पोखरामा भएको विमान दुर्घटनाको घटनाले बडिगाड गाउँपालिका पनि शोकमा डुवेको छ। बडिगाड गाउँपालिका वडा नं। ३, शिसाखानी घर हुनुभएकि लोक गायिका निरा छन्त्याल पनि सोहि दुर्घटनामा परेपछि शिसाखानी संगै गाउँपालिका नै शोकमा परेको हो। यसैविच बडिगाड गाउँपालिकाले शोकाकुल परिवारलाई पोखरा पुर्याउन पहल लिएको छ।
बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन र वडा नं। ३ सिसाखानीका वडाध्यक्ष खड्क पुन निराको परिवारका सदस्यहरु लिएर पोखरा प्रस्थान गर्नुभएको छ। गाउँपालिकाले परिवारको चाहना अनुसार शव पोखराबाट ल्याउन सहयोग गर्ने बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभएको छ।
यसैविच बडिगाड गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै दिवाङ्गत आत्मको चिरशान्तिको कामना गरेको छ। गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा शोकमा रहेको परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै समवेदना व्यक्त गरिएको छ। भने गाउँपालिकाले मृतकको परिवारलाई सहयोग गर्ने जनाएको छ।
निराकी दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने कार्यक्रममा सहभागी हुन जान लागेकी थिइन्। उनले बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्। ‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन्।
गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए। नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तरछन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो।
बिहान काठमाडौंबाट पोखरा उडेको एटिआर जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए। गायिका छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत लाइभ दोहारी गाउँथिन् जुन चर्चित छन्। उनले यसै वर्ष ‘संगीनी’ बोलको तीज गीत पनि गाएकी थिइन्।
उनले गाएको बुकी पाटनको, फुल केशरी, आई लभ यु भन्न पाए त,सुर्ते मायाले लगायतका गितहरु चर्चामा रहेका छन । उनको जन्म २०५७ सालमा बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानीमा भएको थियो । उनले कक्षा १० सम्म सिसाखानी माध्यमिक बिद्यालयमै अध्ययन गरेकी थिईन । बिद्यालय समय देखि नै गित लेख्न, गाउन, रेडियामा फोन गरेर प्रतिभा सुनाउन निकै अग्रसर हुन्थिन ।
बिद्यालयमा पनि उनको पढाई निकै राम्रो रहेको सिसाखानी माबिका प्रअ कमल भुजेलले बताउनु भयो । उनको घरमा बाबा आमा दुई भाइहरु र ३ दिदि रहेका छन। उनी घरकी कान्छी छोरी हुन । पछिल्लो समय गितसँगितमा भबिस्य खोेज्दै काठमान्डौ बस्थिन । त्यस्तै गायिका निरा छन्त्यालले २ दिनअघि सामाजिक सञ्जालमा आमाले देखेको सपना पूरा गर्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन्।