भारतले चीनसँगको सीमामा आगामी ३ वर्षभित्र ६१ वटा सडक बनाउने भएको छ। भारतको यो कदमले दुई देशबीच सैन्य तनाव बढ्दै जाने देखिएको छ। चीन र भारतबीच ३५ सय किलोमिटर लामो सीमा छ। जसलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) भन्ने गरिन्छ।

एलएसीसम्म सहज पहुँच र सैन्य क्षमता विस्तारका लागि भारतले सन् २०२३ सम्ममा ती सडक बनाउने भएको हो। भारतको रक्षा मन्त्रालयअन्तर्गतको बोर्डर रोड कन्स्ट्रक्सनले ती सडक बनाइरहेको छ। गत वर्षको अक्टोबरमै बोर्डर रोड कन्स्ट्रक्सनले लक्ष्यको ७५ प्रतिशत काम सम्पन्न भइसकेको बताएको थियो। ती ६१ वटै सडकको लम्बाइ ३ हजार ३ सय किलोमिटर रहने बताइएको छ।

त्यही ६१ मध्येको एक हो, अतिक्रमित नेपाली भूमिमा निर्मित लिपुलेक–कैलाश मानसरोवर सडक। जसको हालै भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए। सोही सडक उद्घाटनपछि नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा विवाद चर्किएको थियो।



जसको जवाफमा ती क्षेत्रलाई नेपालले आफ्नो नक्सामा समेटेको छ। लिपुलेकको १७,०६० फिट उचाइमा पुर्याउने गरी भारतले बनाएको यो सडक पनि बोर्डर रोड कन्स्ट्रक्सनले नै बनाएको हो, जसलाई मानसरोबर तीर्थ यात्रासँगै सामरिक प्रयोजनका लागि प्रयोग गर्ने दिल्लीको योजना छ। उत्तराखण्ड राज्यको घटियाबगडबाट लिपुलेकसम्म जोड्ने योजना अन्तर्गत भारतले नेपालको १९ किलोमिटर भूभाग भएर यो सडक बनाएको छ।

यद्यपी हिमालय सीमानजिकका अन्य सडकमा भन्दा बेग्लै यो सडक बनाउन दिल्ली र बेइजिङले सम्झौता गरेका थिए। पछिल्लो दशकमा भारतसँगको सीमा क्षेत्रमा चीनले सैन्य आवागमन सहज हुनेगरी पूर्वाधार तयार गरेको र त्यसको तुलनामा भारत पछि परेको विश्लेषण गरिँदै आएको थियो।

चीनसँगको यही दूरीलाई कम गर्न भारतले सीमा क्षेत्रमा निर्माण कार्यलाई तीव्रता दिइरहेको छ। भारतले खासगरी रणनीतिक महत्वका त्रिदेशीय विन्दुहरुमा सडक निर्माणलाई तीव्रता दिएको छ। सन् २०१९ मा भारतले लद्दाखको लेह र काराकोरम पासबीचको २ सय ५५ किलोमिटर लामो सडक बनाएको थियो।

५ हजार मिटरको उचाइमा बनेको यो सडकमा ३७ वटा पुलसमेत छन्। यो चीन, भारत र पाकिस्तानको त्रिदेशीय विन्दुबाट मात्र २० किलोमिटर टाढा पर्छ। एलएसीमा यसैवर्ष थप ११ वटा सडक निर्माण सम्पन्न गर्ने भारतीय योजना छ।

यी सडकमार्फत भारतले छोटो समयमा सैनिक, हतियार र बन्दोबस्तीका सामान सीमानजिक पु¥याउन सक्नेछ। भारतसँगको सिमानामा चीनले पनि निर्माण कार्यलाई बढाइरहेको छ। पुरानो सिन्जियाङ–तिब्बत सडकलाई उसले बढाएर राष्ट्रिय राजमार्ग बनाउँदैछ। यो सडक सिन्जियाङबाट तिब्बतको भूभाग हुँदै भियतनामको सीमामा रहेको दोङसिङ सहरसम्म पुग्नेछ। उसले अन्य सडक पनि बनाइरहेको छ।

त्यसैले हाललाई भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको तनाव सैन्य वार्तापछि कम भएको बताइएपनि दुवै मुलुकको तयारी हेर्दा आगामी दिनमा उनीहरुबीच द्वन्द्व झन् चर्किने देखिएको छ।

भारत र चीनबीच अहिले सीमा समस्या समाधान गर्न सम्भव नरहेको र आगामी दिनमा द्वन्द्व बढ्दै जाने चीनको फुदान युनिभर्सिटीस्थित सेन्टर फर साउथ एसिया स्टडिजका निर्देशक लिन मिनवाङ बताउँछन्। ‘अहिलेका लागि भारत र चीनबीच सीमा मुद्दा समाधान सम्भव छैन। उनीहरुले गर्नसक्ने एक मात्र व्यवहारिक उपाय भनेको द्वन्द्व भड्किन नदिनु हो,’ उनले साउथ चाइना मर्निङ पोष्टसँग भनेका छन्।

सीमाको विषयलाई लिएर भारत र चीनबीच सन् १९६२ मा युद्ध नै भएको थियो। सन् १९५९ मा चीनले सिन्जियाङ तिब्बत सडक बनाउन थालेको थियो। यो सडकको भारतले चर्को विरोध ग¥यो किनभने त्यो भारतले लद्दाखको हिस्सा भनेर दाबी गर्ने अक्साइ चीन हुँदै जान्थ्यो।

यही निहुँमा दुई मुलुकबीच एक महिना लामो युद्ध चल्यो। त्यसपछि चिनियाँ सेनाले युद्धविराम घोषणा गरेर आफूले दाबी गरेको भूमिबाट २० किलोमिटर पछि हट्यो। त्यसयता सन् २०१७ मा भुटानी सीमा दोक्लममा चीन र भारत आमने–सामने भए। यो द्वन्द्व ७३ दिनमा समाप्त भयो। यसैवर्ष लद्दाखको गलवान उपत्यकामा पनि दुई देशका सेनाबीच हात हालाहाल भएको थियो।

गलवानमा भारतले एउटा सडक बनाउन सुरु गरेपछि यो तनाव सुरु भएको थियो। जसको एक महिनापछि दुई देशका उच्च सैनिक अधिकारीबीच वार्ता भएको थियो। त्यसयता दुवै देश विभिन्न माध्यमबाट निरन्तर वार्तामा छन्। (एससीएमपीको सहयोगमा) नेपाल खबरबाट साभार