काठमाडौं । भारतले सीमा विवाद समाधानका लागि नेपालसँग वार्ता नगर्ने देखिन्छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले तत्कालका लागि वार्ताको सम्भावना नरहेको बताएका छन् ।

भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले नेपालसँगको सीमा विवाद सम्बन्धमा भारतको पुरानै अडान रहेको र जस कारण तत्काल वार्ताको सम्भावना नरहेको बताएका हुन् । सीमा विवाद समाधानका लागि वार्ताका लागि नेपालले वातावरण बनाउनु पर्ने बताउँदै आएको छ । तर, भारतले कस्तो वातावरण भन्नेबारे स्पष्ट पारेको छैन ।

वार्ताको सम्भावनालाई टार्दैै नेपालले नक्सा जारी गरेर संविधान नै संशोधनसँगै वार्ताबाट सीमा विवाद समाधान गर्र्न समझदारीको उल्लंघन भएको भारतले बताउँदै आएको छ । ३१ जेठमा प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक पारित भएपछि त्यसप्रति असहमति जनाउँदै भारतले ‘यसले सीमा विवादलाई वार्ताबाट हल गर्ने समझदारीको उल्लंघन भएको’ प्रतिक्रिया पनि दिएको थियो ।



कृत्रिम तरिकाले भूभागको विस्तार ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले नेपालको नक्सा मान्य नभएको बताउँदै आएको भारतले सकभर नबोलेर अर्थात वार्ता नगरी नेपाललाई पेल्ने नीति लिएको देखिन्छ ।

वार्ताको वातावरण बनाउनु पर्ने बहाना बनाएर संवादबाट उम्कन खोजेको भारतले तत्काल सीमा विवाद सुल्झाउन अग्रसर भएको छैन । तर, यही बेला भारतीय सञ्चार माध्यमले ‘भारतले नेपालसँग सैन्य कूटनीतिक वार्ता गर्ने’ भन्दै समाचार प्रशारण गरेका थिए । राजनीतिक तथा कूटनीतिक संवादको विकल्पमा सैन्य संवादलाई अघि सार्ने भारतको रणनीति नेपाललाई सामरिक क्षमता र सैन्य शक्तिको आडमा पेल्ने हुन नसक्ने विश्लेषण कूटनीतिकविद्हरुले भनेका छन् ।

सन् १८१६ को सुगौली सन्धि नै नेपाल–भारत सीमा विवाद अन्त्यको दरिलो प्रमाण हो । यसमा महाकाली नदीको पूर्वी क्षेत्र नेपाल र पश्चिमी क्षेत्र भारतको भनेको छ । तर, लिम्पियाधुराबाट आएको महाकालीलाई सीमा नदीको रुपमा नलिएर भारतले लिपुबाट आएको खोलालाई सीमा नदीको रुपमा अघि सार्दै आएको छ । सन् १९६२ मा चीनसँग सीमाको विषयलाई लिएर भएको युद्धपछि भारतीय फौज लिपुलेकमा क्याम्प बनाएर बसेका थिए ।