विवाहित हुँ, अझै प्रेम मेरो पुरानो प्रेमीलाई!


मामु! हेर्नुस् त,यो त मलाई पनि फिट हुने रैछ’ सायराले आफ्नी आमाको दराज संग्रहालयबाट एउटा रातो सिल्कको कुर्ता निकाल्दै ऐना अगाडि उभिएर भन्छे। ‘यो कुर्ता किन्दा मेरो वेट यस्तै ४० केजी जतिको थियो होला। त्यो बेला मेरो प्राय साथीहरूले फोटो खिच्नको लागि भए पनि यो कुर्ता लगाएर रहर मेटेका थिए’। उषाले छोरीतर्फ हेरेर मुस्कुराउँदै भन्छे।

आज आमाछोरी मिलेर उषाको पुरानो सामान र लुगाहरू सुरक्षित राखिएको दराज मिलाउने कार्यक्रम छ। यो दराज कसैलाई पनि खोल्न र हेर्न अनुमति थिएन। आज आफ्नी १७ वर्षकी छोरीलाई भने उसले त्यो दराजको सामान खोतल्ने अवसर दिएकी थिई। एक वर्ष नेपालमै बस्ने गरी, छोरीलाई पनि यहाँको वातावरणसँग मज्जाले घुलमिल गराउने उद्देश्यले उषा अमेरिकाबाट आएकी छ। उषाले छोरीसँग आफ्ना सबै भावनाहरू साटासाट गर्छे।

विगतदेखि भविष्यका योजनासम्म छोरीलाई बताएकी हुन्छे। सायराले पनि आमालाई आमामात्र होइन एक मिल्ने साथी सरह सबै कुराहरू सुनाउने गर्छे। उनीहरूको सम्बन्ध आमाछोरी मात्र नभएर साथी-साथीको जस्तो छ। छोरीलाई एकदमै माया र स्वतन्त्रताको महसुस सधैं गराइरहेकी हुन्छे उषाले। परिवारबाट चाहिने स्वतन्त्रता नपाउँदा कस्तो पीडा हुन्छ भन्ने कुरा आफूले विगतमा भोगेको भएर पनि उसले छोरीलाई दिने स्वतन्त्रतामा कुनै कमी गर्दिनँ। सायरा दराजमा पुराना सामान हेर्दै दङ्ग परिरहेकी हुन्छे।

यत्तिकैमा उसले एउटा सानो डायरी भेटाउँछे। डायरी पल्टाउने बित्तिकै उसको नजर एउटा फोटोमा पुग्छ। कालो-सेतो चेक सर्ट, जिन्स पाइन्ट,कालो चस्मा लगाएको, एउटा खोलाको किनारमा ठूलो ढुङ्गामाथि बसेको,यस्तै १८,१९ वर्षको केटाको फोटो। फोटोको माथिपट्टि लेखिएको थियो-एउटा कथा तिम्रो मेरो पिरतीको लेखिनेछ, उदाहरण हर प्रेमीले चोखो प्रेमको देख्नेछ।

सायराले अंग्रेजी मिस्रित लवजमा यो नेपाली सायरी विस्तारै पढेर सुनाउँछे। यो सुनेर उषाको अनुहार रातो हुन्छ एकाएक।

‘मम्मा! हु इज दिस जेन्टलम्यान?’

छोरीको कुरा सुनेर हत्तपत्त उषाले डायरी खोस्दै’साथी हो’भन्छे।

‘इट्स नट फेयर, ममा! को हो के? भन्नुस् न।’

छोरीले जान्न खोजेपछि उषाले छोरीतर्फ हेर्दै नहेरी सानो स्वरमा जवाफ दिन्छे- सजल।

‘ओह्….’ सायराले आश्चर्यजनक रूपमा दुबै हात गालामा राख्दै, आँखा ठूला बनाउँछे, आमाको हातबाट डायरी खोस्छे र फोटोलाई निकै बेरसम्म नियालिरहन्छे।

त्यही सजल?जसले हजुरलाई बसस्टपसम्म छोड्न र लिन आउँथ्यो। त्यही पागल प्रेमी?जो हजुरको लागि आफ्नो इञ्जिनियरिङ पढाइ क्यान्सिल गरेर फेरि आई.ए ज्वइन गरेको थियो?

