आज भोली कुनै पनि कुराहरु भाईरल हुन कुनै पनि समय लाग्दैन । प्रबिधिको बिकासले राम्रो कुरा अनि नराम्रो कुराहरु एकै छिनमा भाईरह हुन्छ । हो पछिल्लो समयमा यस्तै एउटा फोटो फेसबुक अनि टिकटकमा निकै भाईरल रहेको छ ।घोडेजात्राको दिन मनाइने पाँचरे जात्रामा न्युरोडवासी रथ तान्दै, सडक ढाकिने गरी नाच्छन् । यसरी खुसी मनाउन वर्षभरि यस्तो संयोग अरू दिन जुर्दैन ।

यो वर्ष त कोरोना भाइरसको महामारीका कारण पाँचरे जात्रामा पनि खुलेर नाच्न पाएनन् । त्यसमाथि लामो लकडाउनका कारण व्यापार व्यवसाय समेत ठप्प भएपछि मुख्य व्यापारिक केन्द्र न्यूरोडका व्यापारीहरुलाई विक्षिप्त बनाउन पुग्यो । खस्किएको व्यापारलाई उकास्न मानिसहरुलाई न्यूरोडतर्फ ध्यान तान्नुपर्ने थियो । त्यसका लागि बनेको योजनाले न्युरोडको एउटा गल्लीलाई आकर्षक बनाएको छ ।

न्युरोड गेटबाट सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब ४०० वटा जति छाता आकाशमा झुण्ड्याइएका छन् । करिब १५० मिटरको दुरीमा रंगीचंगी छाताले ढाक्नेगरी सडकको छेउछाउमा करिब ३० वटा गमलामा फूलहरु फूलाइएका छन् । यसले मानिसहरुलाई निकै लोभ्याएको छ । टिकटक बनाउन र फोटो सेसन गर्न पुग्नेहरु धेरै छन् । चितवनमा पनि एक वर्षअघि यही कन्सेप्ट अनुसार ‘अम्ब्रेला स्ट्रिट’को रूपमा पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिएको थियो ।



काठमाडौंमा सुरु गरिएको यो नयाँ अवधारणाले १० दिनमा नै लोकप्रियता हासिल गरेको संकटा क्लबका सचिव आशिषमान सिंह बताउँछन् । पहिले दैनिक १००० जनाजति आउँथे होला, अहिले दैनिक १० हजारभन्दा बढीले यहाँको अवलोकन गर्ने गरेका छन्, सिंह भन्छन्, यसले विस्तारै व्यापार पनि बढाउला ।

कसरी बन्यो योजना आकाशमा छाता राख्ने योजना ? मंसिर महिनाको अन्तिम दिन न्युरोडको तबहाल क्षेत्रका व्यापारीहरुबीचको चिया गफको क्रममा कोरोनाको त्रास कम भए पनि व्यापारले गति लिन नसकेको विषयमा सबैले चिन्ता व्यक्त गरे । व्यापारलाई उत्थान गर्ने भन्ने मतहरु पनि आए ।

कुराकानीकै क्रममा संकटा क्लबका सचिव सिंहले युरोप जाँदा अम्ब्रेला स्ट्रिट देखेको सुनाए । त्यही प्रयोग गर्न अरु पनि सहमत भएपछि ८० हजार रुपैयाँ संकलन भयो ।र त्यही दिनदेखि सुरु भयो बाटो सिँगार्ने काम । न्युरोड गेटबाट सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब ४०० वटा जति रंगीचंगी छाता झुण्ड्याइएका छन् ।

करिब ३० वटा गमलामा फूलहरु फुलाइएका छन् । त्यही क्षेत्रमा पर्ने एउटा बौद्ध स्तुपालाई पनि रातिमा वार्म लाइटले रंगीचंगी बनाइएको छ । खाली ठाउँ कतै पनि राखिएको छैन सोही खाली ठाउँलाई व्यवस्थापन गरेर सुन्दरता थप्ने प्रयास गरिएको छ सिंह भन्छन्, दरबारमार्गको जस्तो लाइटिङ गर्न रुख नभएर पोलमै बत्ती बेरेर बाल्न थाल्यौं ।

यो सडकमा दुईपांग्रे र हलुका चारपांग्रे बाहेक अन्य सवारी प्रवेशमा रोक लगाइएको छ भने अव्यवस्थित पार्किङ हटाइएको छ । बिहान नगरपालिका र दिउँसो क्लबका कर्मचारीले नियमित सरसफाइ गर्ने गरेको संकटा क्लबका सचिव सिंह बताउँछन् । उनका अनुसार अहिलेसम्म ९ १० लाख खर्च भएको छ जुन क्लब, स्थानीय व्यापारी र नगरपालिका वा वडा कार्यालयले व्यहोरेका छन् । अनलाईन खवरबाट साभार