धन कमाउन श्रीमान् परदेशमा श्रीमती पौरख गर्दै घरदेशमा


परिश्रम गर्ने हो भने परदेशको भन्दा स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण अचेल गाउँघरतिर धेरै भेटिन थालेका छन् । तिनै उदाहरणमध्येकी एक हुन् लमजुङ सुन्दरबजार नगरपालिका ८, डुँड्कुलाकी सिर्जना कमली कार्की । श्रीमान् राजु कार्की लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । परदेशमा श्रीमानको काम र कमाइ दुवै राम्रै छ ।

तर श्रीमानको मात्र कमाइको भर गर्नुहुँदैन । समय त्यसै खेर फाल्नु हुँदैन । आफूले पनि सकेको श्रम पसिना बगाएर केही उद्यम गर्नुपर्छ भन्ने सोचेर सिर्जनाले चिती बान्द्रेमा व्यावसायिक कुखुरापालन र तरकारी खेती सुरु गर्नुभएको छ ।

श्रीमानको सल्लाहमै कृषि कर्म

त्यसै समय खेर फाल्नुभन्दा केही पौरख गरौँ भनेरै कुखुरापालन गरेको हुँ,’ सिर्जनाले भन्नुभयो, ‘एउटाको मात्र कमाइको भर गर्नु हुँदैन । सबैले सकेको उद्यम गर्नुपर्छ । त्यसैले श्रीमानकै सल्लाह र हौसलामा कृषि कर्ममा लागेको हुँ ।’ लमजुङको बेसीशहर नगरपालिका–११, चिती बान्द्रेमा उहाँले चार रोपनी जग्गामा व्यावसायिक रुपमा लेयर्स कुखुरा पाल्नुभएको हो ।

‘नेचरनेष्ट कृषि तथा पोल्ट्री फर्म’ दर्ता गरी उहाँले २०७६ साल वैशाखदेखि २ हजार कुखुराबाट लेयर्स कुखुरापालन सुरु गर्नुभएको हो । कुखुरापालनबाट राम्रै आम्दानी भएसँगै उहाँले यस व्यवसायलाई थप विस्तार गर्दै लैजानुभएको छ ।

अण्डा बिक्रीबाटै मासिक ५ लाख आम्दानी

अहिले उहाँको फर्ममा ४ वटा कुखुराको खोर बनाइएको छ । फर्ममा ९ हजार लेयर्स कुखुरा पालिएका छन् । अहिले दैनिक ६ हजार कुखुराले उत्पादन दिइरहेका छन् । फर्मबाट दैनिक २५ प्याक अण्डा उत्पादन हुँदै आएको छ । उहाँका अनुसार प्रति प्याकमा २ सय १० वटा अण्डा हुन्छ ।

प्रति प्याक अण्डा २ हजार ५ सय रुपैयाँमा स्थानीय बजारमै खपत हुँदै आएको छ । कुखुरापालन व्यवसायबाट मासिक ५ लाख हाराहारीमा आम्दानी हुँदै आएको उहाँ बताउनुहुन्छ । उत्पादित अण्डा स्थानीय स्तरमा खपत हुँदै आएको छ ।

अण्डा बिक्रीबाट मासिक ५ लाख हाराहारीमा कमाइ हुँदै आएको छ,’ सिर्जनाले भन्नुभयो, ‘दाना, औषधि, पानी, बिजुली लगायतमा पनि खर्च हुन्छ । व्यवसायमा घर परिवारको पनि साथ छ । सहयोग हौसला, प्रेरणा मिलिरहेको छ, उहाँलाई । फर्मले २ जनालाई रोजगारी समेत दिएको छ ।

व्यावसायिक तरकारी खेतीबाट पनि आम्दानी

उहाँले झण्डै २ रोपनी जग्गामा टनेल निर्माण गरी गोलभेँडा, करेला, काउली लगायतका तरकारी समेत फलाउँदै आउनुभएको छ । तरकारी बिक्रीबाट पनि राम्रो कमाइ हुँदै आएको छ । २ रोपनी जग्गामा ८ वटा टनेल बनाई तरकारी लगाइएको छ,’ उहाँले थप्नुभयो, ‘तरकारी बिक्रीबाट राम्रो कमाइ हुँदै आएको छ ।’

श्रीमान् विदेशबाट फर्किएपछि दुवै मिलेर यस व्यवसायलाई थप विस्तार गर्दै लैजाने सिर्जनाको योजना छ । विदेशमा गर्ने दुःख, स्वदेशमा गर्न सके यहीँ पैसा कमाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘विदेशबाट उहाँ ‘श्रीमान्’ फर्किएपछि व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने लक्ष्य छ ।’ उहाँलाई व्यावसायिक कुखुरापालन र तरकारी खेतीमा भाइ नारायण कमलीको पनि साथ सहयोग मिल्दै आएको छ ।

फर्म व्यवस्थापनमा उहाँले सघाउँदै आउनुभएको छ । विदेशबाट फर्किएका नारायणको पनि यसै व्यवसायमा लागिरहने सोच छ । ‘श्रम–पसिना बगाउन सके, घरगाउँमै बसेर राम्रो कमाउन सकिन्छ, उहाँले भन्नुभयो, ‘त्यसैले व्यावसायिक कृषि कर्ममै निरन्तर लागिरहने सोच छ ।’ उज्यालो अनलाईन बाट साभार