छोरीको कौतुहलता मेट्दै उषा बोल्छे-‘हो त्यही सजल,जसलाई मैले पहिलोपटक बसमा देख्दा नै मन पराएकी थिएँ। जसलाई दोषी बनाएर बीचमा छोडेकी थिएँ। हो ऊ त्यही प्रेमी, जसले मलाई जतिसुकै बाधा आए पनि डटेर सामना गर्छु तिम्रो लागि भन्थ्यो। बस नहिँडिन्जेल मसँग कुरा गरेर बस्ने केटो उही हो। कलेज बाहिर मलाई जिस्क्याउने दैनिकी बनाएर बसेका केही बेरोजगारहरूलाई तह लगाउने सजल।’

डायरीमा भएको सजलको फोटो नियाल्दै उषाले छोरीलाई भन्छे ‘त्यो बेला यसरी डायरीमा फोटोसहित सायरीहरू लेखेर दिनुलाई अटो भर्ने भनिन्थ्यो। आफ्ना साथीहरूलाई यो अटो भर्न दिइन्थ्यो र उनीहरूले सम्झनास्वरूप आफ्ना भावनाहरूसँगै एउटा फोटो टाँसेर यसलाई फिर्ता गरिदिन्थे।

‘डु यु स्टिल लभ हिम मामु?’सायराले गम्भीर भावमा सोध्छे।

छोरीको कुरा सुनेर हाँस्छे उषा।

‘माया त लाग्छ नि। फेरि त्यो बेलाको माया अहिलेको जस्तो सस्तो र कच्चा पनि हुँदैन थियो। तिम्रो को साथी रे? भ्यालेन्टाइन्स डे मनाउनको लागि भनेर रिलेसनमा बसेको,अनि ४ महिनापछि ब्रेकअप दिएको?

‘सौम्या’ सायराले भन्छे। त्यतिमात्र हो र मामु! रिजन छ नि त्यो सुदीप अंकलको घर नजिकैको। उसले त एउटा केटीलाई मोबाइलमा रिचार्ज कार्डको लागि मात्र गर्लफ्रेन्ड बनाएको रे। त्यो केटीले उसको मोबाइलमा ब्यालेन्स ट्रान्सफर गरिदिने रहेछ अनि रिजन चै अर्को केटीसँग च्याट गर्दै बस्ने रे। कस्तो सेल्फिस लभर है।’

एकैछिन दुबै आमाछोरी खित्का छोडेर हाँस्छन्।

प्रविधिको जति विकास हुँदै गयो, मान्छेहरू त्यति नै स्वार्थी हुन थाले।

प्रविधिको दुरूपयोग गर्न थाले। हाम्रो पालामा न फोन हुन्थ्यो, न च्याट। एक जनासँग माया बसेपछि गहिरो बस्थ्यो, वर्षौसम्म साथ नभए पनि मनमै बसिरहने। अहिले जसलाई देख्यो ‘क्रस’ रे,अनि दुई चार महिना डेट गयो सिद्दियो ‘एक्स’ रे।

उषाले मुख बिगार्दै मनको कुरा भन्छे।

‘मम्मा! तर हजुरले एकपटक सजललाई भेट्नुपर्छ जस्तो लाग्छ मलाई। के नेपाल आएको बेलामा उसलाई भेट्न सम्भव छैन?’ सायराले डराएजस्तो गरी सोध्छे।

‘छैन’ उषाले सटिक जवाफ दिन्छे।

‘आइ थिंक यु ह्याभ टु टेल हिम ट्रुथ’ उसलाई हजुरले छोड्नुपरेको बाध्यताबारे उसलाई पनि थाहा होस् भन्ने म चाहन्छु।’ सायराले सुझाव दिन्छे।

