काठमाडौँ | परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दागबत्ती दिने गरेको र छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्।म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्।

उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना। परिचय नै नभएका वेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म ४५ वटाभन्दा बढी वेवारिसे शवको व्यवस्थापन गरिसकेकी छन्। सायद, परिस्थिति अनुकूल हुन्थ्यो त उनी यतिबेला आफ्नै संसारमा रमाइरहेकी हुन्थिन्। तर कोरोना भाइरसको महामारीले गर्दा उनको काम अहिलेका लागि रोकिएको छ।

बधाई दिँदै गाउँलेले भने, ‘सपनाले गाउँकै नाम राखिन्’ – काठमाडौँ — बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्‍यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर ।



दिनभर टोलाइरहन्थिन् सपना । चिच्याएर रुन खोज्थिन् तर आवाज भित्रै हराउँथ्यो । के भइरहेको छ, सोच्न सक्ने अवस्था थिएन । भोकै रात काट्थिन् । शरीरमा पाइन्ट, टिसर्ट अनि ज्याकेट । लगलग काम्दै जाडोको त्यो समय एकै ठाउँमा नबोली बस्थिन् । ओठबाट हाँसो खोसिएको थियो । बोली बन्द भएको थियो । कसैले बोलाउँदा पनि झसंग हुन्थिन् । कतै परबाट बोलाएझैं कानमा अरुको बोली ठोकिन्थ्यो । निन्द्रा हराएको थियो । दया गरेर कसैले दिएको खानाले पेट भर्थिन् ।

त्यो पनि नपाउँदा ६/७ दिनसम्म भोकै बस्थिन् । भोकले रन्थनिँदा मनमनै कसैले एक छाक दिए हुन्थ्यो भन्ने प्रार्थना गर्थिन् । पानी पिएरै भोक मेट्न खोज्थिन् । अनि सानो डायरीमा कलमले कोरिबस्थिन् । दिनभर सडकमै बिताए पनि रातमा प्रहरी चौकीको प्रतिक्षालय पुग्थिन् उनी । कारण, कसैले गलत नजरले हेरे प्रहरीलाई गुहार्न सकिन्छ भन्ने विश्वास थियो उनलाई ।

‘सडकमा जीवन बिताउने छोरी मान्छेलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । चौकी बाहिर रात कटाए, केही भयो भने प्रहरी चौकीमा प्रहरीहरु त हुनुहुन्छ भन्ने हुन्थ्यो,’ सडकको जीवन सम्झँदै सपना सुनाउँछिन्,’ढोकामा उभिने एकजना प्रहरी दाइले सँधै मलाई हेरिरहनुहुन्थ्यो । साँझ पर्नेबित्तिकै आइपुग्छ, कसको छोरी होला, कहाँबाट आइन् होला भन्ने सोच्दो हो ।’ त्योबेला उनको शरीरको तौल घटेर ३२ किलो भयो ।

एकदिन सपनालाई सहनै नसक्ने भोक लाग्यो । बिस्कुट के खान लागेकी थिइन् उनको ध्यान छेउमै रोइरहेको अनाथ बच्चातिर गयो । आफूले खाँदै गरेको बिस्कुट त्यो बालकलाई दिइन् । त्यतिखेर झल्याँस्स म्याग्दीमा रहेका आमाबुबाको झल्को आयो । ‘धेरै याद आयो उहाँहरुको । कान्छी छोरी मलाई घरमा सबैले धेरै माया गर्नुहुन्थ्यो । खाना नखाँदा जबरजस्ती खुवाउनु भएको दिनको याद आयो,’ सपनाले सुनाइन् ।

