चितवन । चितवनको कालिका नगरपालिका–९ दोगाराका सिताराम थापाले पालेका सबै पशु मरेका छन् । आइतबार दिउँसो ३ बजेको समयमा पानी खुवाएपछि एक घण्टाभित्र सबै पशु मरेको कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार पानी खाने वित्तिकै पशुहरु काम्न थालेका थिए । त्यसको केहि बेरमै पशुहरु मरेका हुन् । पानीमै विष मिसिएको हुन सक्ने आशंका गरिएको उनले बताए । पशुको पोष्टमार्टम रिपोर्टबाट कारण नखुलेपछि नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए ।
‘बिहानदेखिको कुँढोमा धाराको पानी हालेर दिउँसो ३ बजेतिर सबै पशुलाई दिनुभएको रहेछ । त्यसको एक घण्टाभित्रै सबै पशु मरेछन् । कुनै रोगले त्यति छिटो पशु मर्दैन, पानीमा विष नै थियो कि भनेर नमुना परीक्षण गर्दैछौँ’, उनले भने ।
किसान थापाले पालेका एउटा ब्याउने भैंसी, एउटा ठूलो गाई, तीन माउ बाख्रा र दुई वटा खसि मरेका हुन् । पानी खाएपछि सबै पशुको पेट फुलेको थियो । त्यसपछि सबै पशु फिज काट्दै मरेका थिए । घटनाको बिषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।