काठमाडौं । तपाइँ आफैं घरधनी हुँदाहुँदै कसैले तपाइँको हक खोस्यो भने के हुन्छ? आफ्नै घरबाहिर बस्न बाध्य हुँदा तपाईलाई कस्तो लाग्छ? यस्तै केही भएको छ एक वृद्ध दम्पतीको साञमा, जहाँ भाडामा लिनेको दादागिरीका कारण घरधनीले गान्धीगिरीको सहारा लिनु परेको छ ।
दिल्लीको छेउमा रहेको ग्रेटर नोएडामा रहेको श्री राधा स्काई गार्डेन सोसाइटीको घर नम्बर १५०५ मा स्वागत पक्कै लेखिएको छ, तर घरधनी आफ्नो घरमा फर्किँदा उनीहरूले स्वागत पाएनन् ।
आफ्नै फ्ल्याटको स्वामित्व पाउनका लागि दम्पतीले १० दिनसम्म संघर्ष गर्नुपरेको छ । बृद्ध दम्पतीले भाडामा दिएको फ्ल्याटको स्वामित्व लिन १० दिनसम्म दिनरात सिँढीमा बसे । भाडा सम्झौताको अवधि समाप्त भइसकेपछि पनि फ्ल्याट भाडामा लिने महिलाले घर खाली नगरेको वृद्ध दम्पतीले आरोप लगाएका थिए ।
वृद्ध जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि र सोसाइटीका मानिसहरूले क्यान्डल मार्च निकालेपछि भाडामा लिनेले फ्ल्याट खाली गरेका थिए । यो घटना ग्रेटर नोएडा वेस्टको सेक्टर १६बीमा रहेको श्री राधा स्काई गार्डन सोसाइटीको हो।
श्री राधा स्काई गार्डेन सोसाइटीमा रहेको टी-५ एफ १५०५ को फ्ल्याट नम्बर सुनील कुमारको नाममा छ। ६० वर्षीय सुनिल कुमार भारत पेट्रोलियममा काम गर्थे र रिटायर भएपछि मुम्बईबाट फर्केर ग्रेटर नोएडामा बस्न आएका थिए ।
सुनिल कुमारले भाडामा लिनेलाई मुम्बइबाट फर्किनुअघि नै फ्ल्याट खाली गर्न भनेका थिए । यसका लागि उनले नोटिस पनि पठाएका थिए तर भाडामा लिने महिलाले फ्ल्याट खाली नगरेर कब्जा गरेर बसिन् ।
यस्तो अवस्थामा फ्ल्याट मालिककी श्रीमती राखी गुप्ताले ट्वीट गर्दै भाडा सम्झौता सकिएपछि भाडामा लिने व्यक्तिले फ्ल्याट खाली नगरेको बताइन् । जसका कारण उनीहरुले आफ्नै घरमा प्रवेश पाउन सकेका छैनन् ।