त्यसपछि सपनाले सडक छोड्ने निर्णय लिइन् । सोचिन्, ‘म यस्तो मान्छे त होइन, के बिग्रेको छ गल्ती सबैले गर्छन् । मैले मेरो गल्ती सुधार्नुपर्छ ।’ त्यसपछि उनले आत्मविश्वास बढाएर सडकको जिन्दगी त्यागिन् । विद्यालय पढ्दै गर्दा सपनाको हातमा मोबाइल पर्‍यो । कक्षा ९ मा फेसबुक खोलिन् । नयाँ साथीहरु भेटिन् । नराम्रो साथी संगतमा रमाउन थालिन् । २०७३ मा श्री महेन्द्र रत्न उच्च माध्यमिकबाट एसएलसी दिएर कलेज पढ्न बेनी आइन् । भर्चुअल संसारमै रमाउन थालिन् उनी ।

फेसबुकबाटै भेटेको एक व्यक्तिसँग बिहेको सम्बन्ध गाँसियो । तर, त्यो सम्बन्धलाई बिहे मान्दिनन् उनी । ‘बिहेकै रुपमा त्यसलाई लिँदिनँ । कसैको जिन्दगी सपार्न कसैको जिन्दगी प्रयोग गरिएको थियो । म प्रयोग भएँ त्यो ठाउँमा,’उनले सुनाइन्,’घर परिवार कसैले सुधार्न नसकेको व्यक्तिलाई बिहे गरिदियो भने सुध्रिन्छ भन्ने उसको परिवारलाई लाग्थ्यो । त्यो परिबन्धमा सम्बन्ध जोडियो ।’

त्यतिबेला उनलाई पनि सुधार्न सक्छु भन्ने लागेको रहेछ । तर, एकअर्काप्रति कदर नभएपछि तीन महिनामै सम्बन्ध टुट्यो । त्यो बेला ‘विवाह’लाई खैलौनाको रुपमा लिइएको उनी सुनाउँछन् । सम्बन्ध टुटेपछि म्याग्दी फर्किन् उनी । आमाले बिहे भएको छोरी पतिकै घरमा बस्नुपर्ने सल्लाह दिएपछि उनी फेरि त्यो सम्बन्धमा फर्किन् । २ वर्षअघिको तीजमा घर फर्कँदा उनीमाथि नराम्रो व्यवहार गरियो । यातना दिइयो ।

त्यो सम्बन्ध टुटेपछि उनको मनमा मर्ने सोचहरु मात्र आउन थाल्यो । धेरै पटक आत्महत्याको प्रयास गरिन् । जीवनदेखि हारेर कहिले पङ्खामा पासो लगाइन् त कहिले छतको डिलमा आँखा बन्द गरेर हिँडिन् । तर, उनको मर्ने हर प्रयास असफल भयो । त्यसपछि हो सपना सडकमा आएको ।

समाजले अनेक कुरा गर्थे । सेतो कापीमा लागेको दागझैं आफ्नो जिन्दगीमा त्यो सम्बन्धले बनाइदिएको दागले उनलाई अर्धपागल नै बनायो । ‘फ्रस्टेसनजस्तो आखिर के नै गर्न सकें र भनेर धेरै टोलाउँथे । डिप्रेसनजस्तो अनुभव। गाह्रो भयो बाँच्न,’ सडक जीवन सम्झन्छिन्,’साँझ निदाए भने भोली उठ्छ उठ्दैन ठेगान हुन्थेन। बेलाबेला बेहोस् हुन्थें ।’

सडकको त्यो जीवन सम्झँदा आज पनि उनको मनमा चिसो पस्छ । ‘पीडा सुनिदिने मानिस कोही होस् । कसैले मेरो पीडा सुनिदिओस् भन्ने लाग्थ्यो । तर सडकको मान्छेसँग को बोल्न आउँथ्यो र ?’ अवरुद्ध गलामा उनले प्रश्न गरिन् । सडकबाट म्याग्दी फर्केर उनले १२ को पढाइ सकिन् । त्यसपछि बेवारिसे शव व्यवस्थापनमा विनयजंग बस्नेतसँग मिलेर काम गर्न थालिन् । विनयजंगलाई एसएलसी दिनु अगावै चिन्थिन् उनी ।

