कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी दिँदै अहिले उनी भारततिर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी सुनिल मल्लले बताए । शाह कांग्रेसबाट निर्वाचित सांसद हुन् । त्यसअघि उनी तत्कालीन संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए ।

सांसद शाहले गत पुस ५ गते साँझ घरमा गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुँघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ । कुटपिट गर्दै गर्दा सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको उनको आरोप छ । बन्दुकको नाल मुखमा जबरजस्ती राख्दा आफ्नो दाँत नै हल्लिएको र मुखमा चोट लागेको श्यामको आरोप छ ।



बुटवलमा उपचार पश्चात मिश्रा अहिले घरमै छन् । मिश्रा गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका उम्मेदवार बनेर दोस्रो धेरै मत ल्याएका थिए । कृष्णनगरको मेयरमा सांसद शाहका नातेदारले मेयर जितेका छन् । एक सातासम्म सांसद शाहविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्न समेत नमानेपछि कृष्णनगरमा आन्दोलन समेत भएको थियो ।
स्रोत ः अनलाईन खबरबाट साभार