मेरो पहिलो महिनावारी चौध वर्षको उमेरमा भएको थियो। त्यो बेला म कक्षा सातमा पढ्थेँ। जाडोयाम भर्खर सुरू भएको थियो र बिहान स्कुल जाने बेलामै मलाई हल्का पेट दुखिरहेको थियो। त्यो दुखाइ अन्य बेलाभन्दा अलि फरक थियो। ग्यास्ट्रिकले दुखेको होला भनेर मैले त्यति वास्ता गरिनँ। तर स्कुलमा हुँदा नै दिउँसोतिर मलाई महिनावारी भयो।

सुरूमा त महिनावारी भएको हो कि होइन भनेर झुक्किएकी थिएँ। साथीहरूले साँच्चिकै भएको हो भनेर बुझाएपछि विश्वास गरेँ। घरमा आमा महिनावारी भएको देखिरहेको र स्कुलमा पनि यो विषय पढाएकाले म धेरै आत्तिइनँ।

महिनावारी भएको थाहा पाएपछि आमालाई सुनाएँ। बरू आमा उल्टै आत्तिनुभयो। उहाँले यो कुरा कसैलाई नभन्न सिकाउनुभयो, मानौं त्यो कुनै डरलाग्दो विषय थियो। घरमा मैले पन्ध्र दिनसम्म लुकेर बस्नुपर्‍यो। त्यतिखेर मेरो परीक्षा चलिरहेको थियो। त्यसैले बुबा र दाइले नदेख्ने गरेर लुकीलुकी स्कुल जान्थेँ।



त्यो बेला सबभन्दा गाह्रो सात दिनसम्म बिहान सबेरै उठेर चिसोमा नुहाउन भएको थियो। पन्ध्र दिनपछि पण्डित बोलाएर चोख्याएपछि बल्ल मलाई भान्सातिर छिर्न दिइएको थियो। सानैदेखि आमाले महिनावारी बारेको देखेकाले मलाई नौलो केही थिएन। तर यस्ता चलन किन मान्नु पर्ने होला भनेर मनमा प्रश्न उठ्थ्यो।

अहिले पनि मेरो घरमा चार दिन महिनावारी बार्नुपर्छ। जनै लगाएका पुरुषलाई छुन नपाउने नियम छ। खाना खानेबेला पनि भान्साकोठा बाहिर बसेर खानुपर्छ। सानैदेखि यही वातावरणमा हुर्किएकी मलाई यी कुराले त्यति फरक पार्दैन। तर आफ्ना केटी साथीहरू घर आउँदा पनि उनीहरूलाई त्यस्तै व्यवहार गरियो भने नरमाइलो लाग्छ।

मेरी आमा बाल्यकालदेखि नै कडा संस्कार भएको घरमा हुर्किनुभयो। त्यसैले उहाँका लागि महिनावारी बार्नै पर्ने कुरा भइसक्यो। बुबाको सोचमा पनि यो विषयलाई लिएर केही फरक छैन। अब आएर मैले आमाको यो सोच परिवर्तन गर्न सक्दिनँ। ‘पितृको सराप’ लाग्छ भन्ने डर उहाँहरूको मनमा छ। त्यसैले आफ्नो लागि नभइ, परिवारको मुख बन्द गर्न भए पनि म घरमा महिनावारी बार्छु।

महिनावारी विषय हामीले छ कक्षामा पढ्नु पर्थ्यो र यो विषय पढ्न मलाई निकै रूचि लाग्थ्यो। म कक्षामा ध्यान दिएर सुन्थेँ र नजानेको कुरा शिक्षकलाई सोध्थेँ। तर कोही साथीहरू लाजले टाउको तल पार्थे। मलाई भने मतलब लाग्दैन थियो।

अहिले आफ्नो घरमा महिनावारी बार्ने चलनले गर्दा कहिलेकाहीँ साथीहरूको घर जाँदा पनि भान्सामा छिर्न सक्दिनँ। यसमा म आमाबुबालाई पूरै दोष दिन्नँ। उहाँहरू जुन तरिकाले हुर्किनुभयो, मलाई त्यही सिकाउनुभएको हो। मेरो पुस्तासम्म फैलिसकेको यी कुचलन भविष्यमा भने अघि बढ्न दिन्नँ भनेर मैले अठोट लिएकी छु। आमाहरूले मलाई सिकाउनुभएका कुरा म मेरा छोराछोरीलाई सामना गराउँदिनँ।

महिनावारी बार्नु पछाडि वैज्ञानिक कारण थिए होला, तर समयसँगै यसलाई कुन तरिकाले लिने कुरामा फरक पर्छ। यस्तो बेला महिलाको शरीर अरू बेलाभन्दा कमजोर हुन्छ। सक्दो आराम चाहिन्छ। तर महिनावारी भएकालाई छुनै नहुने, सामान दिँदा पनि भुइँमा राखेर दिनु गलत हो।

मलाई महिनावारी हुनुभन्दा अगाडि अत्ति नै रिस उठ्छ, रुन मन लाग्छ र चिढिन्छु। अधिकांश महिलालाई महिनावारी हुनु एक हप्ता अगाडिदेखि नै ‘पिएमएस’ हुन थाल्छ। (पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायत समस्यालाई ‘पिएमएस’ अर्थात् ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम’ भनिन्छ। पिएमएसबारे स्टोरी पढ्नुस्ः कस्तो बेला छिनमै रिसाउँछन्, छिनमै खुसी हुन्छन् महिला?)