आफूले पनि सडकको जिन्दगी बिताएकै कारण बेवारिसे शव व्यवस्थापनमा संलग्न भइन् । ‘हिजो समयमा त्यसरी नै हिँडेको भए के थाहा म बेवारिसे भएर मर्नु पो पर्थ्यो कि । त्यही कारणले मेरो जीवनसँग मेल खाएको र मानव संवेदनासँग जोडिएको भएर यो सेवामा लागें । बेवारिसे लास भन्नेबित्तिकै पारिवारिक आत्मियताको अनुभव हुन्छ,’ उनले सुनाइन् ।

बीबीसीको प्रभावशाली ‘सय महिला-२०२०’ को सूचीमा नेपालकी सपना – तीन वर्षदेखि शव व्यवस्थापनमा सक्रिय सपना १ वर्षयता फ्रन्टलाइनमा रहेर दागबत्ती दिइरहेकी छिन् । अहिलेसम्म सयभन्दा बढी बेवारिसे शवको सदगत गरिसकिन् सपनाले । विनयसँग मिलेर भने ३ सयभन्दा बढी शवको सद्गत गरिसकेको उनी बताउँछिन् ।

कुनै समय छोरीले शव आएको बाटो देख्यो भने त्यता फर्किनु हुँदैन भनेर आमाले सपनालाई लुकाउँथिन् । तर, अहिले सपनाको कर्मभूमि नै आर्याघाट बनेको छ । १७ वर्षको उमेरमा उनले पहिलो पटक १७ वर्षकै बेवारिसे युवतीको सदगत गरेकी थिइन्। ‘उसको अनुहार हेर्दा झस्केको थिएँ म । त्यो बेला म पनि १७ वर्षकै थिएँ। हिजोको समयमा म सडकमै मरेको भएँ । आज यही लासको ठाउँमा म पो हुन्थें कि । भावुक पनि भएँको थिएँ,’ आफ्नो अनुभव सुनाइन् ।

पछिल्लो समय उनलाई बेवारिसेको उपनाम नै दिइएको छ । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध सपनाको नाम हालै बेलायती सञ्‍चारमाध्यम बीबीसीले सार्वजनिक गरेको विश्वभरका सय प्रेरणादायी महिलाको सूचीमा पर्‍यो । ‘तेरो छोरीले गाउँको नाम फाल्यो । परिवारको नाक काट्यो,’ भन्ने आफन्तहरु त्यस दिन बिहानै सपनालाई बधाई दिन घरमै आए । सपनाकी आमाबुवालाई बधाई दिँदै भन्दै थिए, ‘सपनाले गाउँकै नाम राख्यो । विश्वमा सपना कहाँको भन्यो भने म्याग्दीको भनेर कुरा आउँछ।’

त्यतिबेला आमा खाना खाँदै थिइन् । खाँदै गरेको गाँससँगै आमा खुसीले रोइन् । बुबा पनि पहिलो पटक त्यसरी खुसीले रोएको देख्दा आफूले जीवनमा केही उपलब्धि पाएको भन्ने सपनालाई लाग्यो । अघिल्लो दिन रातिसम्म पारिपट्टि गाउँमा अपाङ्ग/असक्तलाई खाद्यान्न बाँड्न व्यस्त भएकी सपनाले भने ओछ्यानमै हुँदा त्यसबारे खबर पाएकी थिइन् ।

विदेशबाट दाइ र दिदीको बधाई पाइन् । राज्यले आफ्नो कामको मूल्यांकन नगरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेको बताउँछिन् सपना । ‘दिनरात भोक प्यास नभनिकन हामी खटिरहेका थियौं । खाना खाने, पानी पिउने फुर्सद हुँदैन थियो । त्यसरी हिँड्ने क्रममा राज्यले मूल्यांकन गरेन,’ उनले भनिन्, ‘बीबीसी जस्तो ठूलो मिडियाले हाम्रो मूल्यांकन गरिदियो । एकदमै खुसी छु ।’

