के शुक्रकीट बाहिर फाल्दा पनि बच्चा बस्छ ?


के शु’कीट बाहिर फाल्दा पनि बच्चा बस्छ ? मैले एउटी युवतीसँग यौनसम्पर्क गरेको दुई साता भयो । मैले आफ्नो शुक्रकीट बाहिर फालेंको थिएँ । तैपनि ती युवती बच्चा बस्यो भन्छिन् । अब यो समस्या समाधानका लागि के गर्नुपर्ला ?

बाह्य स्खलन कति प्रभावकारी ?
किशोर–किशोरीमाझ प्राय: अपनाइने उपायमध्ये एक हो— बाह्य स्खलन विधि । यो परम्परागत विधिको प्रयोग पछिल्लो दशकको तुलनामा बढी हुन थालेको पाइन्छ । वीर्य स्खलन हुनु ठीक अघि लिंग योनिबाट झिक्ने यो विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि प्रभावकारी नहुन सक्छ ।

अब वीर्य स्खलन हुनै लाग्यो भनेर (point of no return) राम्रोसँग थाहा नपाउँदा लिंग झिक्न ढिलो भै वीर्य योनिभित्रै झर्न वा योनि क्षेत्रमा लाग्न सक्छ । यसले यो विधिको प्रभावकारिता कम गर्ने नै भयो ।

त्यसबाहेक उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन उत्तेजना भएपछि अलिकति रस लिंगको टुप्पामा देखिन्छ । पौरुष ग्रन्थिको मुनितिर मूत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई ग्रन्थि हुन्छन्, जसलाई अंग्रेजीमा Cowper’s gland नबिलम भनिन्छ । यौन उत्तेजनाका बेलामा यही ग्रन्थिबाट निस्किएको रस केही थोपाका रूपमै वीर्य स्खलनभन्दा पहिले लिंगको टुप्पामा देखिन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यसरी आउने तरल पदार्थमा सामान्यत: शुक्रकीट हुँदैनन्, त्यसैले सामान्य अवस्थामा यो रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय स्थितिमा यदि केही समयपहिले मात्र हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए उक्त वीर्य स्खलनका कारणले मूत्र नलीमा रहेका केही शुक्रकीट यो रसमा आउने सम्भावना रहन्छ ।

यस्तो स्थितिमा भने थोरै भए पनि गर्भ रहने सम्भावना भएको कुरा बुझिन्छ । यो विधिको प्रभावकारिताको सन्दर्भमा विभिन्न अध्ययनले १५ देखि २५ प्रतिशतसम्म गर्भ रोक्न नसकेको (failure rate) देखाएको छ । यसले गर्भ रहने सम्भावना केही कम गरे पनि यौनरोग तथा एचआईभी भने सर्न सक्छ । गर्भ तथा यौनरोग तथा एचआईभी दुवैबाट जोगिन कन्डमका साथै अरू प्रभावकारी गर्भनिरोधका उपायको प्रयोग पनि आवश्यक छ ।

के बच्चा बस्यो होला ?
तपाईंको सन्दर्भमा गर्भ रह्यो कि रहेन भन्ने कुरा गर्नुअघि गर्भ रहने सम्भावनाका बारेमा कुरा गरौं । तपाईंलाई थाहै हुनुपर्छ, वीर्य स्खलनपछि वीर्यमा भएको शुक्रकीट महिलाको डिम्बाशयबाट निस्किएको डिम्बसँग मिलन हुनु आवश्यक छ ।

योनिमा वीर्य स्खलनको समय डिम्ब निष्कासनको समयसँग मिल्नुपर्छ । यौनसम्पर्क गर्दा तपाईंकी प्रेमिकाको महिनावारी चक्रको कुन बेला थियो भन्ने कुरा लेख्नुभएको भए गर्भ रहने सम्भावना आँकलन गर्न केही सहयोग हुने थियो । गर्भ बस्यो भने केही लक्षण देखिन्छन् । महिनावारी रोकिनु एउटा प्रमुख र महत्वपूर्ण लक्षण हो ।

त्यसबाहेक पनि गर्भ रहेपछि महिलाको शरीरमा केही परिवर्तन आउँछन् । ती परिवर्तन पहिचान गरेर गर्भ रहे–नरहेको छुट्याउन सकिन्छ । छोटकरीमा भन्ने हो भने महिनावारी रोकिनुका साथै स्तन छाम्दा हल्का रूपमा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मनोदशामा परिवर्तन, थकाइ लागेजस्तो हुने, खाने बानी वा रुचिमा परिवर्तन तथा छिटोछिटो पिसाब लाग्ने आदि हुन सक्छ ।

