन अरुणा र मुनाले परिवारको साथ सधैं पाए। त्यो प्रभाव कृतिकामा पनि पर्‍यो। सानैदेखि आमाहरूको सक्षमता र मिहिनेत देखेर हुर्किएकी कृतिका उनीहरूजस्तै हुने सपना देख्थिन्। आज उनीहरूको काम सम्हाल्न पाउँदा खुसी लाग्ने उनले बताइन्।

‘मसँग कामका विकल्प नभएर जमर्कोमा आएकी होइन,’ कृतिका भन्छिन्, ‘साथीहरूले जागिर गरेर राम्रो पैसा कमाइरहेको देख्दा कहिलेकाहीँ जागिर खाने रहर पनि लाग्छ। फेरि आमाहरूले गरेको दुःख, यो कामले समाज र वातावरणमा ल्याउने परिवर्तन सम्झेर आफू यसैमा लाग्नुपर्ने विश्वास जाग्छ।’

कहिलेकाहीँ पुस्तान्तरका कारण आमा र सानिमाको अवधारणासँग उनको काम मिल्दैन। समयसँगै कृतिका काममा केही परिवर्तन ल्याउन खोज्छिन्। आमाहरूलाई सहजै चित्त बुझ्दैन।

‘तर आमाहरूकाे मिहिनेत र काम अनुभव आदर गर्छु। हरेक काम गर्नुअघि उहाँहरूसँग सल्लाह लिन्छु,’ उनी भन्छिन्। जमर्कोका उत्पादन नेपालबाहेक स्विट्जरल्यान्ड, अमेरिका, अस्ट्रेलिया तथा अन्य देशमा निर्यात हुन्छन्। कृतिकाका अनुसार यस्ता हस्तकला सामान विदेशीहरूले बढी मन पराउँछन्।

‘नेपालमा पुन प्रयोग भएर उत्पादित सामान धेरैले किन्दैनन्। वातावरण संरक्षणबारे चेत छ भएका र यसका लागि आफ्नो तर्फबाट केही गर्छु भन्नेले मात्र किन्छन्,’ कृतिका भन्छिन्, ‘कतिपयले महँगो पनि भन्छन्। हस्तकला सामान महँगै हुन्छ। हाम्रो जमर्को पैसाका लागि होइन सामाजिक प्रभावका लागि हो। वातावरण संरक्षणका लागि गरिएको व्यवसाय हो।’

(जमर्कोलाई वेबसाइट, फेसबुक पेज वा ०१-४३५१०५० मार्फत् सम्पर्क गर्न सकिन्छ।) Source : Setopati