कहिले रातको १ बजे उठेर शवको व्यवस्थापनमा गर्छिन् त कहिले लासलाई दागबत्ती दिएर १२ बजे ओछ्यान पस्छिन्। बेवारिसे शव भेटियो या अलपत्र परेका मानिसहरु भेटिए भने सुरुमै सपना र विनयको फोन बज्छ । रातभर बेवारिसे लास व्यवस्थापन बिताएका दिनहरु कैयन छन् ।

केही दिनअघि मात्रै ललितपुरमा बेवारिसे शव भेटिएको भन्दै प्रहरीले विनय र सपनालाई डाके । रातको १ बजे मस्त निन्द्रामा थिइन् सपना । प्रहरीले शव दुर्गन्धित भइसकेको भनेपछि उनी दुई त्यति नै बेला उठेर व्यवस्थापनमा लागिन् । ‘१ बजे गएका हामी लगभग बिहान ५ बजे पोस्टमर्टमको प्रक्रिया हुँदाहुँदै ६ बजेतिर लास जलाउन सुरु भयो,’ उनले भनिन् ।

छोरीले दागबत्ती दिने मान्यता छैन हिन्दु परम्परामा । तर १ वर्षयता सपनाले त्यो मान्यता तोडेर बेवारिसेको सेवा गर्दै आएकी छिन् । उनले पहिलो पटक सद्गत गर्दा आमासँग अनुमति मागेकी थिइन् । उनलाई आमाले बेवारिसेको सद्गत गर्नु भाग्यको कुरा रहेको भन्दै हौसला दिइन् । तर समाजले मृतकको जात नबुझी सद्गत गरेको भन्दै उनको कुरा काट्थे । ‘छोरी मान्छेले सद्गत गरेको देख्दा त्यो शवको आत्माले मुक्ति पाउँदैन’ भन्ने कुरा नसुनेका होइनन् । तर उनलाई लाग्छ,’वर्षौंदेखि सडेर, गलेको शवले दागबत्तीको आस गरेको हुन्छ ।’

हरेक परिवारमा छोराकै जन्म हुन्छ भन्ने छैन । त्यसैले छोरीले पनि दागबत्ती दिनुहुन्न भन्ने कुरा चिर्दै उनी अगाडि बढिन् । उनका बुवाआमा तीनै छोराछोरीको हातबाट दागबत्ती लिने कुरा गर्छन् । ‘हामी मर्‍यौं भने त हाम्रो डल्ली रुँदा पनि रुँदिन होला भन्नुहुन्छ । त्यतिका लासलाई दागबत्ती दिइसकिन् भनेर आमाबुवाले जिस्काउनु हुन्छ,’ उनले सुनाइन् ।

बेवारिसेको शव धुँवामा परिणत भइरहँदा कस्तो अनुभव हुन्छ ? प्रश्न गर्दा जवाफमा उनले भनिन्,’खुसी लाग्छ । कति समयदेखि खुम्चेर बसेको शरीरमा दागबत्ती दिन्छौं हामी । उसको सद्गत गरिएको शरीर खुल्दै हावामा उड्दै जान्छ । अब उसको कर्मअनुसार स्वर्ग वा नरक जान्छ भन्ने लाग्छ ।’

अब सपनाले स्नातक पढ्ने सोचेकी छिन् । आफ्नो जीवनलाई बेवारिसेकै व्यवस्थापनमा समर्पित गर्ने उनको सपना छ । अलपत्र सकडका बेवारिसेलाई हाँस्न सिकाउने सपना जिन्दगीसँग हार्नेहरुलाई हिम्मत नहार्न हौसला दिन्छिन्, ‘हिजो म माग्नेसमेत भएको थिएँ । कसैले चिन्न नसक्ने भएको मान्छे अहिले सबैसँग कुरा गर्न सकेकी छु । त्यसैले सबैलाई हिम्मत नहार्नुहोस् भन्न चाहन्छु ।’ Source: Ekantipur