त्यसैगरी केही समयपछि गएर स्तन अझ ठूलो हुने, स्तनको मुन्टो गाढा रंगको हुने, योनिबाट सेतो पानी बग्ने, पेट ठूलो हुने हुनुका साथै गर्भस्थ शिशु चल्ने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षणमध्ये धेरैजसो लक्षण छ भने गर्भ रहेको भन्न सकिने स्थिति हुन्छ ।

कतिपय परिस्थितिमा लक्षण तथा चिह्नहरूका आधारमा शारीरिक जाँच गरेर मात्र गर्भ रहे–नरहेको निर्धारण गरिन्छ । तपाईंको यौनसम्पर्क भएको धेरै समय नभएकाले गर्भ रहेको भए सुरुवाती दिनमै थाहा पाउन पिसाबको परीक्षण गराउन सकिन्छ र यस्तो परीक्षणलाई प्रिग्नेन्सी टेस्ट भनिन्छ ।

प्रिग्नेन्सी टेस्टका लागि पिसाब जाँच
महिलामा गर्भवती हुने प्रक्रिया सुरु भएसँगै बढ्ने human chorinonic gonadotropin (HCG) भनिने हार्मोनको परीक्षण गरेर गर्भ रहे–नरहेको नतिजा निकालिन्छ । अचेल राम्रा जाँच गर्ने साधनको सहयोगले डिम्ब निषेचन भएको यस्तै आठौं वा नवौं दिनमा यो हार्मोनको मात्रा पहिचान गर्न सकिन्छ ।

विचार गर्नुपर्ने कुरा के भने यौनसम्पर्क भएको भन्दा डिम्ब निष्कासनको समय महत्वपूर्ण हुन्छ, किनभने शुक्रकीट महिलाको प्रजनन अङ्गमा पाँच दिनसम्म बाँच्न सक्छ, यौनसम्पर्कको केही समयपछि पनि डिम्ब निषेचित गर्न सक्छ । डिम्ब निष्कासन भएको यस्तै १४ दिनमा महिनावारी हुन्छ ।

महिला गर्भवती भए HCG को मात्रा यस्तै प्रत्येक दुई दिनमा दोब्बर हुन्छ र यस्तै ६० वा ७० दिनमा सबैभन्दा बढी हुन पुग्छ र बिस्तारै कम हुन थाल्छ । यो परीक्षण गर्दा पर्याप्त मात्रामा हार्मोन तपाईंको शरीरमा भए ठीक नतिजा प्राप्त हुन्छ, त्यसैले डिम्ब निषेचनको यस्तै १० वा त्यसपछि परीक्षण गराउनु उपयुक्त हुन्छ ।

कतै यो फसाउने कुरा त होइन ?
गर्भ तपाईंसँगको यौन सम्पर्कबाट नै भएको हो भने तपाईंको जिम्मेवारी पनि युवतीको जत्तिकै हुन्छ । तपार्इंले यौनसम्पर्क राखेकी युवतीसँग तपाईंको सम्बन्ध कस्तो छ, थाहा भएन । युवतीले तपार्इंसँग प्रणयबाहेक अन्य कारणले सम्बन्ध बढाउन खोजेको हो/होइन भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ ।

यहाँ भयादोहन (black mail) गरिने सम्भावना पनि त्यत्तिकै छ । त्यसैले त्यसप्रति चनाखो हुनु जरुरी छ । पक्कै पनि तपार्इंले नै राम्रोसँग तपाईंहरूको सम्बन्ध कत्तिको गहिरो र प्रेममय छ भनेर निक्र्यौल गर्न सक्नुहुन्छ ।

रोकथामको उपाय के होला ?
गर्भ बस्यो कि बसेन भन्ने प्रश्नको जवाफ त तपार्इंले पिसाबको परीक्षण गरेरै थाहा पाउन सक्नुहुन्छ । गर्भ रहेको भए दुवै जनाले गर्भ र त्यसले ल्याउन सक्ने विविध सकारात्मक तथा नकारात्मक पक्षमा विचार–विमर्श गर्नुपर्छ ।

त्यसकै आधारमा यदि गर्भलाई निरन्तरता नदिने हो भने तपाईंहरू दुवैको निर्णयअनुरूप सूचीकृत केन्द्रमा गै सुरक्षित गर्भपतन गराउन सकिन्छ, तर गर्भ बसेको नभै गर्भ बसेको भनेर भयादोहन गर्न खोजिएको हो भने त्यसको व्यवस्थापन गर्नुपर्छ । यस्तो भयादोहनलाई रोकथाम गर्न आफ्नो मनलाई बलियो बनाउनुपर्छ, तर यदि त्यो पर्याप्त भएन भने प्रहरी प्रशासनको सहयोगसमेत लिनुपर्ने हुन सक्छ ।