त्यस्तो बेला परिवारले गर्ने व्यवहारले हाम्रो मानसिकतामा पनि धेरै असर पारिरहेको हुन्छ। यो विषयमा भने मेरो दाइ निकै बुझ्झकी हुनुभयो। दाइले महिनावारी बेला छोइछाइ गर्ने विषय कहिल्यै समर्थन गर्नुभएन। उहाँ आफैं मेरा लागि प्याड किन्न जानुहुन्थ्यो र मलाई गाह्रो भएको बेला खाना वा औषधि ल्याइदिनुहुन्थ्यो।

मलाई महिनावारी हुनुभन्दा अगाडि बेस्सरी पेट दुख्छ। शरीरबाट रगत आएपछि भने ज्यान थकित भएको महसुस हुन्छ। तर महिनावारीकै कारण मैले अहिलेसम्म आफ्नो सुटिङ रोकेकी छैन। औषधि खाएर भए पनि म काममा जान्छु।

एकपटक ‘मेरी बास्सै’को सुटिङ बेला मलाई महिनावारी भएर बेस्सरी पेट दुखेको थियो। म कोहीसँग बोल्न सकिरहेकी थिइनँ। अनि कोही बोल्न आएपनि रिस उठेको थियो। पिएमएसका कारण अरूको चित्त दुखाउँला भनेर अगाडि नै सबैलाई सचेत गराउँछु।

कहिलेकाहीँ सुटिङमै महिनावारी भइदिन्छ। त्यस्तो बेला मेकअप आर्टिस्टहरूसँग प्याड मागेर लगाउँछु। अझ महिला कलाकारले भोग्नुपर्ने अर्को मुख्य समस्या शौचालयको अभाव हो। यस्तै गाह्रो परेका बेला केही स्थानीयले शौचालय प्रयोग गर्न दिनुहुन्छ। तर केही व्यक्ति यो कुरामा निकै छुच्चा भइदिन्छन्। हरेक पटक सुटिङका बेला महिनावारीका समस्या भोग्न मानसिक रूपमा तयार भएर जानु पर्छ।

मेरो सहकर्मीहरू यो विषयमा सहयोगी हुनुहुन्छ। महिनावारी भएका बेला उहाँहरूले मेरा लागि तातो पानी ल्याइदिनुहुन्छ र काममा पनि धेरै खटाउनु हुन्न। महिनावारी प्राकृतिक प्रक्रिया हो र यसलाई ठूलो विषय बनाउनुपर्ने केही कारण छैन। यही कुरा शास्त्रसँग जोडेर ल्याएकाले महिनावारीका कुचलन मानिसका दिमागमा गढेको छ।

महिनावारी सम्बन्धी अन्धविश्वास पनि थुप्रै छ हाम्रो समाजमा। एकपटक मेरा बुबा तराइ जानुभएको बेला त्यहीँकी एक मातालाई हाम्रो परिवारको जोखाना देखाउनुभएछ। त्यसमा आमाको जोखाना देखिएन रे। पछि आमालाई फोन गरेर सोध्दा आमा महिनावारी हुनुभएको रहेछ र त्यसैले नदेखिएको विश्वास गरिएको थियो। पढे-लेखेकाले यस्ता अन्धविश्वास मान्नु हुँदैन।

बार्ने भन्नेबित्तिकै महिलालाई सामाजिक कुरामा बाँध्न खोजिएको हो भनेर बुझ्नुपर्छ। महिलालाई आराम दिने बहानामा छुद्र व्यवहार गर्नु कुनै हालतमा राम्रो हुन सक्दैन।

मान्छेको हात अलिकति काट्दा त गाह्रो हुन्छ, चार दिनसम्म नचाहेर पनि निरन्तर शरीरबाट रगत आउँदा शरीर कति गल्छ होला! अनि एउटी महिलाको शरीरमा भइरहेको यो प्राकृतिक प्रक्रियालाई लिएर बाहिरी मानिसलाई अनावश्यक समस्या परेको हुन्छ।

महिनावारी भएकी महिलाले छुँदा कसैलाई दाग लाग्यो वा एलर्जी भयो वा कपाल झर्‍यो? के भयो? म यो कुरा बुझ्न सक्दिनँ, कसैको महिनावारीलाई लिएर अरूलाई किन यति टाउको दुखिरहेको छ? महिनावारीका कुचलन हटाउन शिक्षा दिनुपर्छ भनिन्छ। तर परम्परागत मानसिकतामा अल्झिएका मानिसलाई यो कुरा बुझाउन सजिलो हुँदैन।

ज्ञान दिँदा एकछिन सुनेजस्तो गर्छन् तर व्यवहारमा लागू गर्ने बेला पारा उस्तै हुन्छ। बरू हामीले विद्यालयहरूमा प्रजनन र महिनावारी स्वास्थ्यका विषय बालबालिकालाई खुलेर पढाउनुपर्छ। ताकि आउँदो पुस्ताले महिनावारीका कुचलन हटाउँदै परिवर्तन ल्याउन सकून्। Source: Setopati