छोरीको कुरा सुनेर उषा एकैछिन अतीत सम्झेर टोलाउँछे।

त्यसदिन ऊ कति खुसी थिई। सजलले उसलाई मनको कुरा भनेको थियो।

‘थाहा छ मलाई, हामी दुईसँगै जीवन बिताउने कुरा जटिल छ। तर प्रेम भनेको संघर्षको अर्को नाम पनि हो। हामी एकअर्काको साथ सधैंलाई चाहन्छौं भने पारिवारिक युद्ध लड्न पनि सक्नुपर्छ। त्यो युद्धमा तिमीलाई कुनै बाधा आउन दिने छैन। म एक्लै सामना गर्नेछु हरेक जटिलताहरूको। बस् तिमी मेरो पक्षमा हुनुपर्छ।’ उसको यस्तै कुराहरू सुन्दै उसको बाइकमा पछाडि बसेर घर गएकी थिई।

त्यो नै सजलसँगको अन्तिम निकटता थियो।

घर पुग्दा सबै जनालाई सजल र उसको सम्बन्धबारे थाहा भइसकेको थियो। आखिर एकदिन थाहा हुनु नै थियो। कति दिन पो लुक्थ्यो र सम्बन्ध लुकाएर। उषालाई घरका सबै सदस्यहरूले एउटा अपराधीलाई वकिलले जस्तै केरकार गर्छन्। उसले सबै साँचो बताउँछे। दाइ कड्किन्छन्- ‘थाहा छ तँलाई,त्यो केटा कुन खान्दानको हो? उसको आमालाई झुण्याएर मारिएको थियो। उनीहरू सबै गुण्डागर्दी गर्नेको खान्दान भनेर सबैलाई थाहा छ। लुटेर,मान्छे मारेर कमाएको पैसामा मोजमस्ती गर्ने मान्छे हुन् उनीहरू। राम्री केटी खोज्दै गाउँ छिर्ने,मायाको जालमा फसाउने अनि भोलि घरमा बन्दी बनाएर यौन धन्दा चलाउने तिनीहरूको पेशा हो। मसँग सबै प्रमाण छ। मेरो साथी पुलिसमा छ। त्यो केटालाई इन्काउन्टर गर्दिन आदेश दिन पनि सक्छ उसले।’ यदि सजललाई बचाउने हो भने तैंले आजैदेखि छोडि दे उसलाई। नत्र तेरो सजल मारिनेछ इन्काउन्टरमा।’

दाजुको कुरा सुनेपछि उषाका आँखाबाट आँसुका धारा बग्न थाले, शरीर काप्न थाल्यो। हातखुट्टा गलेर ऊ थचक्क भुइँमा बसी। ऊ केही बोल्न सकिरहेकी थिइन। दाजु फेरि गर्जिए- भन् उसलाई छोड्छेस् कि इन्काउन्टर गर्न पठाऊँ?

उषा त्यति धेरै परिपक्व भइसकेकी पनि थिइनँ। त्यो उमेरमा शिघ्र निर्णय लिन सक्ने क्षमता पनि हुँदैन। कसैलाई बिनाकारण इन्काउन्टर गर्ने कुरा पत्याइहाल्नुपर्ने पनि थिएन। त्यो त सजलसँग बैनीलाई छुटाउनको लागि दाजुले दिएको धम्की थियो। तर त्यो उमेरमा यति धेरै कुरा बुझ्ने परिपक्व दिमाग कहाँ हुन्छ र! उसले डर र धम्कीका कारण आखिर सजललाई छोड्ने निर्णय गर्छे। सजलको इन्काउन्टर सहनुभन्दा त बरू उसँग टाढा हुनु नै सहन्छु भन्ने सोच्छे।

‘मलाई अन्तिम पटक सजलसँग भेट्न दिनुहोस्। म केही कुरा गर्दिनँ, मात्र मबाट टाढा जाऊ भनेर फर्किनेछु मेरो विश्वास गर्नुस्’ उषाले दाजुलाई आग्रह गर्छे। दाजुले सहमति दिन्छन्।

अर्को दिन दाजुकै निगरानीमा उषाले सजललाई अन्तिम बिदाइ गरेर फर्किन्छे। अन्तिम पटक सजलले भनेको थियो-तिमीलाई पर्खिरहनेछु म बाँचुञ्जेल।

