एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल छ, जहाँ एक महिला जननेता मदन भण्डारीको सालिकसँग देखिएकी छन् । महापुरुषहरूको सालिकमा फोटोसेसन गर्नु कुनै नौलो कुरा होइन । तर, महिला जुन आसनमा छिन्, त्यसलाई लिएर रमाइला टिकाटिप्पणी भइरहेका छन् ।
कोटेश्वरको महादेवस्थानमा बनेको छ मदन भण्डारी पार्क । सोही पार्कभित्र मदन भण्डारी उपरखुट्टी लगाएर बसिरहेको सालिक छ । सारी-चोलोमा सजिएकी महिलाले सोही सालिकको काखमा आरामसँग बसेको पोज दिएकाे देखिन्छ । उनी को हुन् र तस्बिर वास्तविक हाे हाेइन भन्ने खुलेकाे छैन ।
नेपाल सरकारको तीन करोड २२ लाख रूपैयाँको लागतमा मदन भण्डारी वाटिका निर्माण भएको थियो । गत जेठ २८ गते ओलीपत्नी राधिका र काठमाडौंकी उपमेयर सुनिता डंगोलसहित सो वाटिका अवलोकनमा पुगेका थिए ।
यही मदन भण्डारी बाटिकाभित्र पुगेर ती महिलाले फोटोसेसन गरेकी हुन् । धेरैले उनको फोटोलाई अमर्यादित भन्दै आलोचना गरेका छन् । कसैले चाहिँ रमाइलोरूपमा लिएका छन् । यो फोटो फोटोसप गरिएको हुनसक्ने पनि आशंका कतिपयकाे छ ।
सालिकसँग रमाइलो फोटोसेसन गर्ने ट्रेन्ड संसारभरि नै व्याप्त छ । यस्ता केही तस्बिरहरूले तपाईंलाई पेट मिचिमिची हँसाउँछन् । केही तस्बिरले चाहिँ विवाद पनि निम्त्याउने गरेका छ्न् ।