चिनी मिलले दिन बाँकी उखुको पैसा दिलाइदिन माग गर्दै उखु किसानले काठमाडौको माइतीघरमा प्रदर्शन गर्दै आएका छन्। वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं धाइरहेका छन्। गत वर्षदेखि हिउँदको चिसो काँप्दै काठमाडौंसँग आशाको नजरले हेर्दै छन् उनीहरुले।

तर तीन तहको सरकार भएको देशमा अझै उनीहरुको कुरा सुनुवाइ भएको छैन। काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन आग्रह गरिरहेका छन्।

केही दिनअघि काठमाडौं आएका उनीहरुले आज पनि माइतीघरमा प्रदर्शन गरे। केही चिनी मिलले किसानमाथि भारतीय नागरिकको आरोप लगाउँदै पैसा दिन नसक्ने बताएपछि उनीहरुले माइतीघरको सडकमै नागरिकता समेत देखाए। पैसा नपाएपछि ऋणमा डुबेका किसानले माइतीघरमा आँशु नै झार्न पुगे।



कोभिड–१९ को संक्रमणकालिन अवस्था त्यसमाथि पनि उद्योगको निरन्तरको घाटाको व्यापारमा समेत उद्योगले किसानहरुको भुक्तानी नरोकेको बेला अनावश्यक बार्गेनिङ गरेर बिचौलियाले किसान उचाल्ने काम गरेको मिलको आरोप छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्नपूर्ण सुगर मिलले नामै तोकेर किसानको नाममा आन्दोलन चर्काउने विचौलियाले उद्योगसँग पटक पटक गरी बार्गेनिङ गरेर झण्डै ४ करोड रुपैयाँ बराबरको रकम लगेको आरोप लगाएको छ ।
उखु किसान आन्दोलनको नेतृत्व गरिरहेको तर आफूलाई कृषक भन्ने संघर्ष समितिको सचिव हरिश्याम राय वास्तविक किसान नभएर विचौलियाँ भएको उद्योगको आरोप छ । उनले उद्योगसँग वार्गेनिङ गर्दै पटकपटक गरी कुल ३ करोड ३३ लाख ९२ हजार ८ सय ९९ ९रु।३,३३,९२,८९९० रुपैयाँ लगेको जनाएको छ ।

रायले पैसाका लागि उद्योगसँग बारम्बार बार्गेनिङ गर्ने गरेको र पैसा नदिए किसान उचालेर आन्दोलन चर्काउछु भनेर आफूहरुलाई धम्की दिने गरेको समेत उद्योगले बताएको छ ।
त्यसो त विचौलियाँ रायले भुक्तानी नपाएका किसानसँग उखुका पर्ची सस्तोमा किनेर उद्योगलाई महँगोमा बेचेर करोडौं कुम्याउने गरेको समेत उद्योगले आरोप लगाएको छ ।

‘आन्दोलनको नेतृत्व गरिरहेका आफूलाई कृषक आन्दोलनका सचिव बताउने हरिश्याम राय बिचौलियाँ हुन् र यो आन्दोलनको नाममा उनले हामीसँग मोलमोलाई गरिरहेको जानकारी गराउँन चाहान्छौं ।’ अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनको स्वार्थअनुसार हामीले पैसा दिन नसकेपछि उनी आन्दोलन गर्न भन्दै काठमाडौं आउँछन् र पुनः मोलमोलाई सुरु गर्छन् । यसमा अरु व्यक्ति पनि संलग्न रहेको हुनसक्ने हाम्रो बुझाइ छ ।