अझै पनि याद छ उसलाई छुट्ने बेलामा आँसु भरिएका सजलका आँखाहरू।

कहिलेकाहीँ लाग्थ्यो सारा बन्धन,नाता सम्बन्ध तोडेर,दौडेर जाऊँ सजलको अँगालोमा।

कतिपटक उसको यादमा सिध्याइदिऊँ कि आफैंलाई जस्तो पनि सोच आउँथ्यो।

साथीहरूले भन्ने गर्थे- तैंले सजलजस्तो माया गर्ने मान्छेलाई गुमाएर गलत गरिस्’।

सजलको मिल्ने साथी उमेशले एकदिन बजारमा उषालाई भेटेर भनेको थियो-‘तिम्ले के गरेको यो, सजलको हालत कस्तो छ बुझेको छौ? ऊ खाना पनि खाँदैन,कोठाबाट बाहिर पनि निस्कदैन,कसैसँग कुरा पनि गर्दैन। उसको आमालाई हत्या गरेको भन्ने गलत आरोप लगाएछौ तिमीले। उसको बुवा राजनितिज्ञ हुनुहुन्थ्यो,घरबाट बाहिर हिँडिरहनुपर्थ्यो। हो, आमालाई घरमा टर्चर थियो नेपाली मूलको भनेर हेला गरिन्थ्यो, माइतीबाट पनि अर्को जातसँग गएकी भनेर तिरस्कार गरिएको थियो। तर सजलको बुवाले विस्तारै काठमाडौंमा घर किनेर सजल र उसकी आमालाई उतै लैजाने तयारी गर्दागर्दै त्यस्तो घटना घटेको हो।

सजलकी आमा डिप्रेसनको सिकार हुनुहुन्थ्यो, आत्महत्या गर्नुभयो। तर राजनीतिमा कमजोर देखाउनको लागि सजलको परिवारलाई हत्यारा भनेर आरोप लगाइयो। कानुनले हत्याको कुनै प्रमाण निकाल्न सकेन तर समाजले दोषी बनायो।’

उमेशको कुरा सुनेपछि उषाले खरो जवाफ दिएकी थिई-कसैलाई आत्महत्या गर्ने सम्मको अवस्थामा पुर्याउनु पनि हत्या बराबर त हो। मैले बिर्सिसकें सजललाई,अब उसले मेरो बाटो हेरेर बस्नु ब्यर्थ हुनेछ भनिदिनु।’

मामु! कहाँ टोलाउनुभा? सायराको आवाजबाट झसंग हुँदै उषा अतीतबाट फर्किन्छे।

सायराले अझै पनि सजलसँग भेट्नुस् न एकपटक भनेर जिद्दी गरिरहन्छे।

‘नो बेबी,अब सजललाई भेटेर मैले तिम्रो बाबालाई चिट गर्न चाहन्नँ। उसले अझै बिहे गरेको छैन। मेरो यादलाई साथी बनाएर जीवनमा अगाडि बढेको छ ऊ। केही दिनअघि उमेशसँग च्याट भएको थियो मेरो। सजलको त फेसबुक अकाउण्ट पनि छैन। ऊ ट्वीटर, इन्स्टा कतै पनि छैन। उसलाई मैले फेरि भेटेर सुकेको घाउ कोट्यान चाहन्नँ। माया गर्छु उसलाई अझै पनि। उसको खुसी चाहन्छु। ऊ मेरो ‘एक्स'(भूतपूर्व प्रेमी) होइन, ऊ अझै पनि मेरो प्रेमी नै हो।

म ४२ वर्षकी विवाहित नारी हुँ,१७ वर्षकी एक छोरीकी आमा हुँ। म सजललाई अझै प्रेम गर्छु। तर उसलाई प्रेम गर्दैमा मैले मेरो श्रीमानलाई गर्ने प्रेममा कुनै कमी हुँदैन। म मेरो वैवाहिक जीवनमा नकारात्मक असर पर्ने कुनै काम गर्दिनँ। तर म अझै मेरो पुरानो प्रेमीलाई प्रेम गर्छु- उसलाई नभेटिकिन,उसँग नबोलिकन। मलाई उसँग भेट्नको लागि जोड नगर छोरी।’

सायराले आफ्नी आमालाई अंगालो हाल्छे।

‘सो स्विट अफ यू मम्मा! लभ यु सो मच’।

यो पनि:

प्रेमको सुखद् अन्त्य भनेको ऊसँग बिहे गर्नु मात्र हो र?