प्रहरी जुवा खालबाट पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले शनिबार दिउँसो सर्लाही कविलासी नगरपालिका–३ घर भएर स्वयम्भु बस्दै आएका ५५ वर्षीय राय सहित १० जनालाई एक लाख ५३ हजार पाँच सय नगदसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रायसँगै भोजपुर सिद्धेश्वर गाउँपालिका ४ घर भइ स्वयम्भु बस्ने ६२ वर्षीय पर्वत भण्डारी, धादिङ गल्छी गाउँपालिका ६ घर भएर स्वयम्भू बस्ने ३६ वर्षीय सन्तोष लामा, काभ्रे रोसी गाउँपालिका ९ घर भएर स्वयम्भु बस्ने ४९ वर्षीय उत्तरकुमार लामा, २५ वर्षीय सविन लामा, ५९ वर्षीय धर्मलाल तामाङ, ४४ वर्षीय जितपुर लामा, २२ वर्षीय विक्रम लामा, ६५ वर्षीय देवेन्द्र श्रेष्ठ र ३३ वर्षीय कान्छा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्व राज्यमन्त्री राय २०५२, २०५३ सालमा शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री बनेका थिए । उनी २०६४ सालमा सर्लाही क्षेत्रनम्बर ५ बाट सांसद निर्वाचित भएका थिए । विवादित छवि भएका रायलाई बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६८ सालमा समेत राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । उनी पछिल्ला दिनमा राजनीतिमा सक्रिय छैनन् । Source: Farakdhar