कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ । नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् ।
पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताए । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने गरी नदी किनारमा बाघको मूर्ति निर्माण गरिएको उनी बताउँछन् ।
‘बाघको ढाड क्षेत्रको आसपासमा बारबन्देज, विश्रामस्थल, फूलबारीसहितको बगैँचा, सडक स्तरोन्नतिलगायतको कामलाई वडा तहबाट प्राथमिकता दिएर आयआर्जन गर्ने गरी योजना बनाएका छौं’, उनले भने, ‘आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई जोड्नका लागि नदीको किनारमा बाघको मूर्ति तयार पारेका हौं ।’ बाघको ढाड व्यवस्थापन शीर्षकमा नगरपालिकाबाट विनियोजित वजेट रु २ लाख सहयोगमा काम थालनी भएको हो ।
करिब रु ३ लाखको लागतमा मूर्ति बनाउने कार्य सम्पन्न भएको छ भने यस कार्यमा यहाँका स्थानीयवासीले रु ३० हजार बराबरको श्रमदानसमेत गरेका छन् । हाल यहाँको बाघ आकारको मूर्ति अवलोकनमा दैनिकजसो करिब एक सयभन्दा बढी अवलोकन गर्न आउने गरेको बाघको ढाड व्यवस्थापन समितिका अध्यक्ष हुमा देवकोटा बताउनुहुन्छ । उनका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन अवलोकन गर्नेको ठूलै चहलपहल देखिन्छ ।
कालीगण्डकीको किनारमा रहेको यस ढाडमा बाघ लुकेर बस्ने गरेकाले यसलाई बाघको ढाडका नामले नामकरण गरिएको ज्येष्ठ नागरिक थिरलाल ढकाल बताउँछन् । “यस ढाडमा निँयाले जातको बाघ मरेपछि वन कार्यालयका कर्मचारीको रोहबरमा म आफैँले वैदिक परम्पराअनुसार अन्त्येष्टि गरेको छु, देवीको बाहनका रूपमा लिइने बाघ बस्ने, खेल्ने ढाडलाई संरक्षण गर्दै मूर्ति बनाएर राखिएको छ”, उनले भने ।
यस क्षेत्रमा पुग्ने बाटोको पहुँचमार्ग निर्माण, कालीगण्डकी नदीको मनोरम दृश्य, शीतल हावापानी, हरियाली रुख बिरुवाको लोभलाग्दो प्राकृतिक दृश्यले दर्शकलाई लोभ्याइरहेको छ । कालीगण्डकीको तटमा अवस्थित रहेकाले पनि यो क्षेत्रले पर्यटन विकासको राम्रो सम्भावना बोकेको छ ।